+
+

रेशम चौधरीलाई खादा लगाइदिएको भिडियोले सरुवा भएपछि पत्रकारसँग डीएसपीको केरकार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते २१:४७
इलाका प्रहरी कार्यालय, टिकापुरका डीएसपी उद्धवसिंह भाट रेशम चौधरीलाई स्वागत गर्दै (बायाँ) र उनको कार्यकक्षमा बोलाइएका पत्रकार जीवन चौधरी (दायाँ) ।

२३ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा १५ जेठमा थुनामुक्त भएर गृहजिल्ला कैलाली पुग्दा इलाका प्रहरी कार्यालय, टीकापुरका डीएसपी उद्धवसिंह भाटले गरेको स्वागतको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो ।

सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा ७ भदौ २०७२ मा भएको आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका तत्कालीन सेती अञ्चल प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो ।

यो प्रकरणका दोषी चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर कैलाली पुग्दा डीएसपी भाटले ‘अस्वभाविक’ तरिकाले स्वागत गरेको भन्दै आलोचना भएको थियो । घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले उनको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दिने तयारी गरिरहँदा टीकापुरका डीएसपी भाटले ‘अस्वभाविक’ रुपमा चौधरीको स्वागत गरेको भन्दै प्रहरी अधिकृतहरु समेत असन्तुष्ट बनेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चौधरी चढेको कार रोकिनसक्दै डीएसपी भाट दौडिएर कारको ढोका छेऊ खादा लिएर पुगेको देखिन्छ । ‘नमस्ते, माननीयज्यू ! स्वागत छ टीकापुरमा’, दुई हात जोडेर मुस्कुराउँदै उनी भन्छन् ।

‘ल एकदम खुशी लाग्यो, है’, चौधरी जवाफ फर्काउँछन् । डीएसपी भाट ‘मलाई झन् धेरै खुशी लाग्यो हजुर’ भन्दै पीएसओ ‘याम’ आएको बताउँछन् ।

जिल्ला सुरक्षा समितिबाट सुरक्षा चुनौतीको विश्लेषणपछि मात्रै निजी सुरक्षा अधिकृत (पीएसओ) खटाउनुपर्ने हो । तर, जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्णय हुनुअगावै उनलाई पीएसओ दिइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

भिडियोमा सुनिएअनुसार उनले पीएसओलाई संकेत गर्दै ‘भाइलाई अगाडि राखौं (कारको अगाडिको सिटमा)’ भन्छन् । ‘अँ, अँ’ रेशम बोल्छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियोलाई लिएर प्रहरी उच्च अधिकृतहरुले पनि असन्तुष्टि जनाएका छन् ।

‘यो त चाकडीको अर्कै तह भयो, चौधरी त्यहाँ जाँदा सुरक्षा व्यवस्थापन गर्ने एउटा कुरा भयो, तर त्यो हदसम्मको व्यवहार गर्न जरुरी थिएन भन्ने हो’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘त्यसैले डीएसपी भाटलाई १९ जेठमा इलाका प्रहरी कार्यालय, टीकापुरको जिम्मेवारीबाट हटाएर सुनवलको गणमा काज सरुवा गरेका छौं ।’

भिडियो खिच्ने पत्रकारलाई केरकार

प्रहरी प्रधान कार्यालय, नक्सालले डीएसपी भाटको सरुवा गरेपनि उनले रमाना बुझिसकेका छैनन् । बरु यहीबेला भिडियो खिच्ने पत्रकार जीवन चौधरीलाई दुई पटक बोलाएर भिडियो किन खिचेको भन्दै केरकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक चौधरीसँग सोधपुछ गरिएको भिडियोमा डीएसपी भाट आफ्नो कार्यकक्षमा चौधरीलाई सोध्छन्, ‘…तपाईंहरुको नागरिक उन्मुक्ति पार्टीको योजनै थियो कि के थियो ? ल भन्नु त ।’

चौधरी : होइन, म पार्टीको होइन..।

भाट : पार्टीकै पत्रकार होइनौं ? जम्मै रेशमको फोटो हालिरहेका छौं त तिमी ?

चौधरी : त्यो.. रिपोर्टिङको क्रममा आएको भिडियो मात्र हाल्छु ।

भाट : रेशमलाई हिरो बनाउने चक्करमा मलाई मेरो बेइज्जत गर्ने तिमीहरुले ? भन त…

चौधरी : होइन.. एउटा राम्रो सन्देश…

भाट : पुलिस पनि स्वागत गर्न आएको थियो, भन्दा के सन्देश जाला । तेरो लागि राम्रो सन्देश होला, तेरो लागि राम्रो सन्देश होला, तेरो रेशमका लागि राम्रो होला । मेरो लागि नराम्रो गयो नि ।

पत्रकार चौधरीका अनुसार डीएसपी भाटले बोलाएपछि उनी आफैं प्रहरी कार्यालयमा दुई पटक पुगेका थिए । ‘त्यहाँ हामी दुई जना मात्र थियौं, मलाई भिडियो खिचेको थाहा थिएन’, उनले अनलाइनखबरसँग भने, ‘एक्कासी भिडियो बाहिर आएपछि थाहा पाएँ, त्यो पनि धेरै सम्पादित हो ।’

चौधरीले समर्थन कुनै विचारसँग भएपनि आफूले कुनै पार्टीको सदस्यता नलिएको बताए । ‘कुनै विचारधारा मन पर्ला तर, म स्वतन्त्र पत्रकार हो’, उनले थपे, ‘डीएसपी सा’बले किन भिडियो खिचेको, किन विवादित बनाउनुभयो भन्दै प्रश्न गर्नुभयो ।’

उनले आफूले सार्वजनिक स्थानमा भएकाले भिडियो खिचेको बताएको जनाए । ‘खिच्न नहुने ठाउँको भए मैले किन खिच्थेँ र फेरि अरु पत्रकारहरुले पनि त्यो खिच्नुभएको थियो, अरुले हालेनन्’, चौधरी भन्छन्, ‘मैले हालेपछि विवादित बन्यो, त्यसपछि मलाई बोलाएर सम्झाउने र विचार गर्नुपर्ने भनेर राम्रै भन्नुभयो ।’

डीएसपी भाटले चाहिँ त्यसबेला रेशम चौधरी मात्र नआएको बताउँदै संघीय मन्त्री रञ्जिता श्रेष्ठ, अरु तीन प्रतिनिधिसभा सदस्य, प्रदेश सांसद र प्रदेश मन्त्री पनि आएकाले आफू स्वागत गर्न गएको बताए । ‘कानूनसम्मत आएको मान्छेलाई स्वागत गर्ने हो, कानून विपरीत गर्छ भने पक्राउ पर्ने हो, त्यो भएन भने पो प्रश्न गर्ने हो’, उनले अनलाइनखबरसँग भने ।

पत्रकार चौधरीसँग पनि अनौपचारिक रुपमा भएको भेटघाटलाई लिएर धम्की गरेको भनेर गलत प्रचार गरिएको उनले जिकिर गरे । ‘चिनेको भाइ हो, टिकटक बनाइदिएछ । पछाडि हटाइसकेको पनि थियो’, उनले भने, ‘त्यही विषयमा इन्फर्मल कुराकानी हुँदा कसले भिडियो खिचिदिएछ ।’

पत्रकारलाई धम्क्याउनु निन्दनीय : महासंघ

पत्रकारलाई धम्क्याइएको भिडियो सार्वजनिक भएलगत्तै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले यस विषयमा जानकारी लिएको छ ।

‘मैले आफैंले जीवनजीसँग कुरा गरेको थिएँ, तर उहाँले आफूसँग यस्तो दैनिक जसो हुने भन्दै केही कुरा थप नबढाइदिन भन्नुभयो, उहाँ डराउनुभयो कि भनेर सम्झाउने प्रयास गरेका छौं’, पत्रकार महासंघका महासचिव रोसन पुरीले भने, ‘खासमा यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, आम नागरिकको अधिकारको पक्षमा पनि छैन ।’

एउटा आमनागरिकलाई पनि कसैले यसरी धम्क्याउन नपाउने भन्दै उनले भने, ‘यसमा के गर्ने भन्ने विषयमा महासंघमा छलफल गरिरहेका छौं ।’ पुरीले पत्रकारले सार्वजनिक स्थानमा खिचेको भिडियोलाई लिएर धम्की दिनु निन्दनीय भएको भन्दै पत्रकार महासंघले त्यसको भर्त्सना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?