
२४ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारले ध्यान नदिए आउँदो दशकमा धेरै आधारभूत विद्यालय बन्द हुने बताएकी छन् ।
आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै बुधबार उनले देशभरिको आधारभूत विद्यालयको अवस्था निराशाजनक भएको बताइन् ।
‘देशभरिका आधारभूत तहका विद्यालयको अवस्था निराशाजनक छ । यदि समयमा नै यसमा सुधार नगर्ने हो भने अबको दशकमा अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुग्नेछन्’ उनले भनिन् ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्वअध्यक्षसमेत रहेकी सांसद बरालले उच्च माध्यामिक तहको शिक्षा अध्ययन गरेका युवालाई स्वदेशमै राख्ने नीति सरकारले लिनुपर्ने बताइन् । उच्च शिक्षालाई व्यवसायिक बनाउन शैक्षिक ऋणको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण
सांसद बरालले बजेटले मुलुकमा विद्यमान समस्या समाधान गर्ने आशा जगाउन नसकेको बताइन् । बजेटमा आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिनु खुसीको विषय भएपनि लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण रहेको बताइन् ।
६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बैंक तथा वित्तीय संस्थाले १५ देखि १८ प्रतिशतको कर्जा विस्तार गर्नुपर्नेमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा जम्मा ३.५ प्रतिशत मात्र कर्जा विस्तार भइरहेको सांसद बरालले बताइन् ।
प्रतिक्रिया 4