
१७ जेठ, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शय्या उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएका छन्।
बुधबार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले अस्पतालहरुमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरु के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको बताए।
‘कुन अस्पतालमा आईसीयू बेड छ ? इमर्जेन्सी बेड छ, वा सीसीयू बेड छ ? खाली छ वा छैन, छ भने कति छ ? बिरामीहरुलाई भ्रम हुन थाल्यो । ठूला मान्छेले फोन गरेपछि बेड पाइन्छ भन्ने मानसिकता हुन थाल्यो। गरिबहरु जाँदाखेरि नपाउने भन्ने हुन थाल्यो । त्यसैले मैले देशभरका अस्पतालहरुमा के छ अवस्था वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर निर्देशन दिएको छु’ उनले भने।
त्यस्तै अस्पतालहरुमा बहिरंग सेवा (ओपीडी) टिकट पनि अनलाइन प्रणालीमार्फत लिन सकिने व्यवस्था गरेको मन्त्री बस्नेतले बताए । ‘ओपिडी अनलाइन टिकट बुक गर्ने प्रक्रिया अगाडि बढाउन भनेको छु। प्रक्रिया सुरु हुन थालेको छ। अनलाइन र फिजिकल्ली दुईवटै किसिमले टिकट पाउनसक्छौँ अहिले’ उनले भने।
मन्त्री बस्नेतले संसारभर सुर्तीजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए।
प्रतिक्रिया 4