
२९ जेठ, काठमाडौं । बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले आफ्ना उत्पादनलाई भारतमा निर्यात थालेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६ मा अवस्थित बालाजी सिमेन्टबाट उत्पादित सिमेन्ट सोमबारदेखि भारत निर्यात गर्न थालिएको कम्पनीका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले जानकारी दिएका छन् ।
बालाजी सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित बहुवली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्टलाई भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्याण्डर्स (बीआईएस)ले गुणस्तर सम्बन्धी इण्डियन स्ट्याण्डर्ड इन्स्टिच्युट (आईएसआई) चिन्ह दिए लगत्तै सिमेन्ट निर्यातको बाटो खुलेको अग्रवालले बताए ।
पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएको छ । २ वटा ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात गरिएको उनले उल्लेख गरेका छन् । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात थालिएको हो ।
निर्यातको मात्रा बढाउँदै लैजाने उनले बताएका छन् । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने प्रावधान छ । यी उत्पादनले नेपालमा समेत एनएस चिन्ह नलिई सिमेन्ट निर्यात गर्न पाइँदैन ।
उद्योगका सन्दीपकुमार गाडियाले वर्तमान असहज एवम् आर्थिक मन्दीको अवस्थामा सिमेन्ट भारत तर्फ निर्यात गर्ने काम शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको प्रतिक्रिया दिएका छन् ।
प्रबन्ध निर्देशक अग्रवालका अनुसार बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ । उद्योगले बहुवली र श्रृष्टि ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । बालाजी सिमेन्ट इण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान गरिएको उनले बताए ।
प्रतिक्रिया 4