
१७ जेठ, काठमाडौं । नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेसँगै हवाई यात्रा थप महँगो हुने निश्चित भएको छ । यद्यपि हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने हो वा इन्धन र विमानस्थल शुल्कसहितको मूल्यमा भ्याट लाग्ने हो भन्ने अन्यौल भने अझै निराकरण भएको छैन । अहिले यात्रुले हवाई भाडाका रुपमा एकमुष्ट रकम तिरिरहेका हुन्छन् । त्यो रकम इन्धन चार्ज, विमानस्थल शुल्क, बीमा शुल्क र वायु सेवा कम्पनीले लिने भाडाको संयुक्त जोड हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बजेटको व्यवस्थसँगै हवाई टिकटमा अब भ्याट जोडिन्छ । यो प्रावधान नयाँ आर्थिक वर्ष २०८०/८१ अर्थात् १ साउनदेखि लागु हुने छ । तर, हवाई टिकटमा कसरी भ्याट लगाउने भन्ने विषय भने अर्थ मन्त्रालयबाट थप स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘यो नियम कार्यान्वयनमा आउनु अगाडि नै यसबारे अर्थबाट स्पष्ट हुन्छ, त्यसपछि कार्यान्वयनमा आउँछ’ उनले भने ।
यो नियम लागु भएसँगै हवाई भाडा भने स्वतः महँगो हुने उनले बताए । ‘अतिरिक्त कर जोडिएपछि टिकट महँगो हुन्छ,’ उनले भने, ‘कति महँगो हुन्छ त्यसबारे अर्थले स्पष्ट पार्नुपर्छ ।’
नयाँ प्रावधान अनुसार अब भाडादरसहित जहाज, इन्जिन र पार्टपूर्जा आयातमा पनि १३ प्रतिशत भ्याट जोडिन्छ । आयातित वस्तुमा लाग्ने महसुल र भ्याट भने बजेट भाषण लगत्तै कार्यान्वयनमा आउँछ ।
प्रतिक्रिया 4