+
+

चिनियाँ लगानी र ठेक्काका परियोजनामा विस्फोटक पदार्थ आपूर्तिमा भारतको अवरोध

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० जेठ १६ गते १८:४५

१६ जेठ, काठमाडौं । भारतले नेपालमा चिनियाँ लगानी र ठेक्काको परियोजनामा विस्फोटक पदार्थ आपूर्ति रोकेको छ । भारतको स्थलमार्ग हुँदै नेपाल भित्रिने विस्फोटक पदार्थमा गरिएको अवरोध थप बढ्दै जाँदा झण्डै आधार दर्जन बढी ठूला उद्योग र विकास परियोजनाहरू अघि बढ्नै नसक्ने अवस्थामा पुगेका छन् ।

जसमा सरकारको राष्ट्रय गौरवको परियोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गदेखि सिमेन्ट उद्योग र जलविद्युतका परियोजनाहरू छन् । झण्डै ६ महिनादेखि विस्फोटक पदार्थ आयातका लागि नेपालस्थित भारतीय दूतावासले दिने ‘नो अब्जेक्सन’ लेटरमा घुमाउरो अवरोध थालेको भारतले केही समययता यसलाई बन्द नै गरेको आयोजनाका अधिकारीहरूको दाबी छ ।

भारतबाट खरिद गरिने वा तेस्रो मुलुकबाट भारतको स्थलमार्ग हुँदै विस्फोटक पदार्थ नेपाल ल्याउन नेपालस्थित भारतीय दूतावासबाट ‘नो अब्जेक्सन’ लेटर लिनुपर्छ । प्रत्यक्ष चिनियाँ लगानी रहेको उद्योग र परियोजनाका लागि भारतले यस्तो ‘नो अब्जेक्सन’ दिन रोकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का कोषाध्यक्ष आनन्द चौधरीले बताए । ‘कतै लिखित र औपचारिक जानकारी छैन, तर चिनियाँ ठेकदारले ठेक्का पाएका परियोजना र लगानीका उद्योग एवम् आयोजनाले विस्फोटक पदार्थ पाएका छैनन्,’ चौधरीले भने, ‘सरकारी प्रक्रिया पुरा गरेर भारतीय दूतावासमा ‘नो अब्जेक्सन’का लागि दिइएका निवेदनहरू लामो समयदेखि झुलाइरहेका छन् ।’

सरकारबाट अनुमति प्राप्त आयातकर्ताले गरेको आयात प्रस्तावमा दूतावासले प्रतिक्रिया नै नदिई झुलाएर राखेको र औपचारिक जानकारी माग गर्दा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

नेपाली सेनाले खरिद गर्ने तयारी अवस्थाको विस्फोटक पदार्थ र यस्ता पदार्थको कच्चा पदार्थ आयातमा समेत भारतले अवरोध पुर्‍याउँदा नेपाली सेनाको विस्फोटक पदार्थ उत्पादनसमेत अवरुद्ध भएको छ । तर, नेपाली सेनाले भने यसलाई कुनै देशको कारण भएको अवरोधसँग हेरेर नजोड्न आग्रह गरेको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपाली सेनालाई आवश्यक पर्ने कच्चा पदार्थ र तयारी विस्फोटक पदार्थ कम भए पनि त्यो कुनै देशको अवरोधका कारण नभएको बताए ।

इपानकाअनुसार नेपाली गत वर्ष ३ हजार टन यस्तो विस्फोटक पदार्थ उद्योग र जलविद्युत परियोजनाहरुले खपत गरेका थिए । हरेक वर्ष उद्योग र परियोजनको काम र मागअनुसार यस्ता विस्फोटक पदार्थहरुको खपत तल माथि भइरहने संस्थाले जनाएको छ । यो वर्ष गत वर्षको तुलनमाा आयात निकै कम भएका कारण परियोजनाहरु अप्ठ्यारोमा परेको इपानले जनाएको छ ।

विस्फोटक पदार्थ अभाव झेलिरहेका परियोजना

भारतीय दूतावासले ‘नो अब्जेक्सन’ रोकेपछि सरकारसँग दुई वटा सिमेन्ट उद्योग, ६ वटा जलविद्युत परियोजना र एक सडक आयोजनाले सरकारलाई काम गर्न कठिन भएको भन्दै विस्फोटक पदार्थ उपलब्धता सहजीकरणको माग गरेका छन् । ७८ मेगावट क्षमताको सान्जेन जलविद्युत परियोजना, १ सय ४० मेगावटको तनहुँ जलविद्युत आयोजना, १ सय २१ मेगावट क्षमताको माथिल्लो त्रिशूली र १ सय २० मेगावटको लाङटाङ–भोटेकोसी जलविद्युत परियोजनाले काम प्रभावित भएको भन्दै गृह र रक्षा मन्त्रालयमा गुनासो गरेका छन् ।

विस्फोटक पदार्थ अभावका कारण धादिङमा रहेको ह्वासिन नारायणी सिमेन्ट र नवलपरासीको होङ्सी शिवम् सिमेन्ट लगायतका ठूला सिमेन्ट उद्योग समस्यामा पर्न थालेका छन् । चिनियाँ लगानीका यी ठूला सिमेन्ट उद्योगले खानी उत्खननका लागि आवश्यक विस्फोटक पदार्थ पाउन सकेका छैनन् । तराई –मधेश द्रुतमार्गको विभिन्न सुरुङमार्गको ठेक्का पाएको चिनियाँ ठेकदारले विस्फोटक पदार्थ अभाव भएको जानकारी सरकारलाई गराएको छ ।

‘करिब ६ महिनाअघि देखि सुरु भएको समस्या नेपाली सेनाले उत्पादन गर्ने विस्फोटक पदार्थबाट हल गर्दै गए पनि सेनाको उत्पादनसमेत घटेपछि थप समस्यामा भएको ह्वासिन सिमेन्ट नारायणीका उपमहाप्रबन्धक डिल्लीराज पोख्रेलले बताए ।

‘भारत वा तेस्रो मुलुकबाट खरिद गरेर स्थलमार्ग हुँदै भारत भएर विस्फोटक पदार्थ ल्याउन सकिएको छैन्,’ पोख्रेलले भने, ‘अनुमति नपाएर उद्योगहरू समस्यामा परेका छन् । उद्योगहरूको खानी उत्खनन नै प्रभावित भएपछि सकारलाई वैकल्पिक व्यवस्थाका लागि आग्रह गरेका छौं ।’

फास्ट ट्र्याकमा चिनियाँ ठेकेदार देखाएर सेनालाई अवरोध

झण्डै ६ महिनादेखि भारतले विस्फोटक पदार्थ आयातमा गरेको अवरोधबाट नेपाली सेना समेत प्रभावित भएको छ । चिनियाँ आयोजनामा भएको अवरोधपछि जसोतसो नेपाली उद्योगहरूलाई विस्फोटक पदार्थ उपलब्ध गराइरहेको नेपाली सेनाको मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टले यतिबेला कच्चा पदार्थ अभाव झेलिरहेको छ ।

भारतीय अवरोधपछि नेपाली उद्योग र परियोजनालाई करिब तीन महिनादेखि विस्फोटक पदार्थ उपलब्ध गराएको प्लान्टले यतिबेला द्रुतमार्गको लागि मात्रै विस्फोटक पदार्थ उपलब्ध गराइ रहेको छ । तर, द्रुतमार्गमा रहेका चिनियाँ ठेक्कालाई विस्फोटक पदार्थ उपलब्ध गराएको भन्दै भारतले सुनाचरीमा रहेको इमल्सन प्लान्ट र सेनाको विस्फोटक पदार्थ आयात समेत प्रभावित बनाएको स्रोतको दाबी छ ।

तर, नेपाली सेनाले भने तयारी विस्फोटक पदार्थ र कच्चा पदार्थ आयातमा समस्या भएको मात्रै जनाएको छ । ‘कच्चा पदार्थ पर्याप्त मात्रामा नभएका कारण उत्पादन हुन सकिरहेको छैन, आयात पनि पर्याप्त मात्रामा सजिलोसँग हुन नसकेको सत्य हो,’ सहायक रथी भण्डारीले भने, ‘अभाव भएपछि विस्फोटक पदार्थ र कच्चा पदार्थ ल्याउनका लागि वैकल्पिक उपायहरू अपनाई काम गरिरहेको भने हो । कामै रोकिएको चाहिँ छैन ।’ उनले पहिले जस्तो सजिलै विस्फोटक पदार्थ उपलब्ध हुन नसकेको भने सत्य भएको बताए ।

चीनबाट आयात प्रयास

भारतले गरेको अवरोध हटाउन गरिएको पटक पटकको सरकारी प्रयास सफल नभएपछि सरकारले आयोजनाहरू प्रभावित हुन नदिन यस्ता वस्तु सापटी गर्न सकिने गरी कानुन संशोधन गरेको छ ।

आयात सहज नहुञ्जेल विस्फोटक पदार्थ चाहिने उद्योगहरूको काम चलाउन सकिने गरी गृह मन्त्रालयले विस्फोटक पदार्थ नियम २०२० संशोधन गरेको छ । १ जेठमा गरेको यस्तो संशोधनपछि एउटै जिल्ला भित्रका आयोजनाले भोगेको विस्फोटक पदार्थ अभाव चिर्न प्रशासनको समन्वयमा एकबाट अर्को आयोजनाले सापटी लिन सक्ने गृहसचिव दिनेश भट्टराईले बताए ।

विस्फोटक पदार्थ अभावका कारण विकास आयोजना प्रभावित नहोस् भनि नियम संशोधन गरेको उनको भनाइ छ । ‘नियम संशोधनले विस्फोटक पदार्थ भएको तर अहिले नचाहिने आयोजना वा उद्योगले अर्को आयोजनालाई जिल्ला प्रशासनको समन्वय र सुरक्षामा सापटी लिन सक्छन्,’ सचिव भट्टराईले भने ।

सापटीबाट समेत आयोजनाहरूमा विस्फोटक अभाव हुने देखेपछि सरकारले चीनबाट स्थलमार्ग हुँदै विस्फोटक पदार्थ र कच्चा पदार्थ आयातको अनुमति दिएको छ । नेपाली सेना, रक्षा र गृह मन्त्रालय तथा चिनियाँ दूतावासको समन्वयमा विस्फोटक पदार्थ ल्याउन सक्ने गरी सरकारले कानुनी सहजीकरण गरेको छ ।

पछिल्लो समय एक परियोजनाका लागि त्यसरी ल्याइएको विस्फोटक पदार्थ झण्डै तीन गुणा महँगो परेपछि ठेक्काका परियोजनाहरू थप समस्यामा परेको गुनासो सरकारलाई आएको छ । तर, अझै ठोस विकल्पमा सरकार पुगिसकेको भने छैन । बिस्फोटक पदार्थ आयातमा भएको अवरोधबारे भारतीय दूतावासले भने यो समाचार तयार पार्दासम्म औपचारिक जानकारी दिएन । यस विषयमा कुरा गर्न पटक पटक गरिएको प्रयासमा दूतावासले कुनै प्रतिक्रिया दिएन ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?