
करिब एक महिना अगाडि अनलाइनखबरमा प्रकाशित एक सामग्रीमा नेपाली कलाकार स्नेहा श्रेष्ठको चित्रकला अमेरिकाको म्युजियम अफ फाइन आर्टस्मा संग्रहित भन्ने खबर पढ्दा धेरै नै खुशी लाग्यो। उनलाई धेरै धेरै बधाई।
उनको सफलताले मलाई एक अर्का कलाकारको बारेमा लेख्न प्रेरणा दियो जसको योगदान सायद थोरै मात्रै नेपालीलाई थाहा छ र अमेरिकाको एउटा शहरले कहिल्यै भुल्ने छैन।
सन् २०१३ मा अमेरिकाको टेक्सास राज्यको किलगोर शहरका मेयर रोनी स्प्राडलिनले एक नेपाली कलाकारलाई शहरको साँचो बुझाएका थिए। ती युवा कलाकार अनुप भण्डारी बूढानीलकण्ठ विद्यालयबाट भर्खरै पढाइ सकेर १९९८ मा अमेरिकामा आफ्नो करिअर खोज्दै किलगोर शहर पुगेका थिए।

कुनै पनि शहरको मेयरले साँचो बुझाउनु भनेको आफैंमा ठूलो कुरा हो। हामीले नेपालमा विदेशी पाहुना आउँदा नेपालका मेयरले यसरी नै साँचो बुझाएको कुरा सुनेका थियौं। म सम्झन्छु, १९८६ मा बेलायतकी महारानी एलिजाबेथ नेपाल आउँदा त्यसबेलाका मेयर कमल चित्रकारले उनलाई काठमाडौं शहरको साँचो बुझाएका थिए।
यसको अर्थ उनलाई नेपालको कुनै पनि स्थानमा जान खुल्ला छ भन्ने मान्यता हो। साँचो बुझाउनु अहिलेको परिप्रेक्ष्यमा सामाजिक सेवकलाई नागरिक मान्यता (सिभिक रिकोग्निजन), प्रेम र कृतज्ञताको प्रतीकको रूपमा प्रस्तुत गर्नु हो। त्यतिबेलादेखि मलाई साँचो पाउने व्यक्ति राष्ट्रको लागि विशेष महत्व हुन्छ भन्ने लाग्ने गर्थ्यो।
किलगोर शहरमा आफ्नो करियर बनाउन गए पनि त्यो शहर उनका लागि कर्मभूमि बन्न पुग्यो। उनले शहर वरिपरि बसेका उपेक्षित वर्ग र घरवारविहीन मानिसको सेवा गर्न आफ्नो सम्पूर्ण जीवन व्यतीत गरे।
आर्टमा सानै उमेरदेखि रुचि भएका अनुपले फाइन आर्टमा पढाइ सुरु गरी पेन्टिङ्ग गर्न थाले। मानिसमा सेवाको भाव आएपछि उन्नति र प्रगति पनि बढ्दै जान्छ। उनले आफ्नो सम्पूर्ण पेन्टिङ्ग यी मानिसको उन्नतिको लागि लिलामी गर्दै पैसा संकलन गर्नतिर लागे।
विशेषगरी उनले किलगोरस्थित सामाजिक संस्था न्यूगेट मिसनमा आबद्ध भएर यी उपेक्षित वर्ग र घरवारविहीनलाई आर्ट उपचार प्रविधि अपनाउन थाले।
न्यूगेट मिसनले उनकै नाममा सुरु गरेको अनुप भण्डारी पुरस्कार र अन्य धेरै पुरस्कारबाट सम्मानित भएका अनुपका तीन वटा चित्र किलगोर शहरको म्यूजियममा स्थायी रूपमा स्थापित भएका छन्।
त्यस शहरले ७० वर्षपछि खोल्ने गरी गाडेको शहरको अत्यन्त महत्वपूर्ण सम्पत्ति (क्याप्सुल) मा अनुपले कोरेको चित्र (अयल पेन्टिङ्ग) पनि रहेको छ। जो कोहीले पनि अनुप भण्डारी किलगोर युएसए भनी गुगलमा खोजेमा उनका सयौं उपलब्धि, उनले पाएका सम्मान र उनको कलाका बारेमा सजिलै भेट्न सकिन्छ।
त्यस्तै उनको सम्मानमा डाउन टाउनमा एउटा युनिटी मुरल बनाइएको छ, उनका चित्रहरू समावेश गरेर (चित्रमा देखाइएको)। उनले आफूले बनाएका उपेक्षित वर्ग र घरवारविहीन मानिसका चित्र र उनीहरूको सानो परिचय राखेर किताब प्रकाशन गरी न्यूगेट मिसनलाई उपहार दिएका छन्। यसबाट बिक्री भई उठेको पैसाले यी वर्गको हितमा खर्च गरिने छ (चित्रमा देखाइएको)।
२००१ सेप्टेम्बर ११ मा न्यूयोर्क भएको ट्वीन टावर आक्रमणका पीडितका लागि सुरु भएको उनको यात्रा उनको अन्तिम क्षणसम्म चल्यो। अनुप २०२० मार्च १० गते हृदयघातले ४० वर्षको छोटो उमेरमा यस संसारबाट बिदा भए। एक हातले दान गर्दा अर्को हातलाई थाहा नहोस् भन्ने मान्यता राखेका अनुप भण्डारीले आफूले पाएका उपलब्धि, पुरस्कार र सम्मानका बारेमा कहिल्यै आफ्ना साथीभाइ र परिवारलाई भनेनन्।
यहाँ प्रस्तुत छोटो परिचय पनि उनले संकलन गरेका पत्रपत्रिकाका कटिङ्ग र गुगलमा प्राप्त सूचनाको आधारमा मैले प्राप्त गरेको हुँ। उनका बारेमा भएका अधिकांश सूचना पत्रपत्रिका र अनलाइनमा भेटिन्छन्।
विभिन्न क्षेत्रबाट विश्वसामु नेपाललाई चिनाउने काम भएको नै छ। अहिलेको समयमा हामीलाई स्नेहा श्रेष्ठ र अनुप भण्डारी जस्ता कलाकारको पनि निकै धेरै जरुरत छ।
प्रतिक्रिया 4