
काठमाडौं । यस वर्षको मिस वर्ल्ड छिमेकी मुलुक भारतमा हुने भएपछि सबैभन्दा खुसी कोही छ भने मिस नेपाल-२०२२ प्रियंकारानी जोशी छिन् । उनी त भइहाल्ने भइन् ग्राण्ड फिनालेको तयारी र सहभागिताका लागि समेत नेपाललाई सजिलो भएको छ ।
मुख्यतः नेपाललाई तीन फाइदा हुन सक्ने देखिन्छ । पहिलो, दर्शकदेखि डेलिगेसनको अधिकतम सहभागिता हुनसक्ने भयो । दोस्र्रो, भारतमा प्रतियोगिता हुने भएपछि सोही थिममा पहिरन, प्रप्सलगायतको तयारी गर्न सजिलो हुनेछ । भिसालगायतको झन्झट नहुँदा आवतजावत खर्च निकै कम हुने भयो । तेस्रो, भौगोलिक र सांस्कृतिक निकटताले मनोवैज्ञानिक सहजता ।
यस वर्ष मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकाले प्रतिस्पर्धामा भाग लिंदैछिन् । जसका लागि उनी र हिडन ट्रेजरलाई निकै सजिलो भएको छ । प्रियंकाले त ग्राण्ड फिनालेका लागि परिवारलाई नै भारत लैजाने भएकी छन् । हिडन ट्रेजरको टोली पनि भारत जाने मनस्थितिमा छ । अन्य मुलुकमा हुन्थ्यो भने यो सहज थिएन ।
भारतमा फिनाले हुने भएपछि बस लिएरै नेपाली दर्शक हौसला दिन भारत जान सक्ने प्रियंका बताउँछिन् । ‘मुख्यतः जोग्राफिकल लोकेसनको कारण धेरै सहज हुने देखिन्छ । खर्च कम हुन्छ । खानेबस्ने र आउनजान सजिलो हुनेभयो,’ उनले भनिन्, ‘पहिरनको कुरालाई पनि लिएर केही सहज हुने देखिन्छ । लुगा कस्तो लाउँछ भनेर धेरै हेरिन्छ । यसमा सजिलो हुन्छ ।’ अन्य मुलुकमा सामान लैजाँदा कम्प्रोमाइज गर्नुपर्ने तर भारतमा सहज हुने उनको बुझाइ छ । सन् २०२३ को नोभेम्बर-डिसेम्बरमा ग्राण्ड फिनाले हुनेछ ।
यसअघि दुबईमा हुने भनिएको मिस वर्ल्डको फिनाले रोकिएपछि तयारीका लागि अन्योल भएको थियो । तर भारतमा हुने घोषणापछि थप तयारीका लागि नेपाललाई निकै सहज भएको छ ।
प्रतिक्रिया 4