+
+
कथा :

डियर फुच्ची !

बेला-बेला यस्तो लाग्थ्यो उनले पनि केही अरू नै भन्न खोजिरहेकी छिन् जुन मैले बुझ्न सकिरहेको छैन वा उनले बुझाउन सकिरहेकी छैनन् । अथवा मैले गलत बुझिरहेको छु । तर ती क्षणहरू साँच्चिकै अलौकिक थिए ।

किरणचन्द्र पुन किरणचन्द्र पुन
२०८० जेठ २७ गते ८:११

अघिल्लो दिन बिहान ५ बजेदेखि हिंडेर बल्ल साँझको ८ बजे केन्जिङ गोम्पा पुगिएको थियो । त्यो रात सुतेर भोलिपल्ट बिहानै सेर्गोरी पिक ५ हजार ६० मिटरको यात्रा गरेर फर्किएका थियौं । खुट्टाहरू गलिसकेका थिए । शरीरमा खूब थकान थियो भने मन एकदमै चङ्गा !

साथीहरू खाना खाएपछि कोठामै सुत्ने तरखर गर्दैथिए । म भने दिदीलाई एक कप मीठो कफी बनाउन भनेर होटलको छततिर लागें ।

कस्तो गज्जबको आनन्द, कस्तो चिसो हावा अनि चारैतिर अब खस्लान् जस्तो गरी हिमालले घेरिरहेका केन्जिङ गोम्पाको त्यो क्षण एकदमै मनमोहक थियो । म उक्त अलौकिक माहोलमा लिप्त थिएँ ।

एकै छिनमा दिदीले छतमै कफी ल्याइदिनुभयो । ‘बाबु, चिसो लाग्ला है धेरै बेर छतमा नबस्नुहोला’ भनेर दिदी जानुभयो । मोबाइलमा अर्जित सिंहको गीत बजिरहेको थियो । हातमा कफी अनि म मस्त सन्नाटाको त्यो क्षणमा हराइरहेको थिएँ ।

केही क्षणपछि कोही छततिर उक्लिरहेको आवाज सुनियो । मैले वास्ता गरिनँ । उतातिरबाट एउटा हातमा कुर्सी घिसार्दै अर्को हातमा कफी समातेर कोही मेरो समीपमा आएर बस्यो ।

‘कस्तो चिसो ठाउँ है ?’

कुनै केटी मान्छेको आवाज आयो । म उनी भएतिर फर्किएर भनें, ‘उम्म… एकदम चिसो छ अनि यसमा छुट्टै आनन्द पनि त छ नि !’ कफी सुरुप्प पारें । उनले पनि कफीको चुस्की लिइन् ।

‘कहिले फर्किने तपाईं’ सोधिन् उनले ।

‘भोलि बिहानै, अनि तपाईं चाहिं ?’ मैले पनि सोधें ।

मलाई जवाफ दिंदै उनले भनिन्, ‘हामी नि भोलि नै फर्किने, सायद हामी सँगै फर्किने छौं । मलाई त अझै एक-दुई दिन यतै बसौं जस्तो लागेको छ, त्यो सेर्गोरी पिक पुगेको क्षण मैले केही ठूलो कुरा जितेको जस्तो महसुस भएको थियो । एउटा विछट्टै अनुभूति भएको थियो जुन त्यो क्षणको निमित्त निकै अलौकिक थियो, सायद मेरा जिन्दगीका केही महत्वपूर्ण आनन्ददायी क्षणहरूमा त्यो पल पर्छ वाउ…, अनि मलाई त्यहीं रात बिताउन मन थियो तर मिलेन । मैले हजुरलाई त्यहाँ किताबसँगै देखेकी थिएँ, मैले नि गान्धीको किताबसँग फोटो खिचेको नि !’

‘अनि तपाईं किताब पढ्नु पनि हुन्छ कि फोटो मात्र खिचाउने हो ?’

‘म त्यस्तो किताब पढ्ने मान्छे त होइन तर विस्तारै बानी लगाउँदैछु, यहाँ चाहिं किताबलाई नि यात्रा गराउन लिएर आएको ।’

‘अनि तपाईं त बडो साहसी केटी हुनुहुँदोरहेछ, यत्रो पहाड चढ्ने हिम्मत मात्र होइन चढेर पनि नसुतेर छततिर निस्किनुभएको छ त !’ मैले सोधें ।

‘ओ मिस्टर ! के केटी मान्छेलाई कम सम्झिनुभएको ?’

‘कम सम्झेको होइन के, तारिफ गरेको नि तपाईंको ।’

उनी मुसुक्क मुस्कुराइन् । अनि फेरि जवाफ दिइन्, ‘मलाई यात्रासँग प्रेम छ, किताबसँग पनि, नयाँ मान्छेहरू चिन्न मनपर्छ, नयाँ ठाउँ घुम्न मनपर्छ र विशेषगरी सामाजिक चिन्तनमा रुचि छ । एक दिन मरिजाने जिन्दगीमा पछि फर्केर हेर्दा केही पछुतो नलागोस् भन्ने मेरो विचार हो । त्यसैले म मस्त आफूले चिताएको कुरा गरेरै छाड्छु । म आˆनो मर्जीको मान्छे पो हुँ त ।’

उनले हाँस्दै थपिन्, ‘मलाई त्यो अरू केटीको जस्तो सामान्य नसम्भिmनुहोस् है । म जासुस पनि त हुन सक्छु नि ?’

मैले खित्का छोडेर हाँसें र भनें, ‘म ढुक्क छु मैले त्यस्तो कुनै अपराध गरेको छैन जुन कारण तपाईंले जासुसी गर्न परोस् । तर तपाईं छिट्टै घुलमिल हुने मज्जाको मान्छे हुनुहुँदोरहेछ ।’

उनले टोपी निकालिन् अनि आफ्नो कपाललाई एक मुठो पारेर बेर्दै भनिन्, ‘बाहिरी आवरणमै मलाई त हजुरले क्षणभरमै चिनिदिनुभयो त, मैले जासुस गरेको थाहा पाउनुभएन नि ? ल जेहोस् मिलेछ भने भोलि लामो यात्रामा नयाँ साथीसँग गफ गर्दै बाटो छोटो बनाउने प्रयत्न गर्नुपर्छ ल ! सँगै निस्किने है ! गुड नाइट !’

उनी सुत्न तल झरिन् ।

मैले ‘गुड नाइट’ भनेको पक्कै सुनिन् होला ।

एकछिनमा म पनि मनमा उनले छोडेर गएका कौतूहलका पोकाहरू सम्हाल्दै सुतें तर कतिबेला निदाएछु थाहै भएन ।

भोलिपल्ट बिहानै हामी फर्किने तरखर गर्दै थियौं, मैले यताउति हेरें । सबै निस्किसकेका रहेछन् अनि कता-कता ‘भोलि सँगै जानुपर्छ ल’ भनेर दिएको निम्तोले उनलाई खोज्न विवश बनाइरहेको थियो ।

तीन घण्टाको यात्रापछि लाङटाङ पुगियो । कस्तो संयोग ! त्यहाँ हामी एकछिन रोकिएर भूकम्पका कारण क्षत-विक्षत पुरानो लाङटाङ बस्ती नियाल्दै थियौं । पछाडिबाट आवाज आयो, ‘ओ मिस्टर, तपाईं त हामीभन्दा अघि निस्केको होइन, अनि बल्ल यहाँ ?’

फरक्क फर्किएँ । हातमा हाइकिङ स्टिक, गहुँगोरो चेहरा, डियर कमरेडकी लिलीको जस्तो कपाल । आँखामा बसेको त्यो कालो चश्मा, तल ट्रयाक अनि गोल्डस्टारका मजबूत जुत्ता । सेतो टिसर्ट । मान्छे जत्तिकै चिटिक्क परेको हाइकिङ ब्यागमा स्टिक समातेर ठिङ्ग उभिएकी ।

उनले कसलाई बोलाएको भनेर केटाहरू अक्क न बक्क भए ।

मैले भने रातमा अनुहार नदेखेको भए पनि उनको आवाजबाट चिनिहालें । भनें, ‘हामी त सबैभन्दा ढिला निस्केको नि !’

गफिंदै विस्तारै हामी सबैले फेरि यात्रा सुरु गर्‍यौं ।

हामी दुवै जना गफ गर्दै गर्दै कति छिटो बाटो कटेछ, थाहै भएन । हाम्रो ग्रुप छुटेको पनि थाहा भएन । यात्रामा खूब कुराको गहिराइमा अर्को यात्रा पनि गरिएछ । लाङटाङ ट्रेकिङ र लाङटाङ नदीको बेजोड बारे सुरु भएको हाम्रो गफ समाज, राजनीति, साहित्य, प्रेम, यौन, मृत्युको सीमासम्म पुगेको थियो ।

सायद दुईमध्ये कोही आध्यात्मिकतामा दख्खल राख्ने भइदिएको भए त्यहाँ पनि डुबुल्की मारिन्थ्यो होला । अचम्म के थियो भने हामी गफमा यति लिप्त थियौं कि हामी दुवैका साथीहरू कता थिए थाहा भएन ।

यात्राको दौरान चिच्याएर सुसेल्दै बगिरहेको नदी, लाङटाङको सुन्दरताले हाम्रा गफलाई बेला-बेला लोभ्याएर अन्तै मोडिदिन्थ्यो । साहित्यमा बीपी, भूपि, पारिजात, बुद्धिसागर, खलिल जिब्रान, पाब्लो नेरुदा, कोहेलो, हारुकी मुराकामीदेखि लिएर राजनीतिमा अति पूँजीवाददेखि लिएर नेपालको सामाजिक, राजनैतिक अवस्थाका बारेमा निस्केका फरक मत र समानताले बेला-बेला सामीप्यता त बेला-बेला वैचारिक मतभेदले कता कता कटुता भरिदिन्थ्यो ।

युभाल नोहा हरारीका तीन किताबले दिने सन्देशमा हाम्रो आफ्नै बुझाइ थियो । हामी दुवैको निमित्त यी कुराहरू निकै प्यारा थिए । हामी त्यति नजिक हुन पुगेका थियौं कि लाग्थ्यो हाम्रो वर्षौंदेखि चिनजान छ । हामी बीच त्यस्तो कुनै रहस्य वा गोप्य कुरा नै छैन । त्यति सहजता र सामीप्यताका सम्बन्धहरू बन्न वर्षौं लाग्छ, तर खै अपवादमा थियो हाम्रो भेट र सम्बन्धहरू सायद ।

प्रेम र यौनको दर्शन दुवैको निमित्त अलि बेजोड र अलि कमजोर ज्ञान भएको विषय भनेर हामीले प्रेम र यौनलाई अलि कम्प्लेक्स कुरामा राख्यौं । यो कुरामा हामी दुवै जनाको एकै किसिमको मत थियो ।

बेला-बेला जुधिरहने आँखा, अप्ठ्यारो बाटोमा एकअर्कोलाई पुग्ने सहारा, बीच-बीचमा थकाइ मार्दा निस्किने सुस्केरा र त्यत्रो अञ्जान यात्रामा दुवै अञ्जान हामी सायद साथीभन्दा नजिक हुन पुगिसकेका थियौं ।

यात्रा त विशेष थियो नै तर त्यो यात्रा झनै दुवैको निमित्त अझ बेजोड बन्न पुग्यो जब हामीले एक अर्कोलाई चिन्न र बुझ्न थाल्यौं ।

कति छोटो क्षणमै कोही यति नजिक हुन सक्छ भन्ने मलाई विश्वास लागेको थिएन । यात्राले एउटा अर्को यात्राको सुरुवात गरेको जस्तो भान हुन्थ्यो । बेला-बेला यस्तो लाग्थ्यो उनले पनि केही अरू नै भन्न खोजिरहेकी छिन् जुन मैले बुझ्न सकिरहेको छैन वा उनले बुझाउन सकिरहेकी छैनन् । अथवा मैले गलत बुझिरहेको छु । तर ती क्षणहरू साँच्चिकै अलौकिक थिए ।

हामी भोलिपल्ट स्याफ्रुबेसीदेखि काठमाडौं सँगै फर्किने निधो गर्‍यौं । उनको ग्रुप र हाम्रो ग्रुप एउटै बसमा काठमाडौंतिर हान्नियौं । उनले मसँगैको सिटमा बस्न खोजिन् अनि साथी जुरुक्क उठेर अर्कै सिटमा गयो । उनी आज हिजोभन्दा गम्भीर थिइन्, त्यति धेरै बोलिनन् पनि । सायद बोल्नलाई विषयहरू नै सकिएका थिए ।

हामी भन्दा ठीक अगाडिको सिटमा स्लोभाकियाकी केटी र अजरबैजानको केटा बसेका थिए । उनीहरूको भेट पनि यही लाङटाङ भ्यालीमा भएको रे ! अनि यही यात्रामा प्रेम हुन पुगेको रे ! उनीहरू चाहिं ६ हजार मिटर उचाइको एल पिक चढेर फर्किएका रे !

मजाक गर्दै उनीहरू भन्दैथिए, ‘रूस टुक्रिए पनि हामी दुई चाहिं एक भयौं !’

उनीहरूले अगाडि पटक-पटक चुम्बन गरिरहेका हुन्थे । हामी एक अर्कोको नजरमा हेथ्र्यौं । थोरै लजाउँथ्यौं अनि अर्कैतिर फर्किन्थ्यौं । सायद गनेको भए ३०८ भन्दा बढी पटक नै भएको हुनुपर्छ । कतिबेला हामी निदायौं थाहा भएन ।

म ब्युझिंदा गाडी गल्छीमा पुगिसकेको थियो । उनी अझै मेरो काँधमा मेरो हात समाएर मस्त निद्रामा थिइन् । मलाई अचम्म लागिरहेको थियो । किन कोही अञ्जान केटी जसको मलाई नाम पनि थाहा छैन ! उनले मसँग यति धेरै सामीप्यता र विश्वासको महसुस गर्दैछिन् ? म आफैं बुझ्न सकिरहेको थिइनँ ।

केही क्षणमा बस कलंकीमा रोकियो । मैले उनलाई थानकोटमा ब्युँझाइसकेको थिएँ । उनले ब्युझिंदा मेरो आँखामा हेरेकी थिइन् । मेरो हातबाट उनको हात हटाएकी थिइन् । अनि हल्का लजाउँदै उनले भनेकी थिइन्, ‘हामी कति छिट्टै यहाँ आइपुगेको फेरि यति छिट्टै छुट्टनिे बेला पो हुन आँटेछ ।’

मैले भनें, ‘एकदिन त सबै यो संसारबाट नै छुट्टनिै पर्छ फेरि हामी त अस्ति भर्खर भेटेका यात्राका साथी न हौं, चाहेपछि हामी जोडिन सकिहाल्छौं नि !’

उनले लामो मौनता साधिन्, मतिर अनेकौं गुनासो भए जसरी, खाउँला गरी हेरिन् र भनिन्, ‘तिम्रो लागि म अस्ति भेटिएँ होला तर म तिमीलाई पाँच वर्ष अघिदेखि चिन्छु ।’

एक्कासी तपाईंबाट तिमीमा झरेको उनको सम्बोधनसँगै गहिरो रहस्य उनले खोलेकी थिइन् । त्यसपछि म आफैं अचम्मित भएँ । हजारौं प्रश्न एकैपटक दिमागमा आइरहेका थिए । तर के सोध्ने, सुरुमा ठम्याउन सकिरहेको थिइनँ । मैले सोधें, ‘कसरी चिन्छ्यौ तिमी मलाई ?’

उनले भनिन्, ‘तिमीले जुन कलेजमा पढ्यौ, मैले त्यहीं पढें । तिमीले जुन संस्थामा इन्ट्रान्सकोे तयारी गर्‍यौं, मैले नि त्यहीं तयारी गरें । मलाई थाहा छ, तिमीलाई बोल्न मनपर्छ तर यो यात्रामा तिमीभन्दा म बढी बोलेकी छु । तिमीलाई लेख्न पनि मनपर्छ, तिमीलाई देश र समाजको कुराले धेरै छुन्छ । तिमीले एक वर्ष अस्कलमा बिताएको नि थाहा छ, तिमी र मेरो यसरी भेट हुन्छ भन्ने मैले सोचेकी पनि थिइनँ । मैले तिमीलाई सेर्गोरी पिकमा नै चिनिसकेकी थिएँ । मान्छे त उस्तै लागेको थियो मात्र हल्का दाह्री पलाएछ जुन निकै सुहाउने रहेछ ।’

यसरी रहस्यहरू खुल्दै जाँदा मलाई अझै कौतूहल जाग्दै थियो तर समय सीमा सकिएको आभास हुन्थ्यो । हामी दुवै जना कलंकीमा ओर्लिसकेका थियौं । मलाई अझै रहस्य जान्नु थियो । अनि मैले कफीको प्रस्ताव गरें तर उनले मानिनन् । पठाओ बोलाइहालिन् ।

मैले उनको नाम सोधें ।

उनले रिसाए जसरी प्रेम र क्रोधले एकैपटक हेरिन् र भनिन्, ‘किन चाहियो मेरो नाम तिमीलाई अब आफैं पत्ता लगाऊ ।’

एकै छिनमा पठाओ ट्याक्सी आयो । उनले आफ्नो सामान ट्याक्सीमा राखिन् । उनले यो भनिनन् कि कहाँ जाँदै हो, के गर्दै हो, को हो ?

मैले ‘नाम त भन’ भनेर खूब कर गरें ।

उनले मलाई एक्कासी कस्सेर अँगालो हालिन् । मलाई मान्छेहरूले देखेकोमा हल्का अप्ठ्यारो लाग्यो । त्यो जीवनको पहिलो कुनै केटी मान्छेसँगको सामीप्यताको क्षण थियो । यसले एउटा छुट्टै किसिमको ज्वारभाटा शरीरमा पैदा गरेको जस्तो, एउटा बेजोड आनन्दको अनुभूति भएको जस्तो, खै कस्तो हो कस्तो अनुभूति भइरहेको थियो ।

उनले केही मिनेटपछि अँगालो छोडिन् । अनि कानमा खुसुक्क भनिन्, ‘मिस्टर समिर, यु क्यान कल मी फुच्ची, बाइ समिर ।’

‘अब मैले कसरी केही सूत्र विना तिमीलाई भेट्नु, खोज्नु ? कमसेकम नाम त भन ।’

उनी ट्याक्सीतर्फ बढ्दै भनिन्, ‘हामी सँगै हुन लेखेको रहेछ भने पक्कै भेट हुनेछ तर म तिमीलाई खोज्ने छैन समयले भेट्टाएछ भने सोचौंला । जहाँसम्म मलाई लाग्छ, तिमी जुन सपना लिएर अघि बढेका छौ, म नि त्यही यात्रामा छु । बाटो फरक भए पनि गन्तव्य एउटै होला । अहिले यात्रामा रमाऔं । बाँकी भगवानको नाममा छोडिदेऊ ।’

उनको ट्याक्सी हुइँकियो, म ट्वाल्ल परेर हेरिरहें । मलाई सबथोक सपना जस्तो लागिरहेको थियो । कुनै फिल्म पो हेरिरहेको जस्तो तर यो सबै कथाको पात्र म आफैं थिएँ । अनि विपनालाई पनि विश्वास गर्न गाह्रो भइरहेको थियो भने दिमागमा अनेकौं प्रश्न सल्बलाइरहेका थिए । जसको जवाफ फेरि उनैसँग नभेटुन्जेल मिल्ने अवस्था थिएन ।

यादहरू मेटिने कुरा नै थिएन, तर रहस्यलाई रहस्य नै राखेर उही यात्रा अघिको समिर बनेर म कलेज फर्केको थिएँ । बाँकी उही सदाको झैं दैनिकी चलिरहृयो । कलेज जाऊ, आऊ, पढेको जस्तो गर, परीक्षा आएपछि त्यसकै तनाव तर फुच्चीको यादले छाडेन ।

लाङटाङको यात्राले जोडेको उनीहरूलाई कलंकी चोकले छुट्याएको थियो । कहाँ होलिन् ? के गर्दै होलिन् ? फेरि भेटिएलिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?