
२३ जेठ, काठमाडौं । नेकपा एमालेले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिएको छ ।
करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे समाचार आएपछि एमालेले संसदमा प्रश्न उठाएको थियो । त्यसपछि मंगलबार नै स्पष्टीकरण दिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरबारे आधिकारिक व्यक्तिहरुले नै निर्णय गरेको र पूर्व नासु रामकृष्ण श्रेष्ठलाई तथ्यांक इन्ट्रीमा मात्र प्रयोग गरेको बताए ।
डा. महतको जवाफमा एमालेले चित्त बुझाएको छ । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिंदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिने बताए ।
‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहेनछ, राम्रो लाग्यो’ उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ ।’
उनले अगाडि भने, ‘उहाँले भनेको कुरा नै साँचो होस्, अखबारमा आएका साँचा नहुन् ।’
तर आगामी दिनमा सतर्कताका साथ हेर्ने र करका दरहरुसँग व्यापारीको अनुहार खोज्ने उनले बताए ।
प्रतिक्रिया 4