
२४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको बताएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भीरतापूर्वक नलिएको उनले बताए ।
थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालत लगिएका अधिकारवादी नेता रिजालले अनलाइनखबरसँग भने, ‘यो घटनाबारे हल्लाखल्ला हुनुअघि नै मैले शीर्ष नेताहरु र उच्च सरकारी अधिकारीलाई भेटेर घटनाबारे जानकारी गराएको थिएँ । वास्ता गरेनन्, अहिले म आफैंलाई यस्तो भयो ।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा रिजालविरुद्ध पनि किटानी जाहेरी परेपछि प्रहरीले उनलाई ४ जेठमा झापाबाट काठमाडौं बोलाएको थियो ।
त्यसपछि काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनले मुद्दा अदालत लैजाने बेलामा रहस्यमय रुपमा आफूविरुद्ध प्रेमराज पन्थीको किटानी जाहेरी परेको बताए । ‘उनले मेरो घरमा तोडफोड गरेपछि मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ’, उनले थपे, ‘त्यसमा कुनै अनुसन्धान भएन, अहिले उनकै जाहेरी म विरुद्ध पर्यो ।’
केही व्यक्तिहरुले आफ्नो नाम लिएर ‘यिनले के सहयोग गर्छन्’ भन्दै शिविरमा ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएको रिजालले बताए ।
‘अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु, मैले कसैबाट यसमा फाइदा लिएको छैन’, उनले दाबी गरे, ‘भुटानी आएका नागरिक भनेकाले मैले ९/१० वटा कागजमा हस्ताक्षर गरेको थिएँ, मैले जे हो, सत्य कुरा बोलेको छु ।’
आफूले विगतमा पनि यस विषयलाई लिएर शीर्ष नेताहरुलाई भेटेको बताउँदै उनले भने, ‘अहिले म यो लडाइँमा एक्लै छु, सबै एकातिर म अर्कोतिर भएको छु, न्याय पाउनेमा विश्वस्त छु ।’
अहिले जिल्ला अदालत, काठमाडौंमा १७ जना प्रतिवादीहरुको थुनछेक बहस चलिरहेको छ ।
प्रतिक्रिया 4