+
+

कांग्रेस नेतृ तथा पूर्व राज्‍यमन्त्री मीना पाण्डेको निधन

कांग्रेस सभापतिद्वारा दु:ख व्‍यक्त

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १७:२७

१६ जेठ, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ ।

मंगलबार काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखिनेछ ।

२००८ सालमा जन्मएकी स्वर्गीय पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् । तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी उनी वि.सं. २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य थिइन् भने वि.सं. २०६४ मा संविधान सभा सदस्य भएकी थिइन् ।

साथै उनी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको दुई पटक सभापति भइन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका क्रममा उनले पटक–पटक जेल जीवन बसेकी थिइन् । उनको निधनबाट एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसले जनाएको छ ।

स्वर्गीय पाण्डेप्रति सम्मान प्रकट गर्दै पार्टीले जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने भएको छ ।

यस्तै जेठ १७ गते बुधबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

पाण्डेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?