
२९ जेठ, काठमाडौं । रामेछापको मन्थलीसहित सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहसँगको साझेदारीमा सो क्षेत्रमा हाइमास्ट र सडक बत्ती जडान गरिए पछि सो क्षेत्र झिलिमिली भएका हुन् ।
मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर शहरी क्षेत्रमा कम विद्युत खपत गर्ने तर बढी उज्यालो दिने १७० वटा सडक बत्ती जडान गरिएको प्राधिकरणले जनाएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।
बसपार्क र विनिता चोकमा १२.५ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको प्राधिकरणले जनाएको छ । सडक बत्तिको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ ।
यसैगरी बेथान क्षेत्रमा ३३१ वटा स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः १४८ र १८३ वटा रहेका छन् । १२.५ मिटर अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत २ करोड रुपैयाँ रहेको छ ।
मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तिको उद्घाटन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
यसैगरी बेथानमा जडान गरिएको बत्तिको घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रुपमा उद्घाटन गरे ।
विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत पुर्याउने काम अभियानकै रुपमा भइरहेको घिसिङले बताए ।
‘देशभित्र उत्पादित विद्युत यहीं खपत गर्ने, हिउँदमा माग अनुसार अपुग रहेको विद्युत पुग्ने गरी जलविद्युत आयोजनाहरु बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत निर्यात गर्ने रणनीतिका साथ अगाडि बढाएका छौं’, घिसिङले भने ।
स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी रात्रिकालीन सौन्दर्यता बढाउने छ । सडक बत्तीको महसुल सम्बन्धित पालिकाहरुले तिर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4