३१ असार, काठमाडौं । नेपाली स्टार बलर सन्दीप लामिछाने श्रीलंकाको प्रमुख फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिगको अक्सनमा अनसोल्ड भएका छन् ।
एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाव्वेमा रहेका सन्दीपका लागि बुधबार कोलम्बोमा भएको अक्सनमा प्रतियोगिताका कुनै पनि टिमले बोली लगाएनन् ।
आईपीएल र बिग बाससहित विश्वका प्रमुख लिगको अनुभव लिइसकेका सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार डलर राखेका थिए ।
सन्दीपलाई अघिल्लो संस्करणका लागि दम्बुला औराले करिव ५० लाख रुपैयाँमा खरिद गरेको थियो ।
अगष्टमा हुनुपर्ने प्रतियोगिता सन् २०२२ को डिसेम्बरमा पुग्दा सन्दीप नावालिग बलात्कार आरोपमा कारगार चलान हुँदा खेल्न पाएनन् ।
प्रतियोगिताको आगामी संस्करण ३१ जुलाईदेखि २२ अगष्टसम्म आयोजना हुनेछ ।
सन्दीप र अर्का नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा हुने ग्लोवल टी–२० लिगका लागि भने ड्राफ्टमार्फत छनोट भएका छन् ।
मंगलबार राति भएको ड्राफ्टमा सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले लिएको हो ।
प्रतिक्रिया 4