+
+
दिनेश खड्काको अपराध यात्रा :

धरौटीमा छुटेपछि अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १९:२७

३१ जेठ, काठमाडौं । वान एक्स बेटमार्फत अनलाइन सट्टेबाजी गराउने र क्रिप्टोकरेन्सी काराबोरमा सक्रिय भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेकामा २९ वर्षका दिनेश खड्का पनि छन् ।

कैलाली लम्कीचुहा–१० घर भएका उनी चाबहिलमा बस्छन् । प्रहरीका अनुसार उनले रामविलाश डी थारु, अनिता धिताल लगायतको कागजात प्रयोग गरेर ६३ वटा खाता खोलेका थिए, जसमध्ये १२ वटाबाट ६४ करोड रुपैयाँ कारोबार भएको पाइएको छ ।

अनिताले आफ्नो मोबाइलमा बाइनान्स खाता खोलेर क्रिप्टोकरेन्सी कारोबार गर्ने गर्थिन् । दिनेशले छद्म नामबाट कनेक्ट आईपीएसमा खाता खोलेर कारोबार गर्ने गरेका थिए ।

दिनेश तिनै व्यक्ति हुन्, जो २०७८ माघमा अमेरिकी डलरको अवैध अपचलनको मुद्दामा मुछिएका थिए । नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रुपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गरेको आरोपमा दिनेशसहित उनका दिदी, बाबु र अनिताविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा नै चलेको थियो ।

उनीहरुले तीन महिनामा ३७ करोड ६४ लाखभन्दा बढी नेपाली रुपैयाँलाई डलरमा रुपान्तरण गरेर अनलाइनमार्फत अज्ञात ठाउँमा भुक्तानी गरेको राजश्व अनुसन्धान विभागको दाबी थियो । राजश्व अनुसन्धान विभागले पक्राउ गर्दा नै दिनेश क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आशंका गरिएको थियो ।

विभागका अधिकारीहरुका अनुसार एकातिर २९ दिनभित्र मुद्दा बुझाउनुपर्ने थियो भने तर अनिता पक्राउ नपरेका कारण क्रिप्टोकरेन्सीबारे अनुसन्धान हुन सकेको थिएन ।

मुद्दा दर्ता भएपछि जिल्ला अदालत, काठमाडौं ६ दिन थुनछेक बहस भयो, दिनेश २५ लाख रुपैयाँ धरौटी बुझाए छुटे । दिनेश नै छुटेपछि विभागले थप अनुसन्धान गरेन ।

त्यसको झण्डै डेढ वर्षपछि सट्टेबाजी गराउने र क्रिप्टोकरेन्सी कारोबारको आरोपमा दिनेश र अनिता दुबै पक्राउ परेका छन् । प्रहरीका अनुसार वानएक्स बेटमार्फत अनलाइन सट्टेबाजी गराउने दिनेश मुख्य कारोबारी हुन् ।

आईपीएल लगायतमा अनलाइन बेटिङ गराएको खुलेपछि प्रहरीले झण्डै दुई महिनादेखि उनलाई पछ्याइरहेको थियो ।

मोबाइलको माध्यमबाट लोकेसन ट्र्याक गर्न समेत कठिन भएको थियो । मैजुबहालबाट पक्राउ गर्ने क्रममा पनि उनले चलाखी गर्न खोजेका थिए । प्रहरीलाई देख्नासाथ उनले आफूसँग भएको ल्यापटप फुटाए ।

‘उनी निकै चलाख रहेछन्, प्रमाण लोप गर्न ल्यापपट नै फुटाएका थिए’, कार्यालयका एक अधिकृत भन्छन्, ‘उनका विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २४ वर्षका आशिष लामिछाने चार्टर्ड एकाउन्टेन्ट नै हुन्, जसले अनलाइन बेटिङमा भएको कारोबारको हिसाब किताब राख्ने गरेका थिए । नुवाकोट ककली घर भई नागार्जुन नगरपालिका–२ मा बस्दै आएका उनले विभिन्न बैंकबाट २ करोड ९८ लाख ९५ हजार रुपैयाँको कारोबार गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?