+

कलेज जान दौडने रशिला यसरी बनिन् अल्ट्रा रनर

२०८० जेठ  १७ गते १६:४६ २०८० जेठ १७ गते १६:४६
कलेज जान दौडने रशिला यसरी बनिन् अल्ट्रा रनर

१७ जेठ, काठमाडौं । रशिला तामाङ सुरुमा रमाइलोका लागि दौडिइन् । पछि कलेज जान दौडिन थालिन् । त्यसपछि दौडिने उनको बानी नै पर्‍यो । त्यसयता उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा विभिन्न इभेन्टमा दौडिसकेकी छन् ।

मीरा राई र सुनमाया बुढापछि अल्ट्रा रनिङमा रशिला तामाङ चर्चित नाम बनिसकेको छ । आफू सहभागी अधिकांश दौडमा उनी विजेता बनेकी छन् । कम्तीमा तेस्रोभन्दा पछि हुनुपरेको छैन ।

रशिलाले जितेको पछिल्लो उपाधि एशिया ट्रेल मास्टर हो । ३० वैशाखमा मलेशियामा सम्पन्न ५० किलोमिटर बोई मलाया क्लासिक दौड उनले ५ घण्टा ८ मिनेट ३२ सेकेण्डमा पूरा गरी पहिलो भइन् । यो एशिया ट्रेल मास्टर क्वालिफाइङ इभेन्ट हो । यो वर्षमा चार इभेन्ट हुन्छ । यसको दोस्रो इभेन्ट आगामी जूनमा हुनेछ भने बाँकी दुईको मिति तय हुन बाँकी छ ।

छनोट इभेन्टमा गरेको प्रदर्शनका आधारमा एशियन ट्रेल मास्टर च्याम्पियनसिप फाइनल आगामी डिसेम्बरमा इन्डोनेशियामा हुनेछ । त्यसका लागि छनोट इभेन्टको प्रदर्शन निर्णायक रहनेछ ।

रशिलाको लक्ष्य इन्डोनेशियामा हुने फाइनल इभेन्ट खेल्ने त छ नै तर, त्यो अघि उनी फ्रान्समा हुने युटीएमबी रेसको तयारीमा छिन् । १०० किमीको उक्त रेस हरेक अल्ट्रा रनरमाझ प्रतिष्ठित छ ।

थाइल्याण्डमा गत डिसेम्बरमा भएको युटीएमबी छनोट इभेन्टमा नवौं भएर रशिला यो प्रतियोगिताका लागि छानिएकी हुन् । ‘युटीएमबी मेरा लागि सपना पूरा भए जस्तै हुनेछ । पहिलादेखि नै सुनेकी थिएँ । अहिले आफू छनोट भएर खेल्न पाउँदा उत्साहित छु’ अनलाइनखबरसँगको कुराकानीमा रशिलाले आफ्नो खुसी साटिन् ।

युटीएमबीको मुख्य रेस १६० किमीको हुन्छ । रशिलाले भने युटीएमबी सीसीसी अर्थात् १०० किमीको दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

युटीएमबी आगामी अगष्ट २८ देखि सेप्टेम्बर ३ सम्म फ्रान्समा हुनेछ । त्यसअघि रशिलाले आगामी जूनमा थाइल्याण्डमा एशिया ट्रेल मास्टरको दोस्रो इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन् ।

रशिला अहिले ४२ किमीको अन्नपूर्ण सेन्चुरी दौडका लागि मंगलबार जाँदैछिन् । ४२ किमीको यो दौड अन्नपूर्ण आधारशिविरबाट सुरु भएर घान्द्रुकमा आएर सकिनेछ । ‘केटीहरूको प्रतिस्पर्धा पहिलोपल्ट हुन लाग्दा उत्साहित छु । डाउनहिल भएकोले अलि गाह्रो हुन्छ’, उनले भनिन् ।

रशिलाले यही वर्ष राष्ट्रिय, अन्तर्राष्ट्रिय गरी आधा दर्जन प्रतियोगिता खेल्नेछिन् । धादिङको धुनिबेसीदेखि अन्तर्राष्ट्रियस्तरमा सफलता हात पारेकी २४ वर्षीया रशिलाले जिन्दगीमा विभिन्न उतारचढाव भोगेकी छन् । उनको खेल जीवन प्रेरणाले भरिएको छ । नेपालबाहेक चीन, भारत, थाइल्याण्ड, मलेशिया, हङकङ र स्विट्जरल्याण्डमा दौडिसकेकी उनको नजर फ्रान्सको यूटीएमबीमा छ ।

जिन्स लगाएर, जुत्ता मागेर दौड

रशिलाले दौडलाई नै करिअरका रूपमा अगाडि बढाउनुमा एउटा रोचक संयोग छ । धादिङ धुनिबेसीमा पढ्दै गर्दा २०७१ सालमा महिला दिवसको दिन ‘लिडरसिप’ कार्यक्रममा सहभागी हुन साथीहरूसँगै काठमाडौं आएकी थिइन् । जाउलाखेल भनिमण्डलमा ५ किमीको दौड भएको थियो ।

नाम टिपाए पनि प्रतिस्पर्धात्मक दौड होला भनेर उनलाई थाहा थिएन । ‘म त र्‍याली होला भनेर बसेको, सबै दौडिन थाले । मैले टिसर्ट र जिन्स लगाएकी थिएँ । जुत्ता पनि थिएन । सरको जुत्ता मागेर दौडिएँ । दोस्रो भएँ । मीरा राई पहिलो हुनुभएको थियो’ पहिलोपल्ट प्रतिस्पर्धाको अनुभव सुनाइन् ।

त्यसपछि रशिलाको भेट दिवसलाल प्रधानसँग भयो । जसले उनलाई हिमालयन आउटडोर फेस्टिभलमा बोलाए । १२ किमी दौडमा उनी पहिलो भइन् । त्यसयता ८ वर्षमा उनी यही करिअरमा स्थापित छिन् ।

नेपालमा भएका ओरिजिनल एभरेष्ट म्याराथनमा पहिलो भइन् । अन्नपूर्ण १००, मुस्ताङ ट्रेल रेस, पाँचपोखरी ट्रेल, पाथिभरा म्याराथन, अल्ट्रा ट्रेल नेपाल लगायत प्रतिस्पर्धामा शीर्ष तीनमा अटाइन् । चीनमा भएको जिओजी माउन्टेन क्रसिङ दौडमा पहिलो भइन् भने हङकङमा अक्सफार्म १०० किमीमा दोस्रो ।

दौडेरै कलेज

देश, विदेशमा दौडेर नाम कमाउने रशिलाले जिन्दगीमा धेरै उतारचढाव देखेकी छन् । रशिला एक वर्षको हुँदा नै उनको बुबाको निधन भयो । त्यसपछि घरमा दाइको काँधमा जिम्मेवारी आयो । घरमा धेरै जना भएपछि उनी ललितपुर चापागाउँ मामाघर नजिकै आफन्तकोमा गएर बस्न थालिन् । पढाइ पनि हुने, घरमा सघाउने पनि गर्थिन् ।

पढ्ने बाहेक पनि घरको काम गर्नुपर्ने, बारीमा फलेका तरकारी बेच्नका लागि चापागाउँदेखि मंगलबजारसम्म ल्याउनुपर्ने काम थियो । अंग्रेजी माध्यमको पढाइ र घरायसी काम गर्नुपर्ने बाध्यताको बोझले सानै उमेरमा रशिलालाई थिच्यो । उनी पढाइबाट हरेस खाएर धादिङ फर्किइन् । ‘मलाई डर लाग्न थालिसकेको थियो । फेल भयो भने के गर्ने कसो गर्ने’, उनले भनिन् ।

जीवनको भोगाइले उनलाई धावक त बनाइसकेको थियो । दाइका साथी आकाश मिश्र ट्रेल रनिङमै काम गर्ने भएकाले रशिलाको क्षमता थाहा पाएका थिए । उनले गाउँमै पुगेर रशिलालाई सम्झाए । ‘त्यो बेलाको कुराले अहिले पनि आफैंलाई ऊर्जा दिन्छ’ रशिला आफ्नो भोगाइले अरूलाई पनि ऊर्जा मिलोस् भन्ने चाहन्छिन् । स्कुलको पढाइपछि उनी कलंकीस्थित गणेशमानसिंह कलेजमा भर्ना भइन् । धुनिबेंसीबाट बिहान कलेज जानका लागि २१ किलोमिटर दूरी तय गर्नुपर्ने थियो । आउन–जान ४२ किलोमिटर दूरी दौडिंदा पर्याप्त अभ्यास मिल्यो । उनी खारिंदै गइन् । कलेजमा उनलाई ट्रयाक लगाएर जान छुट थियो ।

उनका तीन दिदीबहिनीमा रशिला कान्छी हुन् । त्यसैले उनलाई घरबाट रोकटोक थिएन । तर, आर्थिक अवस्था कमजोर रहँदा अन्य सहयोगको सम्भावना थिएन ।

अनि करिअरले गति लियो

२०७३ सालमा पनि उनी हिमालयन आउटडोर फेस्टिभलमा ३० किमी दौडेर पहिलो भइन् । त्यसपछि उनले ४२ किमीको इम्प्याक्ट म्याराथन दौडिइन्, पाँचौं भइन् । २०७४ सालपछि अल्ट्रा दौडमा रशिलाको व्यस्तता बढ्न थाल्यो । सो वर्ष ५० किमी अन्नपूर्ण रेसमा छैटौं भइन् भने सिन्धुपाल्चोकमा भएको ६५ किमी अल्ट्रा ट्रेल नेपाल रेसमा तेस्रो । त्यही वर्ष पाँचपोखरी ट्रेल रेस र टाइम्स कलेज रनमा शीर्ष तीनमा परिन् ।

यसपछि भने उनको करिअरले गति लिन थाल्यो । उनी काठमाडौं उपत्यका नजिक हुने दौडहरूमा सहभागी भइरहिन् । ट्रेल एक्सप्लोर गर्ने र रशिलाको व्यवस्थापकको रूपमा रहेका आकाश मिश्रले पनि रशिलाले त्यसपछि कडा मिहिनेत गर्न थालेको र गर्छु भन्ने लक्ष्यसहित अघि बढेको बताए ।

उनी २०७५ मा पनि हिमालयन आउटडोरमा पहिलो भइन् । मुस्ताङ ट्रेल रेस, अन्नपूर्ण १०० लगायत रेसमा भाग लिएपछि उनी मीरा राई इनिसिएटिभमा समावेश भइन् । जसमार्फत उनी सन् २०१८ मा हङकङ समेत पुगिन् । त्यहाँ रशिला चार जनाको समूहमा दौडेकी थिइन् । अक्सफाम १०० किमी नामक उक्त च्यारिटी दौडमा रशिलाको समूह दोस्रो भयो । ‘हङकङमा धेरै राम्रो भयो । दौडको प्राविधिक बारेमा पनि सिक्ने अवसर भयो । रनरको रूपमा पनि सुधार गर्न सहयोगी भयो’ उनले भनिन् ।

त्यसपछि उनले हरेक रेसमा भाग लिन थालिन् । २०७६ साल उनका लागि अझ सफल बन्यो । जहाँ उनले भाग लिएको ४२ किमीको एभरेष्ट म्याराथन, चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर सबैमा पहिलो भइन् । पोखरा इन्टरनेशनल माउन्टेन क्रस कन्ट्री ४२ किमीमा भने उनी दोस्रो भइन् ।

चीनमा भएको दौड उनको लागि विशेष रह्यो किनकि यो विदेशमा उनले पहिलो पटक जितेकी थिइन् । ‘यो कठिन रेस पनि थियो । एकदमै हावा चल्ने । रेलिङ समातेरै दौडिनुपर्ने थियो । चिनियाँ धावकहरू पनि राम्रा थिए तर उनीहरूलाई जित्नु अझ रमाइलो भयो’, उनले पहिलो अन्तर्राष्ट्रिय सफलता स्मरण गरिन् ।

रशिलाले फरक–फरक ठाउँमा दौडिंदा फरक अनुभव बटुलेकी छन् । भारतमा सोलान्क भ्यालीमा दी हेल रेस दौडिइन् । जुन नाम जस्तै गाह्रो थियो । २०२२ सेप्टेम्बरमा स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा पनि पहिलो भइन् । युटीएमबीको पाँच पटकको विजेताले युटीएमआर सुरु गरेका हुन् । ‘स्विट्जरल्याण्ड र इटलीको बोर्डरमा हुने यो ट्रेलमा धेरै चट्टान छ । हाम्रो मुस्ताङ जस्तै हो’, उनी भन्छिन् ।

धेरै ठाउँमा कुदिसकेकी रशिलाले नेपाल र विदेशमा के फरक देख्छिन् त ? ‘यहाँ कुदिरहेको भएर सबै थाहा छ । बानी परिसक्यो । विदेशमा अप्ठ्यारो हुन्छ । माथि जाँदा तल झर्दा फरक हुन्छ’, उनले भनिन् ।

क्लाइम्बिङ पनि गर्छिन् रशिला

रशिला रनर मात्र नभएर क्लाइम्बर पनि हुन् । यो उनको सोख हो । उनले अहिलेसम्म लोबुचे, आइल्याण्ड पिक, चोलु फार वेस्ट सहित पाँच वटा शिखर चढिसकेकी छन् । क्लाइम्बिङ कोर्स पनि गरेकी छन् । ‘बेसिक कोर्स सकियो । अब एड्भान्स कोर्स बाँकी छ । आइस र रक दुवैमा प्रशिक्षण गरिसकेकी छु’, उनी भन्छिन् ।

दौडका साथै क्लाइम्बिङलाई पनि उनले सँगै अगाडि बढाइरहेकी छन् । अब केही वर्ष दौडमै फोकस हुने अनि क्लाइम्बिङ पनि सँगै अगाडि लैजाने उनको योजना छ ।

‘दौडमा भर्खर त करिअर सुरु भएको छ । अब केही वर्ष दौडन्छु । त्यसपछि एउटा स्तरमा पुगिन्छ । दौडनका लागि समय धेरै छ । शरीरले साथ दिएसम्म दौडिनेछु’ रशिलाले क्लाइम्बिङमा भने आफ्नो अन्तिम लक्ष्य सुनाइन्, ‘एभरेष्ट चढ्ने मन छ ।’

अल्ट्रा रनर रशिला तामाङ
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय