+
+

कांग्रेसका चार शुभेच्छुक संस्थामा संस्थापनइतरको वर्चस्व

लिलु डुम्रे लिलु डुम्रे
२०८० जेठ ३१ गते १६:२६

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्ष बलियो भए पनि शुभेच्छुक संस्थाहरूमा संस्थापनइतर पक्ष हाबी देखिन थालेको छ ।

पार्टीको १४औं महाधिवेशनपछि चार शुभेच्छुक संस्थाले अधिवेशन सिध्याए, जसमध्ये नेपाल शिक्षक संघ, डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए), सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियनमा पदाधिकारी सहित अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जितेका छन् ।

प्रेस युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ, सांस्कृतिक संघ, गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ, लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, डेमोक्रेटिक लयर्स एशोसिएसन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स लगायतलाई कांग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।

शिक्षक संघमा संस्थापन पक्षका आठ जना

शिक्षक संघको केन्द्रीय समितिमा संस्थापनइतरको वर्चस्व रहेको छ । संघको नवौं अधिवेशनबाट संस्थापनइतरका सोमनाथ गिरी अध्यक्ष निर्वाचित भएका थिए । गत चैतको अन्तिम साता काठमाडौंमा भएको अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षीय गोकर्णबहादुर बानियाँ अध्यक्षमा पराजित भए ।

पदाधिकारीमा महिला उपाध्यक्ष र महासचिव बाहेकका पदमा देउवा पक्षका उम्मेदवारले जित्न सकेनन् । संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्रबहादुर रावलले चुनाव जिते । उप महासचिवमा तीर्थ यादव र कालीबहादुर शाही देउवा पक्षबाट निर्वाचित भएका छन् ।

प्रदेशतर्फ उपाध्यक्षमा सातै जना संस्थापनइतरका निर्वाचित भएका छन् । कोशीबाट वीरेन्द्रकुमार खड्का, मधेशबाट छोटेलालप्रसाद तेली साह, बागमतीबाट सुन्दर पन्त, गण्डकीबाट लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनीबाट प्रेमनारायण भण्डारी, कर्णालीबाट भगवती श्रेष्ठ, सुदूरपश्चिमबाट खड्कबहादुर खड्का संस्थापनइतरबाट निर्वाचित भएका थिए ।

४६ सदस्यीय कार्यसमितिमा पदाधिकारीमा चार पद र सदस्य ४ जना देउवा पक्षका उम्मेदवारले जितेका छन् । शिक्षक संघको कार्यकाल विधानतः चार वर्षको हुने व्यवस्था छ ।

डीएलएमा देउवा पक्ष फराकिलो अन्तरले पराजित

नेपाली कांग्रेसप्रति आस्था राख्ने कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) मा समेत संस्थापन पक्ष कमजोर देखिएको छ । चितवनमा गत साता सकिएको ११औं महाधिवेशनबाट संस्थापनइतरका उम्मेदवार सीताराम केसी निर्वाचित भए । डीएलएको १० औं महाधिवेशनमा पराजित केसी त्यतिबेला संस्थापन इतरका नेता रामचन्द्र पौडेल निकट थिए ।

केसीले फराकिलो अन्तरले अध्यक्षका अन्य चार उम्मेदवारलाई हराएका थिए । अध्यक्षको उम्मेदवारमा देउवा पक्षबाट लक्ष्मीदेवी दाहाल रावल उम्मेदवार थिइन् । ‘देउवा पक्षबाट उम्मेदवार बनेकी रावलको मत आएको संख्या देख्दा उनलाई सभापतिको साथ भएको जस्तो देखिएन’, नवनिर्वाचित एक पदाधिकारी भन्छन् । निर्वाचित केसीले ६५३ मत पाउँदा रावलले मात्र १७७ मत पाएकी थिइन् ।

महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी, उपाध्यक्षमा जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा कविता थापा कार्की विजयी भएका थिए । प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामानन्द साह, बागमतीबाट जनकराज श्रेष्ठ, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनीहरू सबै शेखर–गगन पक्षधर भएको इतर पक्षको दाबी छ ।

डीएलएमा ४४ सदस्यीय कार्यसमिति हुने विधानको व्यवस्था छ । ३९ जनाको लागि निर्वाचन हुने, चार जनालाई अध्यक्षले मनोनित गर्ने र निवर्तमान अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । डीएलएको कार्यकाल ३ वर्षको हुने प्रावधान छ ।

सिडेनमा दुई सदस्य मात्रै

कांग्रेस निकटका इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महाधिवेशनमा देउवा पक्षले हार व्यहो¥यो । सिडेन अध्यक्षमा संस्थापनइतरबाट उम्मेदवार बनेका लक्ष्मण केसी निर्वाचित भएका छन् ।

सिडेन अध्यक्षका लागि तीन जना प्रतिस्पर्धी थिए । संस्थापन पक्षबाट चेतनाथ पाण्डे र इतरबाट लक्ष्मण केसी र प्रमोद दवाडी प्रतिस्पर्धामा थिए । कांग्रेस नेता प्रदीप पौडेल निकट रहेका केसीलाई जिताउन महामन्त्री गगन थापाले साथ दिएका थिए । दुई नेताको छलफलपछि महामन्त्री थापा पक्षबाट उम्मेदवारी दिएका आठ जनाले केसीलाई साथ दिने गरी उम्मेदवारी फिर्ता लिएका थिए ।

पदाधिकारीमा निर्वाचित उपाध्यक्ष उमेश धिताल, महासचिव थमनबहादुर खड्का, उपमहासचिव सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत संस्थापनइतरका हुन् ।

अधिवेशनबाट सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । नवनिर्वाचित कार्यसमितिमा संस्थापन पक्षले दुई जना सदस्य मात्रै जितेको छ । दुईवर्षे कार्यकाल हुने सिडेनमा यसअघि सभापति पक्षका उमेश थानी अध्यक्ष थिए ।

प्रेस युनियनमा ८० प्रतिशतको शक्ति

गत साउनमा भएको अधिवेशनबाट प्रेस युनियनमा समेत संस्थापनइतर हाबी भएको छ । संस्थापनइतर शिव लम्सालले देउवा पक्षधर उम्मेदवार अनिता विन्दुलाई हराए ।

प्रेस युनियनको पदाधिकारी नै जम्बो टोली छ । ४० जना रहेको पदाधिकारीमा १२ जना संस्थापन पक्षका छन् । केन्द्रीय समितिमा निर्वाचितको संख्या ११७ जना रहेको छ । प्रेस युनियनमा संस्थापनइतरबाट निर्वाचित एक पदाधिकारीका अनुुसार केन्द्रीय समितिमा ८० प्रतिशत बढी शेखर–गगन पक्षधर छन् ।

उनले भने, ‘पार्टीमा केन्द्रीय समितिमा देउवाको जस्तो शक्ति छ प्रेस युनियनमा हाम्रो बल त्यस्तै छ’, ती पदाधिकारीले भने । पार्टी केन्द्रीय समितिमा देउवाको शक्ति ८२ प्रतिशत छ ।

त्यसअघि संस्थापन पक्षका बद्री सिग्देल प्रेस युनियनको अध्यक्ष थिए । प्रेस युनियनको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।

फुटबाट जोगाउन महाधिवेशन स्थगित

प्रजातन्त्रवादी प्राध्यापक संघमा समानान्तर महाधिवेशन आयोजना गरिएपछि दुवैतर्फले महाधिवेशन रोकेका छन् । जेठ १९ र २० मा पाँचौं महाधिवेशन गर्ने तयारी दुई पक्षले गरेका थिए । प्राध्यापक संघलाई फुटबाट जोगाउन संस्थापन र इतर दुवै पक्षले महाधिवेशन स्थगित गरेका छन् ।

प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना पक्षले बोलाएको महाधिवेशनको विरुद्धमा महासचिव राजेन्द्र गौतम पक्षले महाधिवेशन बोलाएको थियो ।

संस्थापन पक्षले प्रज्ञा भवनमा महाधिवेशनको विरुद्धमा अर्को पक्षले कीर्तिपुरमा महाधिवेशन बोलाएको थियो । संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई र इतरले महामन्त्री गगन थापालाई प्रमुख अतिथि बनाएर महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?