+
+

चितवनको नारायणी लिफ्ट र खगेरी सिँचाइको नहरमा भएको अतिक्रमण हटाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते ८:२६

३० जेठ, चितवन । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ प्रणालीको रेखाङ्कनभित्र रहेको अतिक्रमण हटाउन पहल थालएकिो छ ।

नहर मिचेर बनाइएको सडक र अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काउन नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले कार्यदलसमेथ गठन गरेको छ ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुखको संयोजकत्वमा गठित आठ सदस्यीय कार्यदलमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, भरतपुर महानगरपालिकाका अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत, नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष र खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष सदस्य रहेका छन् ।

जिल्लाका राजनीतिक दल, प्रहरी प्रशासन तथा पालिका प्रतिनिधि र सांसदहसँग छलफल गरेर उनीहरुको सहमति लिएपछि कार्यदल गठन गरिएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख घनश्याम कार्कीले जानकारी दिए ।

उनका अनुसार कार्यदलका सदस्य सचिवमा नारायणी लिफ्ट सिँचाइ व्यवस्थापन कार्यालयका अधिकृत रहने व्यवस्था गरिएको छ ।

कार्यदलले अध्ययनपछि अतिक्रमित जग्गाबाट हट्न सम्बन्धित पक्षलाई ३० दिने सूचना जारी गर्ने, उक्त समयभित्र अटेर गरी बसे सुरक्षा निकायको सहयोगमा हटाइने निर्णय गरिएको छ ।

बैैठकले नहर मिचेर सडक बनाउने र पिच गर्ने काममा पालिका तथा सांसदहरुकै भूमिका देखिएकोले त्यस्ता ठाउँमा बजेट विनियोजन नगर्न अनुरोध गर्ने निर्णयसमेत गरेकेा छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राजनीतिक दल र सांसदहरुको सहमति पछि अतिक्रमण गरेर नहर छेउमा बनाइएका घर टहरा र सडक भत्काउन प्रहरी प्रशासनको तर्फबाट पूरै साथ र सहयोग रहने बताए ।

नहरको आवश्यकता छैन भनेर कतिपय सांसद र पालिकाहरुले नहर मिचेर सोही ठाँउमा बाटो बनाउने, पिच गर्ने लगायतका कार्य गरेपछि नहरबाट पानी लैजान समस्या हुँदै आएको छ ।

नहर मिचिदा भूमिगत सिँचाइ प्रणालीको रिचार्ज हुने प्रकृयासमेत रोकिएकोले तत्कालै यस्ता मिचिएका संरचना हटाएर नहरमा पानी छाड्नुपर्ने भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले बताए ।

उनले सुकुम्वासी वा अव्यवस्थित बसोवास गर्ने जो कोहीले नहर मिचेको भए उनीहरुलाई उचित ठाँउमा स्थानान्तरण गरेर नहरलाई व्यवस्थित गराउन आफू तयार भएको प्रतिक्रिया दिए ।

उनले ठूल ठूला मन्त्री, सांसदहरुले नै नहरको जग्गा अतिक्रमण गरेर संरचना बनाएको पाइएकोले यसलाई तत्काल भत्काउने कार्यमा साथ दिने बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी तथा खगेरी नहरको संरचनालाई पुरानै अवस्था फर्काएर पानी छाड्नुपर्नेमा महानगर दृढ रहेको भन्दैं यसमा साथ दिने प्रतिक्रियाा दिइन् ।

उनले नहरलाई १२ महिना नै चलाउने गरी संरचनागत सुधार र व्यवस्थापन गर्न नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयलाई अनुरोध गरिन् ।

बजेटको चिन्ता नगर्न र कामको योजना बनाउन कार्यालयलाई अनुरोध गरिन् । नारायणी लिफ्ट सिँचाइतर्फ नारायणपुर, कैलाशनगर, पारसनगर फूलबारी क्षेत्रमा नहरको अक्रिमण भएको छ ।

त्यस्तै खगेरी सिँचाइतर्फ देवनगर, रामपुर, मङ्गलपुर गीतानगर क्षेत्रमा अतिक्रमण भएको सो अवसरमा जानकारी दिइएको थियो ।

२०३५ सालबाट निर्माण सुुरू भई २०४० सालमा सञ्चालनमा आएको नारायणी लिफ्टमा पानी तान्नका लागि चारवटा पम्प छन् ।

दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने छ । अहिले पुरानो मेसिन निकालेर २६ करोडको लगानीमा नयाँ मेसिन खरिद गरेर जडानको काम भैरहेको छ ।

पश्चिम चितवन क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउन भनेर ५२ करोडको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल छन् ।

नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६.५ किलोमिटर लामो छ ।

नारायणी लिफ्टको पानि बी र सी नहरका लागि विभाजन हुन्छ । बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फुलवारीसम्मको जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँछ भने सी नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ छेउ हुँदै गौरीगञ्जसम्म सिञ्चाई पुर्‍याएको छ ।

भरतपुर महानगरपालिका-१ मा रहेको जोरकुसुम पार्क नजिक नारायणी नदीको पानी २२ मिटरमाथि लिफ्ट गरेर मुख्य नहरमा ल्याइन्छ । त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ ।

१८ मिटरमाथि लिफ्ट गरेर सी नहरबाट र लिफ्ट नगरी बी नहरबाट पानी पठाइन्छ । नहर अतिक्रमण हुनुअघि नारायणी लिफ्टले चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो ।

अहिले तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । नारायणीबाट लिफ्ट गरेको पानीलाई खगेरी सिँचाइमा लगेर थप ३ हजार हेक्टरभन्दा बढी खेतमा सिँचाइ गर्न पनि सकिन्छ । हिउँदमा खासै पानी हुँदैन । तर, नारायणीको पानी लैजान सके पश्चिम चितवनको अधिकांश भूभागमा सिँचाइ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?