
२१ जेठ, काठमाडौं । गहुँको बिल बनाएर युरिया मल ल्याउँदै गरेका २ सहित ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो ।
बर्दघाटबाट काठमाडौंस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४ सय २० बोरा गहुँको बिल बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।
यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रुपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रक समेत सोही बेसले नियन्त्रणमा लिएको थियो ।
यस्तै गत १९ गते शुक्रबार नै सशस्त्र प्रहरी बल नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बेबी अम्रेला (बच्चाको छाता) बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
राजश्व छलीको आशंकामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको हो ।
तीन वटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।
यसैगरी गत १८ गते बिहीबार भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ५५ लाख १२ हजार ९ सय ६२ रुपैयाँ बराबरको कपडा र मिनी ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनीमाई गण मोरङले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको ना ६ ख ६६६४ नम्बरको कपडासहितको मिनी ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया 4