
काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियानमार्फत् घर जित्न सफल पूर्णबहादुर श्रेष्ठलाई यूएईमा विशेष कार्यक्रमको आयोजना गरी इसेवा मनी ट्रान्सफरले बधाई दिएको छ ।
लुलु एक्स्चेञ्ज र इसेवा मनि ट्रान्सफरको समन्वयमा बुधबार सारजाहस्थित लुलु शाखामा विशेष कार्यक्रमको आयोजना गरी विजेता श्रेष्ठलाई बधाई दिएको जनाएको छ ।
घर जित्न सफल श्रेष्ठलाई इसेवा मनि ट्रान्सफरका सम्बन्ध प्रबन्धक ईश्वर अधिकारिले नेपालमा हुने घर हस्तान्तरण कार्यक्रममा सहभागिता हुन आमन्त्रण समेत गरे ।
कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमद; सञ्चालन प्रमुख रघुपति वेन्कीटाकृष्णन, सञ्चालन प्रमुख डिजिटल हरेश पिल्लै, मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र शाखामा अन्य ग्राहकहरूको सहभागिता रहेको थियो ।
१२ जेठमा इसेवा मनी ट्रान्स्फरले डिजिटल गोलाप्रथाका माध्यमबाट विजेता छनोट गरेको थियो । डिजिटल गोला प्रथाबाट यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले घर जित्न सफल भएका थिए । श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेका हुन् ।
श्रेष्ठले यूएईस्थित लुलु एक्स्चेञ्जबाट इसेवा मनि ट्रान्सफर मार्फत् बैंक खातामा रेमिट्यान्स् पठाएका थिए ।
इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।
डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।
७ असोजदेखि ६ जेठसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4