२० जेठ, काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा जर्मन जाइन्ट वुल्फ्सबर्गलाई ३–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले दोस्रो पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
नेदरल्याड्सको फिलिप्स स्टेडियममा भएको खेलमा वुल्फ्सबर्गले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तेस्रो मिनेटमा नै इवा पजोरको गोलबाट अग्रता लिएको उसका लागि ३७औं मिनेटमा अजेक्जेन्ड्रा पपले गोल गरेकी थिइन् ।
तर दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । दोस्रो हाफको सुरुमै पात्री गिखारोले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् । ४८औं मिनेटमा पहिलो गोल गरेकी उनले ५०औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् ।
खेलको ७०औं मिनेटमा राल्फोले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाइन् । बार्सिलोनाले त्यही अग्रता जोगाएर उपाधि जितेको छ । गत सिजन पनि फाइनलमा पुगेको बार्सिलोना लायोनसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4