
काठमाडौं । कलेजका छात्रछात्रा बे्रक टाइम भएपछि नजिकैको चिया पसलमा छिर्छन् । तर उनीहरु त्यहाँ चिया पिउँदैनन्, चुरोट तान्छन् ।
शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण, अनाथालय, शिशु स्याहार केन्द्र रहेको स्थानमा १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने नियम सरकारले बनाएको छ । तर व्यवहारमा लागू भएको पाइँदैन ।
त्यस्तै किराना पसलमा पनि सुर्तीजन्य पदार्थ बेच्न पाइँदैन भन्ने नियम छ, तर यस्तो दृश्य देख्न मुश्किल पर्छ जहाँ चुरोट नबेचिएको होस् ।
जहाँ बेच्नु हुँदैन, त्यही ठाउँ नै चुरोटको हब बन्ने गरेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजार बताउँछन् । ‘बाटोमा नाङ्लोमा सामान बेच्नेहरुको हेर्ने हो भने चुरोट नै बढी बिक्री भएको देखिन्छ । १८ वर्षमुनिकाले चुरोट वा सुर्तीजन्य पदार्थ किन्न नमिल्ने वा किन्न आए पनि नदिनु वा नमाने उजुरी दिन उल्लेख गरिएको छ । तर यो पनि व्यवहारमा लागू छैन,’ उनी भन्छन् ।
सुर्तीजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर गर्ने भए पनि यसको नियन्त्रण गर्ने कुरामा भने स्वास्थ्य कार्यालयको मात्रै मुख ताक्ने गरेको उनी बताउँछन् । यसमा संघसंस्था, स्थानीय सरकार र व्यक्तिको पनि अहम् जिम्मेवारी हुनुपर्ने उनी बताउँछन् ।
‘सुर्तीजन्य पदार्थबाट धेरै कर उठ्ने भएकाले सरकारले पनि आर्थिक कुरामा मात्रै जोड दिन्छ,’ मिजार भन्छन्, ‘नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारणले हुन्छ तर यसमा कोही गम्भीर भएको देखिंदैन ।’ विश्व स्वास्थ्य संगठनका अनुसार हरेक आठ सेकेण्डमा एक जनाको सुर्ती सेवनका कारण मृत्यु गरेको छ ।
नाम मात्रका धुम्रपान निषेधित सार्वजनिक स्थल
सार्वजनिक शौचालय, उद्योग, कलकारखाना, होटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, चमेनाघर, लज, अतिथि गृह, पोखरी, पुल हाउसलगायतमा धुम्रपान निषेधित क्षेत्र भने राखिएको हुन्छ ।
तर यी ठाउँहरु नै चुरोट, हुक्का, सुर्तीजन्य पदार्थ र मदिराको ‘हब’को रुपमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजार बताउँछन् । त्यस्तै सरकारी कार्यालय, पुस्तकालय, विमानस्थल, सिनेमा हल, नाटकघर, रंगशाला, कर्भडहल, व्यायामशाला, मन्दिर, डिपार्टमेन्ट स्टोर, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक सवारीसाधनभित्र धुम्रपान निषेध भए पनि बाहिरपट्टि कुनै रोकटोक भएको पाइँदैन ।
बेफाइदै बेफाइदा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २७ हजार १३७ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेको छ । जसमा चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाको मृत्यु हुने गरेको बताएका छन् ।
सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता रोग निम्त्याउँछ । विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये प्रत्यक्ष सेवनकर्ता ७० लाख र अन्य व्यक्तिहरुले गरेका धुम्रपानका कारण १२ लाख मानिसको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया 4