
२४ जेठ, पोखरा। पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रमा फेरि सडक पार्किङ सुरु भएको छ । महानगरले गत माघ महिनाबाटै पोखराका मुख्य बजार क्षेत्रका सडकमा पार्किङ निषेधको अभियान चलाएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा महानगरले विभिन्न स्थान तोकेर नि:शुल्क तथा सशुल्क पार्किङ क्षेत्र तोकेको थियो । हाल उक्त अभियानलाई व्यवस्थित गर्न नसक्दा फेरि सडकमै पार्किङ सुरु भएको छ ।
पोखरम महानगरको प्रवक्ता मोती तिम्सिनाले केही समयका लागि सडक पार्किङ खुकुलो बनाइएको जानकारी दिए । व्यवसायीले तत्काल कडाइ नगर्न आग्रह सोहीअनुसार कडाइ कम गरेको सुनाए ।
‘व्यवसाय केही राम्रो भइराखेकोबेला अहिले बन्द नगरिदिनुस् भनेर आग्रह गर्नुभयो । उहाँहरुको आग्रहअनुसार अहिले केही कम भएको हो,’ तिम्सिनाले भने, ‘सडकलाई पार्किङ मुक्त बनाएर व्यवस्थित बनाउने हाम्रो अभियान जारी नै छ ।’ उनले अहिले पनि सडक व्यवस्थित गर्न ट्राफिक प्रहरीसँग सहकार्य चलिरहेको सुनाए ।
लामो समयदेखि दिँदै आएको सडक पार्किङ ठेक्का तोड्दै गत माघ २३ गतेदेखि पोखरा महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङमुक्त बनाउने घोषणा गर्यो । महानगरले पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकखण्डका सडकमा पार्किङ निषेध गर्ने घोषणा गरेको थियो ।
तर, सरोकारवाला निकायसँग छलफल नै नगरी एकलौटी ढंगले सडक पार्किङ बन्द गरेको भन्दै सर्वत्र विरोध भएपछि निर्णय भएको २ दिन बित्न नपाउँदै आफ्नै निर्णयबाट महानगर पछाडि हट्यो । पोखरा उद्योग वाणिज्य संघ, यातायात समिति लगायतले विरोध गरेपछि महानगरले तत्कालका लागि सडक पार्किङ निषेध गर्ने निर्णय फिर्ता लिएको थियो ।
तर, निर्णय फिर्ता लिएको बताए पनि सडकमा पार्किङ गर्न महानगरले राक लगाउँदै आएको थियो । पोखराको न्युरोड, चिप्लेढुंगा क्षेत्रमा सडकमै पार्किङ हुने सवारी साधनलाई निजीस्तरबाट खुलेका पार्किङ क्षेत्रका पार्किङमा पठाउँदै आएको थियो । शुल्कका लागि व्यवसायीले साना दुई पांग्रे सवारीले प्रतिघन्टा १० रुपैयाँदेखि ठूला सवारी साधनको प्रतिघन्टा ३० रुपैयाँसम्म उठाउँदै आएका छन् ।
महानगरले पोखरा मुख्य बजार क्षेत्रका भूमिगत तलालाई पार्किङ प्रयोजनका लागि भन्दै व्यावसायिक सटर बन्द गराइसकेको छ । तर, योजनाअनुसार सबै भूमिगत तला लामो समय भइसक्दा पनि अझै खाली भइसकेका छैनन् भने खाली भएकाले पनि पार्किङ सुरु गरेका छैनन् ।
महानगर प्रवक्ता तिम्सिनाले अन्डरग्राउन्डलाई पूर्णतया पार्किङकै लागि प्रयोग गर्ने प्रयास भइरहेको सुनाए । ‘अहिले धेरै घरधनीले अन्डरग्राउन्डलाई पार्किङकै लागि प्रयोग गर्र्दै आइरहनु भएको छ । बाँकी भएका घरधनीले पछि छिट्टै गर्नुहुन्छ,’ उनले भने ।
पोखरा महानगरले निजी क्षेत्रसँगको सहकार्यमा सशुल्क पार्किङको व्यवस्था गरेको छ । त्यसबाहेक न्युरोडका ३ ठाउँमा जग्गा भाडामा लिएर निशुल्क पार्किङको व्यवस्था गरेको छ । ‘अहिलेलाई कार्यक्रम नहुँदा न्युरोडको सभागृह र नयाँ बजारको प्रदर्शनी केन्द्रमा पनि निशुल्क पार्किङको व्यवस्था मिलाएका छौं,’ तिम्सिनाले भने।
प्रतिक्रिया 4