
२६ जेठ, काठमाडौं । विद्युतीय सवारी आयातकर्ता कम्पनीहरुले सूचना चुहाएर बजेटअघि नै भित्र्याएका विद्युतीय गाडीको मूल्य बढाउने तयारी गरेका छन् । बजेटअघि नै भित्रिएका कर बढेका सेगमेन्टभित्रका सयौं विद्युतीय सवारी पुरानै मूल्यमा बिक्री गर्नुपर्नेमा कम्पनीहरुले नयाँ मूल्य तय नभइन्जेलसम्म भन्दै बुकिङ र नयाँ बिक्री नै बन्द गरेर बसेका छन् । कम्पनीहरू कालोबजारी हुने गरी अवैध रूपमा मूल्य बढाएर उपभोक्ता ठग्न थाल्दा समेत सरकार मौन र मुकदर्शक भएर बसेको छ ।
बजेटअघि धेरै विद्युतीय गाडी भित्र्याएका एमजी मोटर्स र बीवाईडी आयातकर्ता साइमेक्स नेपालले बुकिङ बन्द गरेका हुन् । विद्युतीय सवारी बुकिङका लागि सो रुम पुग्ने र फोन सम्पर्क गर्नेहरुलाई कम्पनीले बुकिङ लिन नसकिने जवाफ दिइरहेको छ । कर बढेको सेगमेन्टमा बढी गाडी भित्र्याउने अन्य कम्पनीहरुले पनि बुकिङ बन्द गरेका छन् ।
कम्पनीहरुले सूचना वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा पनि पुगेको छ । उपभोक्ताले विद्युतीय गाडी बुक गर्न नपाएको विषय आफूहरुको जानकारीमा रहेपनि उपभोक्ता हित संरक्षण सम्बद्ध कानुनमा यस्तो कार्यविरुद्ध ‘एक्सन’ लिन नमिलेको महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए । ‘सरकारले बजेटमार्फत भन्सार र अन्तशुल्क बढाउनुअघि नै भित्रिएका सवारीका मूल्य बढाउन पाइँदैन,’ उनले भने । बढेकाे कर नयाँ आयात हुने सवारीको हकमा मात्रै लागू हुने उनले स्पष्ट गरे ।
तर, बजारमा विभिन्न बाहनाबाजी गरेर पहिल्यै आयात भएका गाडीको मूल्य बढाउन कम्पनीहरू गृहकार्यमा छन् । कतिपय कम्पनीहरूले मूल्य बढाइसकेका छन् ।
चौधरी ग्रुपले आयात गर्ने नेटा–भीको मूल्य यसअघिको भन्दा एक लाख रुपैयाँले बढिसकेको छ । बजेटअघि नेटा भीको मूल्य ३८ लाख रहेकोमा बढेर ३९ लाख पुर्याइएको छ । बजेटअघि आयात भएका गाडीको बुकिङ भइसकेकाले नयाँ आयात हुने गाडीको लागि यस्तो मूल्य तय गरिएको कम्पनीका एक अधिकारीले दाबी गरे ।
सरकारले विद्युतीय गाडीमा कर बढाउन लागेको अति संवेदनशील सूचना बजेटअघि नै चुहाएको थियो । सूचना चुहिएका कारण बजेट भाषणको मुखमा ११०० भन्दा बढी चारपाङ्ग्रे विद्युतीय गाडी अस्वाभाविक रुपमा नेपाल भित्रिएका छन् ।
वैशाखमा आएको असौतभन्दा बढीको बिजुली गाडीसमेत जोड्ने हो भने यो संख्या १३०० भन्दा बढी पुग्छ । राजस्व वृद्धिको सूचना चुहिंदा सरकारले करिब सोझै ९० करोड राजस्व गुमाएको देखिएको छ ।
सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (साउन–वैशाख)सम्म जम्मा २ हजार ९५५ वटा विद्युतीय गाडी सवारी आयात भएको थियो । बजेट आउनु अघिको १५ दिनमा वीरगञ्ज, रसुवागढी, तातोपानी र भैरहवा नाकाबाट मात्र ११२१ विद्युतीय सवारी भन्सार जाँचपास भएर भित्रिएको थियो ।
१० महिनामा जति विद्युतीय गाडी आयात भएको छ, त्यसको एक एक तिहाईभन्दा बढी (३८ प्रतिशत) बिजुली गाडी बजेट अघिको दुई सातामा भन्सार जाँचपास भएका थिए ।
भन्सार विभागको तथ्यांकअनुसार वैशाख महिनामै पनि विद्युतीय गाडीको आयात स्वभाविक दरमा भएको थिएन । सरकारले विद्युतीय गाडीमा थप कर बढाउने गृहकार्य गरिरहेको सूचना बाहिरिएपछि भन्सारहरुमा बिजुली गाडीको जाँचपास वैशाखदेखि नै बाक्लिएको थियो ।
अहिले रातारात भित्रिएका गाडीको मूल्य बढाउनका लागि कम्पनीहरुले बुकिङ रोकेर राखेका छन् । वाणिज्य विभागका महानिर्देशक ठाकुर बजेटअघि भित्रिएका सवारीको मूल्य बढाए कारवाही गर्ने बताउँछन् । उपभोक्ताबाट उजुरी परेमा विभागले कम्पनीहरुको गाडी आयात र बिक्री प्रतिवेदन मागेर अनुसन्धान गरिने उनको भनाइ छ ।
विभागका निर्देशक आनन्दराज पोखरेल पनि तिर्दै नतिरेको करलाई देखाएर मूल्य बढाउन नपाइने बताउँछन् । ‘कर नबढ्दै आयात भएका सवारीको मूल्य बढाउन मिल्दैन, उजुरी परेमा अनुसन्धान गर्छौं,’ उनले भने,‘प्रत्येक ३–३ महिनामा हामीले आयात भएका सवारीको संख्या र मूल्यको प्रतिवेदन माग्ने गरेका छौं, अनधिकृत तवरले मूल्य बढाएको पाए विभागले कारवाही गर्छ ।’ हुँदै नभएकाे खर्च देखाएर मूल्य बढाउन नमिल्ने उनले बताए ।
बजेटले ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार महसुललाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ भने १० प्रतिशत अन्तःशुल्क पनि लाग्ने व्यवस्था गरेको छ ।
बजेटअघि एमजी मोटर्सले मात्रै १५ दिनमै ५२४ वटा ‘जेडएस–ईभी’ भित्र्याएको थियो । एमजीले यो अवधिमा रसुवागढीबाट भित्र्याएको सबै गाडी कर बढेकै सेगमेन्टका हुन् ।यही १४ दिनमा साइमेक्स नेपालले बीवाईडी ब्रान्डका १६१ गाडी भित्र्याको थियो । त्यसमध्ये १६० वटा गाडी ५० देखि एकसय किलोवाट क्षमताका थिए । रसुवागाढी भन्सार नाकाबाट १ जेठ यता बीवाईको ‘ई ६’ ४० वटा, एटो–थ्री १२० वटा र डल्फिन १ वटा आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । सो नाकाबाट जेठ लागेगता ‘नेटा भी’ १२० वटा आयात भएको थियो । यो पनि कर बढेकै रेन्जको हो ।
वीरगञ्ज भन्सार कार्यालयबाट पनि जेठ लागेयता १०५ वटा विद्युतीय गाडी भित्रिएका थिए । जसमा ९१ वटा गाडी अहिले भन्सार र अन्तःशुल्क बढेकै ५० देखि १०० किलोवाट रेन्जका हुन् ।
अरु १४ वटा गाडीमात्रै १०० देखि २०० किलोवाट रेन्जका थिए । भैरहवा भन्सारबाट १४ दिनमा २ सय ११ वटा विद्युतीय गाडी भित्रिएका थिए । तीमध्ये पनि अधिकांश गाडी बजेटले कर वृद्धि गरेकै समूहका थिए ।
वैशाखसम्म आयात भएका साढे २९ सय बिजुली गाडीमध्ये २ हजार ८८२ वटा गाडी १०० किलोवाटसम्मका थिए । वैशाखसम्म ८ अर्ब ४१ करोड मूल्यका बिजुली गाडी आयात हुँदा २ अर्ब ८ करोड बराबरको भन्सार राजस्व असुल भएको थियो ।
प्रतिक्रिया 4