
कोरोना महामारीले दुनियाँका सबै मानिसको मुस्कान खोसिदियो । मानिसहरु भाइरसबाट जोगिनका लागि मास्क लगाउन बाध्य भए । वास्तवमा मास्क अनिवार्य पहिरन जस्तै बन्यो र मानिसहरु मुस्कुराउनै भुल्ने अवस्था आयो ।
कोरोना संक्रमणमा व्यापक रुपमा कमी आएसँगै जापानले गत मे महिनाको सुरुदेखि नै मानिसहरुले मास्क लगाउनुपर्ने नियम हटाएको छ । तर सरकारी नियम हटेपनि मानिसहरु मास्क नलगाइकन घरबाहिर निस्किन डराइरहेको देखिन्छ । जसका कारण धेरै मानिसको अनुहारबाट मास्क हटेको छैन । मानिसको अनुहारबाट मास्क नहट्नुको एउटा कारण भाइरसको डर त हो नै तर अर्को कारण चाहिं उनीहरुलाई आफूले मुस्कुराउनै बिर्सेको जस्तो अनुभूति पनि भएको छ ।
मुस्कुराउनै बिर्सेका जापानीहरु आफ्नो अनुहारमा मुस्कान फिर्ता ल्याउन चाहन्छन् जसका लागि उनीहरुले मुस्कुराउने तालिम लिन थालेका छन् ।
आफ्नो मास्क हटाएर सार्वजनिक रुपमा अनुहार देखाउनुभन्दा अगाडि उनीहरू मुस्कुराउने अभ्यासका साथै अन्य अनुहारजन्य भावभंगीहरुको समेत अभ्यास गरिरहेका छन् ।
जापानमा पछिल्लो समयमा मुस्कुराउन अभ्यास गराउने सेमिनारहरु प्रसस्तै आयोजना हुने गरेका छन् । तन्नेरीदेखि वृद्धसम्म र ठूलो संख्याका महिलाहरु समेत मुस्कुराउन सिकाउने उक्त तालिममा सहभागी भैरहेका छन् ।
धेरै जापानीहरु आफ्नो मुस्कान नक्कली पो देखिने हो कि भनेर चिन्तित छन् भने कतिपय करिब तीन वर्षदेखि मास्कले छोपेको आफ्नो अनुहारको तल्लो भाग नौलो मान्छेहरुलाई देखाउनै डर तथा लाज मानिरहेका छन् ।
जसका कारण आत्तिएका जापानीहरु विज्ञहरुको शरणमा पुगेका छन् जसले उनीहरुलाई अनुहारमा पूर्ण मुस्कान तथा ठीक खालको भावभंगी कसरी ल्याउने भन्ने सिकाउँछन् ।
राजधानी टोक्योभन्दा दक्षिणमा पर्ने योकोहामा चलिरहेको यस्तै एउटा तालिम कक्षामा सहभागीहरुले सुरुमा आफ्नो तनाव कम गर्नका लागि सरीर तन्काउँछन् । त्यसपछि उनीहरुले हातले समाएको ऐना माथि उठाउँछन् र आफ्नो मास्क बिनाको अनुहार कस्तो छ भन्ने कुरा मास्क हटाउँदै हेर्दछन् ।
इगाओइकु अर्थात् मुस्कान शिक्षा नामक उक्त तालिम संचालन गर्ने केइको कावानोका अनुसार मानिसहरुको मुहारमा मुस्कान हुनु आवश्यक छ । उनका अनुसार कसरी मुस्कुराउने भन्ने कुरा सिक्दा केवल व्यक्तिको व्यक्तिगत देखावटमा मात्र होइन उसको सोंचाइमै परिवर्तन आउँदछ ।
जापानको टोक्योस्थित वृद्धवृद्धाको केयर सेन्टरमा पनि यस्तै खालको मुस्कुराउने तालिम कक्षा संचालन गरिएको थियो । उक्त कक्षाबाट आफुले मुस्कान कतिधेरै महत्वपूर्ण छ भन्ने कुरा सिकेको ७९ वर्षीया अकिको ताकिजावा बताउँछिन् ।
चम्किंदै व्यवसाय
जापानमा पछिल्लो समय मुस्कान व्यवसाय चम्किंदै गएको छ । इगाओइकुले मास्क हटाउने नियम लागू नहुँदैबाट त्यस्तो सत्र सञ्चालन गर्ने गरेकोमा गत फेब्रुुअरीदेखि सहभागीको संख्या साढे ४ गुणाले बढेको छ ।
इगाओ प्रशिक्षक संघ नामक कम्पनी सञ्चालन गर्ने कावानोका अनुसार उनले हालसम्म कम्तिमा ४ हजार जनालाई कसरी मुस्कुराउने भनेर तालिम दिइसकेकी छिन् । उनका अनुसार ७ सय जना मानिसहरु प्रमाणित मुस्कान विज्ञ बनिसकेका छन् ।
उनले सन् २०१७ देखि नै जिमखानामा कसरी मुस्कुराउने भनेर सिकाउन थालेकी थिइन् । उनका अनुसार आँखाभन्दा मुनिका मांसपेशीहरु निकै महत्वपूर्ण हुन्छन् जो मुस्कुराउँदा सक्रिय बन्दछन् ।
उनले नर्सिङ होम, कर्पोरेट अफिस लगायतका विभिन्न ठाउँहरुमा पनि मुस्कान तालिम दिइसकेकी छिन् ।
मुस्कानले आफ्नो व्यवसायिक तथा वैवाहिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने ठम्याइ मानिसहरुको रहेको उनी बताउँछिन् ।
त्यस्तै मिहो किटानो पनि मुस्कान प्रशिक्षक हुन् । टोक्योमा उनको संस्था स्माइल फेसियल मसल एसोसिएसनले हालसम्म तीन हजारभन्दा धेरैलाई तालिम दिइसकेको छ ।
प्रतिक्रिया 4