
१८ वैशाख, काठमाडौं । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा परिवर्तन नभएको जानकारी गराएको छ ।
बजेटमा सेयर र घरजग्गाको करसम्बन्धी नयाँ स्किम घोषणा गरेपछि विवादमा परेको विभागले बिहीबारको सूचनामा भनेको छ, ‘व्यवसायको रुपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ । यस्तो कारोबारबाट भएको लाभमा दाखिला भएको ५ प्रतिशत वा साढे ७ प्रतिशत पुँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन भएको छैन ।’
अर्थमन्त्री महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा व्यवसायिक रुपमा सेयर र घरजग्गाको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्मको आय विवरण पेश गरी कर दाखिला गर्दा उक्त अवधिको ५० प्रतिशत कर छुट दिने घोषणा गरेका थिए । यस्तै त्यसभन्दा अगाडिको कर पनि छुट दिने बताएका थिए ।
विभागले यति स्पष्टीकरण दिने निर्णय आफैँ गर्न सकेन । शेयर लगानीकर्तासँग दुई दिनको वार्ता र प्रधानमन्त्रीसँग भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतसँग फोनमा ‘सल्लाह’ गरेपछि उसले यो निर्णय गरेको हो । यो सल्लाहमा सहजीकरण चाहिँ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले गरेका थिए ।
‘केही लगानीकर्ताले माग गरेका आधारमा बजेटमा हामीले स्किम घोषणा गरेका हौं । त्यो स्किममा जान नचाहने लगानीकर्ता नगए हुन्छ, चैतपछि त्यो स्किम हट्छ पनि । तर, अन्य कानूनी व्यवस्था साविककै कायम छ’, विभागका महानिर्देशक दीर्घराज मैनालीले अनलाइन खबरसँग भने । तर, सबै लगानीकर्ता आन्दोलन नै गरिरहेका छन्, स्किम चाहिँ कसले माग्यो ? भन्ने प्रश्नमा भने मैनालीले त्यो भन्न नमिल्ने बताए ।
मैनालीले यति भनिरहँदा पनि कस्तो व्यक्तिले व्यवसायको रुपमा लगानी गरेको र कस्तोले नगरेको भन्ने चाहिँ स्पष्ट भएको छैन । तर, के चाहिँ स्पष्ट भएको छ भने विगतमा लगानीकर्ताले जुन रुपमा कर तिर्नुपथ्र्यो, अब पनि नयाँ कर लाग्दैन ।
विभागले बुधबार जारी गरेको विज्ञप्तिमा प्रयोग गरेको ‘पटके’ शब्दले लगानीकर्ता माझ अन्यौंल सिर्जना भएको थियो । त्यसप्रति लगानीकर्ताले असन्तुष्टि व्यक्त गरेपछि बिहीवार सच्याइएको विभागका दीर्घराज मैनालीले बताए ।
यसले पनि सरकारले कर छुट दिने र प्राकृतिक व्यक्तिले व्यवसायिक रुपमा गर्ने कारोबार भनी आर्थिक विधेयकमा उल्लेख गरेको विषयमा विभाग स्वयं प्रष्ट छैन भन्ने देखिन्छ । अर्कातिर कर कानुनका जानकार चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल नियमित र पटके भनेर छुट्याउने कानूनी आधार नै नभएको बताउँछन् ।
घरजग्गा र सेयर कारोबारबाट आर्जित नाफामा पूँजीगत लाभकर बाहेक थप आयकर पनि तिर्नुपर्ने हो ? कि होइन भन्ने प्रश्नको उत्तर आयकर ऐनको अनुसूची १ मा छ । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्ने उल्लेख छ । तर कही पनि लाभकर नै अन्तिम कर हो भनिएको छैन ।
चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल पनि त्यसमा स्पस्ट देखिदैनन् । ‘सेयर र जग्गाको कारोबारबाट भएको नाफामा लागेको पूँजीगत लाभकर अन्तिम होइन । तर, त्यो अन्तिम जस्तै हो । कुनै पनि करदातालाई त्यसले थप दायित्व सिर्जना गर्दैन,’ उनले भने ।
प्रतिक्रिया 4