
२४ जेठ, काठमाडौं । औपचारिक प्रस्ताव आए नेकपा एमाले फर्कन तयार रहेको पूर्व गृहमन्त्री वामदेव गौतमले बताएका छन् । बुधबार संघीय संसद भवनबाट बाहिरिदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै गौतमले एमालेले ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेकाले औपचारिक प्रस्ताव आए फर्कने बताए ।
गौतमले अहिले पनि आफू एमालेकै पार्टी सदस्य भएको पनि खुलाए । ‘मेरो पार्टी सदस्यता नेकपा एमालेमै छ । पोहोरसम्म सदस्यता शुल्क तिरिसकिएको थियो । अहिले सदस्यता शुल्क तिर्न म आफैं जाँदिन’, गौतमले भने, ‘मेरो श्रीमती र म पार्टी सदस्य हो, उनलाई पठाउँछु र पार्टी सदस्यता नवीकरण गरेर आउँछिन् ।’
एमालेले पार्टी सदस्यता खारेज नगरेकाले नवीकरण गर्ने गौतमले बताए । एमाले फर्कन आफूले अध्यक्ष केपी शर्मा ओलीसँग तीन पटक उमेर हदको व्यवस्था हटाउन छलफल गरेको पनि बताए ।
‘उहाँहरुले मलाई नै रोक्नका निम्ति उमेर हद ल्याउनुभएको हो’, गौतमले भने, ‘चार÷पाँच वर्षमा ७० वर्ष पुग्ने १०÷१२ जना नेता छन्, हट्यो भने (उनीहरु नै) अध्यक्ष पनि बन्न पाउँछन्, महासचिव पनि बन्न पाउँछन् ।’
एमालेमा फर्केर अध्यक्ष, महासचिव केही पनि नबन्ने गौतमले बताए । एमालेमा ओली नै अझै १५ वर्षसम्म अध्यक्ष रहने पनि गौतमले बताए ।
‘मेरो मूल्यांकन के छ भने यो कार्यकाल सकिएपछि एघारौं महाधिवेशन हुन्छ, १२औं महाधिवेशनसम्म बाँचिरहनुभयो पनि केपी ओली नै हो अध्यक्ष । अर्को व्यक्ति त्यहाँ छैन’, गौतमले भने । २०७१ को नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओली २०७८ मंसिरको दशौं महाधिवेशनबाट फेरि दोहोरिएका छन् ।
प्रतिक्रिया 4