+
+
नक्कली शरणार्थी प्रकरण :

बहस लम्बिएपछि न्यायाधीशले भने, ‘म बिरामी हुँलाजस्तो भयो, छिटो गरौं’

उपाध्यायको बहस सकिंदा करिब ६ बज्न थालेको थियो । न्यायाधीश न्यौपानेले भने, ‘छोटो गरौं? तपाईहरुको यस्तै हाे भने त रातभरि बस्नुपर्ला जस्तो छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते २०:३२

३० जेठ, काठमाडौं । ११ नबज्दै जिल्ला अदालत काठमाडौंको १० नम्बर इजलास कक्षमा नक्कली शरणार्थी प्रकरणका आरोपितहरु जम्मा पार्न थालिएको थियो । हत्कडी लगाएर ल्याइएका केशवप्रसाद दुलाल अरु दिनभन्दा अलि झोक्राएका थिए । केहीबेर इजलासमा राखेर उनलाई अस्पताल लगियो ।

केहीबेरमा टोप, कोट, पाइन्ट लगाएर पूर्वमन्त्री बालकृष्ण खाँण इजलासमा प्रवेश गरे र सधैं झैं कुर्सीमा बसे । सञ्चारमाध्यममा वकालतनामा गर्नेहरुको लहर भनी समाचार आएकोमा कानुन व्यवसायीहरुले आपत्ति जनाए । जवाफमा इजलासबाट न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भने, ‘बाहिर भनेर हुन्छ, म १२ दिनदेखि यसैमा छु । भोलि म बिरामी भएँ भने के हुन्छ ? भरसक छिटो टुंग्याऊँ ।’

अधिवक्ता पंकजकुमार कर्णले बहस थाले । कसैले पनि बालकृष्ण खाँणको नाम पोलेर किटानी जाहेरी नदिएको भन्दै उनले प्रेमराज पन्थीको जाहेरीको बीचमा नाम परेका भरमा प्रतिवादी हुन नसक्ने जिकिर गरे । ‘उ नेपाली हो, तर भुटानी नागरिक भएर आफैं अमेरिका जान चाहँदो रहेछ’ उनले भने, ‘आफ्नै परिचय किर्ते बनाउनेलाई कसरी न्याय दिने ?’

बहसका क्रममा उनले बरु टोपबहादुर रायमाझी र प्रेमकुमार राईको संलग्नता देखिने भन्दै उनले पूर्वमन्त्री बालकृष्ण खाँणको त्यति पनि नभेटिने दाबी गरे ।

शरणार्थी मामिला सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने कामलाई उनले गलत भन्न नमिल्ने बताए । उनले थपे, ‘मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदैमा आपराधिक क्रिया हुँदैन, त्यो प्रस्तावमा कुनै पनि गैरकानुनी काम गरौं भन्ने छैन ।’

पौने दुई घण्टा लामो बहसमा उनले खाँण विरुद्ध कुनै प्रमाण नभेटिएकोमा बहस केन्द्रित गरे । अन्तिममा कैयौं मुलुकहरुको उदाहरण दिंदै उनले भने, ‘जेलमा राख्नुपर्नेलाई समेत बाहिर राखेर सुध्रिने मौका दिने गरिएको छ । गम्भीर प्रकृतिको अपराध नभई थुनामा पठाउनु उचित होइन ।’

उनले केही नजीर र कागजात इजलासलाई दिएपछि न्यायाधीश न्यौपानेले ठट्टा गर्दै भने, ‘यो विषयमा यति धेरै अध्ययन सामग्री आयो कि पीएचडी गरौं झैं लाग्दैछ ।’

त्यसपछि वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले चिया ब्रेक हुने समय अघिसम्म बहस गरे ।

वरिष्ठ अधिवक्ता महादेव यादवले तत्काल प्राप्त प्रमाणहरु हेर्दा पूर्वमन्त्री बालकृष्ण खाँण कसुरदार नदेखिने जिकिर गरे । उनले भने, ‘मन्त्रिपरिषदमा लगेको प्रस्ताव र निर्णय नीतिगत प्रकृतिको हो । भ्रष्टाचारले पनि छुँदैन ।’

अर्का वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले ‘केही मान्छेलाई थुन्दैमा ठूलो भइन्छ’ भने झैं गरी अनुसन्धान अधिकारीहरुले मुद्दा तयार गरेको बताए । उनले भने, ‘कमजोर मुद्दा ल्याउने, अनि थुन्नुपर्छ भन्ने ?’

वरिष्ठ अधिवक्ता एगराज पोखरेलले एकभन्दा बढी कसुर देखाएर सजाय बढाउन खोजिएको आरोप लगाए । वरिष्ठ अधिवक्ता हरिहर दाहालले खाँण थुनामुक्त भएमा समेत प्रमाण नष्ट गर्ने जोखिम नभएकाले उनलाई धरौटीमा छाड्नुपर्ने तर्क गरे ।

वरिष्ठ अधिवक्ता नरसिंह केसीले पञ्चायतकालदेखि प्रजातान्त्रिक आन्दोलनमा बलिदानी गरेका बालकृष्ण खाँणमाथि मुद्दा चलाउनु गलत भएको जिकिर गरे ।

द्वन्द्वोत्तर कालखण्डमा रहेका मुलुकका समाजमा विशृङ्खल बढ्ने भन्दै उनले नक्कली शरणार्थीको मुद्दालाई नेपालको प्रतिबिम्बित हुने मुद्दा भनी टिप्पणी गरे । आरोपितहरुलाई थुनामा राख्दा पीडितहरुको फसेको रकम उठ्ने सम्भावना नरहेको भन्दै बरु धरौटीमा छाडेमा बाहिरबाट रकम जुट्न सक्ने र पैसा उठ्न सक्ने बताए ।

उनले भने, ‘यो मुद्दा हेर्दा नेपाल राष्ट्र यहीं छ । हिमालको शेर्पादेखि तराईको चौधरीसमेत प्रतिवादी बनाइएको छ । झापादेखि कैलालीका मान्छे यहीं छन् । यिनलाई न्याय गरौं ।’

अधिवक्ता मणिराम उपाध्यायले एउटा कसुरमा ५ वटा अभियोग लगाइएको टिप्पणी गरे । ‘अनुसन्धानलाई बौद्धिक मनोरञ्जन बनाइयो’ उनले भने, ‘बालकृष्ण खाँणको ४० वर्षे राजनीति समाप्त पार्न खोजियो ।’

उपाध्यायको बहस सकिंदा करिब ६ बज्न थालेको थियो । न्यायाधीश न्यौपानेले भने, ‘छोटो गरौं? तपाईहरुको यस्तो हाे भने त रातभरि बस्नुपर्ला जस्तो छ ।’

६ बजेतिर इजलासमा रहेका नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे बहस गर्न तम्सिए । न्यायाधीश न्यौपानेले भने, ‘बालकृष्ण खाँणको तर्फबाट अझै बाकी छ र ?’

पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती उठे र भने, ‘हामी बाँकी छौं ।’

बहस अनावश्यक रुपमा लम्बिएको भन्दै न्यायाधीश न्यौपाने दिक्दार भए । उनले भने, ‘यो इजलास निरीह भयो, तपाईंहरु जति भने पनि मान्नुहुन्न, यस्तो चालाले कहिले सकिन्छ ?’

हरेक बहसमा विषयवस्तु दोहोरिएको भन्दै उनले कानुन व्यवसायीहरुलाई विवेक प्रयोग गरिदिन आग्रह गरे । जवाफमा कानुन व्यवसायीहरुले ‘नागरिकको स्वतन्त्रतासँग जोडिएको विषय भनेकाले आफूहरुको कुरा सुन्नुपर्ने तर्क गरे ।’

त्यसपछि फेरि न्यायाधीश न्यौपानेले भने, ‘ल उसो भए, भोलि १२ बजेभित्र बालकृष्ण खाँणको तर्फबाट सक्नुहोस् । बाँकी प्रतिवादीको त्यसपछि….।’

कानुन व्यवसायीहरुले ‘१२ बजे होइन, चियाको समयअघि सकौं’ भनी आग्रह गरे । वरिष्ठ अधिवक्ता खातीले भने, ‘बरु विषयवस्तु दोहोरिएछ भने इजलासबाट रुलिङ होस् ।’

कानुन व्यवसायीको प्रस्तावमा सहमत भएका न्यायाधीश न्यौपानेले छेवैमा बसेर टिपोट गरिरहेकी सरकारी वकिल निर्मला मरासिनीतर्फ हेरे र भने, ‘तपाईहरुले पर्सिको जवाफी बहसको तयारी गर्नुहोस् ।’

उनले भनिन्, ‘हामी त भोलिकै लागि तयार छौं ।’

न्यायाधीशले भने, ‘तपाईंहरु तयार भएर भो त, यहाँ बहस लम्बिएको लम्बियै छ । पर्सि तपाईंहरुले जवाफी बहस गर्नुहोस् ।’

त्यसपछि इजलास उठ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?