
काठमाडौ । हंसल मेहताको सिरिज ‘स्कूप’ यतिबेला नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको छ । ग्याङस्टर छोटा राजनसँगको अन्तर्वार्तापछि पत्रकार ज्योतिर्मय डेको हत्यामा संलग्न रहेको आरोप अर्का पत्रकार पत्रकार जिग्ना वोरालाई लागेको थियो । पत्रकार वोराको जीवनमा यो सिरिज आधारित छ ।
अभिनेत्री करिश्मा तन्नाले वोराको भूमिका निर्वाह गरेकी छन् । सिरिजले यो रहस्यमयी हत्यालाई लिएर फ्याक्ट र फिक्सनको कथा भन्छ । उनै ग्याङस्टर राजनले अहिले उक्त सिरिज बन्द गर्न माग गर्दै मुम्बई उच्च अदालतमा उजुरी दिएका छन् ।
सिरिजले आफ्नो अनुमतिबिना फोटो प्रयोग गर्नु प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै राजनले प्रतिबन्धको माग गरेका छन् । उनको तर्फबाट अधिवक्ता मिहिर देसाईंले उजुरी दर्ता गरेका थिए । राजनलाई उध्दृत गर्दै अधिवक्ता देसाईंले भने, ‘मेरो तस्वीरमा प्रतिलिपि अधिकार छ र त्यसको प्रयोग अनुमति लिनुपर्छ ।’
उनी अगाडि भन्छन्, ‘मेरो अनुहार मात्र देखाइएको छ । मलाई हत्याको पछाडिको व्यक्तिको रूपमा देखाइएको छ । म दोषी ठहरिएको छु । म यसमा विवाद गर्दिन । मेरो अपील विचाराधीन छ । तर के मलाई सारा संसारसामु यसरी चित्रित गरिनुपर्छ ?’ यद्यपि, नेटफ्लिक्सका लागि वरिष्ठ अधिवक्ता रवि कदमले राजनलाई ट्रायल कोर्टले दोषी ठहर गरेको र शृंखलाका सबै एपिसोड यसअघि नै स्ट्रिमिङ भइसकेको कागजपत्र भन्दै पेश गरेको जनाएका छन् ।
अदालतले शोका निर्देशक हंसल मेहता र नेटफ्लिक्सलाई स्कूपको स्ट्रिमिङमा रोक किन नलगाउने भन्दै कारण देखाउने आदेश समेत जारी गरेको छ ।
प्रतिक्रिया 4