
२८ जेठ, काठमाडौं । मिस नेपाल २०२३ का विजेताले ‘हप अन हप अफ’ बसमा चढेर सम्पदा यात्रा गरेका छन् । उनीहरुले शनिबार काठमाडौंका सम्पदा यात्रा गरेका हुन् ।
काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सम्पदा घुम्ती बस सेवामार्फत उनीहरुले नारायणहिटी, पशुपतिनाथ, बौद्ध र स्वयम्भुको भ्रमण गरेका हुन् ।
नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौंमा दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी गत ९ जेठदेखि सम्पदा घुम्ती बस सेवा परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ ।
शनिबार ललितपुरबाट सुरु गरिएको यात्रामा मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रेना मजगैया, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ सहभागी थिए । उनीहरुको साथमा नेपाल पर्यटन बोर्ड, साझा यातायातका कर्मचारी सहभागी भए ।
सम्पदा क्षेत्रको भ्रमणपछि प्रतिक्रिया दिंदै उनीहरुले पर्यटन बोर्डले साझासँग सहकार्य गरी सुरु गरेको यो बस सेवाले आन्तरिक तथा बाह्य पर्यटकलाई काठमाडौंका सम्पदा घुम्न सहज हुने तथा यसबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले गत ९ जेठमा ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरेका थिए । सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालनमा रहेका छन् ।
साझा यातायातका अनुसार सम्पदा घुम्ती बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन भइरहेका छन् । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक), महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँुदै बौद्ध पुग्ने छ । यस्तै फर्किंदा तारागाउँ संग्रहालय, बौद्ध,चावहिल चोक,नारायण गोपाल चोक,गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँदै साझा यातायात पुल्चोक आउने छ ।
प्रतिक्रिया 4