+
+

अस्तव्यस्त छ हिमाली जनजीवन : ‘समयमा न हिउँ पर्छ न पानी’

हिमाली वातावरणमा देखिएको परिवर्तनको प्रत्यक्ष असर यस क्षेत्रमा बसोबास गर्ने मानिसको आर्थिक अवस्थामा परेको छ । भूगोल र मौसम दुवै कष्टसाध्य हुने हिमाली जीवन मौसममा आएको यो अप्रत्यासित परिवर्तनले झन् दुरुह बनेको छ ।

डा.अच्युत तिवारी लेक्चरर, वनस्पति विभाग डा.अच्युत तिवारी लेक्चरर, वनस्पति विभाग
२०८० असार १ गते ९:३३

जलवायु परिवर्तनले निम्त्याएको वातावरणीय परिवर्तनले उच्च हिमाली भेगको पर्यावरणीय चक्र बिथोलेको छ । हिमाली जनजीवन अस्तव्यस्त भएको छ । पर्यावरण, मौसममा आएको फेरबदलले हिमाली क्षेत्रको प्राकृतिक र मानवीय जीवनलाई असर गरिरहेको छ ।

उच्च हिमाली क्षेत्र विशेषगरी ४ हजार मिटर भन्दा माथि तापक्रम बढ्ने दर अन्यत्रको तुलनामा बढी छ । तराई र हिमालको तुलनामा हिमालय क्षेत्रमा तापक्रम बढ्ने दर धेरै छ । ‘ग्लोबल वार्मिङ’का कारण हिमाली क्षेत्रको तापक्रममा वृद्धि हुँदैछ । जति उचाइ बढ्दै जान्छ त्यति नै तापक्रम बढ्ने दर पनि बढिरहेको भेटिन्छ ।

उदाहरणका लागि तराईका लागि १२ डिग्री सेल्सियस तापक्रम सामान्य हो तर, त्यही तापक्रम नाम्चेका लागि जोखिमपूर्ण भइदिन्छ । अर्थात् उच्च हिमाली भेगमा थोरै मात्र तापक्रम बढे पनि त्यो त्यहाँको पर्यावरणीय र अर्थ–सामाजिक जीवनका लागि घातक हुन्छ ।

हिमाली क्षेत्रको पर्यावरण निकै संवेदनशील हुन्छ । त्यसकारण माथिल्लो भेगमा तापक्रम बढेसँगै त्यहाँको ‘इको सिस्टम’मा अस्वाभाविक परिवर्तन आएको छ । माथिल्लो उचाइमा बोटबिरुवा, बालीनाली उम्रिनका लागि जमिनको आद्र्रता, चिस्यान निकै महत्वपूर्ण हुन्छ । उच्च हिमाली भेगमा उम्रिने बुट्यान, बोटबिरुवा, बालीनालीको विकास अवधि निकै छोटो हुन्छ ।

उच्च हिमाली भेगमा हिउँ पग्लिन सुरु भएसँगै त्यहाँ बोटबिरुवाको विकास सुरु हुन्छ । हिउँ पग्लिने समय सकिएसँगै त्यहाँ पानी र हिउँ पर्न सुरु हुन्छ । त्यसकारण यो छोटो समय हिमाली पर्यावरणका लागि महत्वपूर्ण र संवेदनशील हुन्छ ।

तापक्रम बढ्ने, समयमा पानी र हिउँ नपर्ने भएमा माटोमा भएको चिस्यान र आद्र्रता हराउँछ । यो आद्र्रता भएन भने हिमाली भेगमा बोटबिरुवा उम्रिन सक्दैनन् । मौसमी चक्रमा भएको गडबडीले हिमाली भेगमा जडीबुटी, बोटबिरुवा र बालीनालीको उत्पादन अप्रत्यासित भइरहेको छ ।

उदाहरणका लागि अघिल्लो वर्ष दशैंसम्म पानी पर्यो । यो पानीले मनाङमा बाढी आयो । हिमाली भेगमा बाढी आउनु विरलै हुने घटना हो । तर, त्यसपछि हिउँदमा भने पानी र हिउँ दुवै परेन । हिउँदमा पर्नुपर्ने पानी वैशाखमा पर्यो । हिमाली भेगमा अहिलेसम्म हिउँ परिरहेको छ ।

यो मौसमी परिवर्तन २५ देखि ३० वर्षसम्म निरन्तर यस्तै रह्यो भने हामी यसलाई जलवायु परिवर्तन भन्न सक्छौं । तर, अहिले नै जलवायु परिवर्तन भन्न सक्ने गरी पर्याप्त अध्ययन हामीसँग छैन । त्यसैले यसलाई हामी वातावरणीय परिवर्तन भन्छौं । यो परिवर्तन हुनुका पछाडि जलवायु परिवर्तन नै मुख्य कारण भने हो ।

झरी, बर्खा सुरु हुने बेला भइसक्दा पनि पानी परेको छैन । तराई, पहाडमा झरी, बर्खा केही दिन ढिला गरी सुरु हुँदा पनि ठूलो असर पर्दैन । तर, हिमाली क्षेत्रमा भने केही दिन मात्र ढिला वा चाँडो हुँदा मात्र पनि त्यहाँको पर्यावरणमा असर पर्छ ।

पछिल्लो समय हिमाली क्षेत्रमा ‘क्लाउड कभरेज’मा समेत परिवर्तन देखिएको छ । पहिला, पहिला हिमाली क्षेत्रमा अधिकांश समय धुम्म बादल लागिरहन्थ्यो । फिरफिर पानी परिरहन्थ्यो । हिमाली क्षेत्रमा छ्याङ्गै खुलेको आकाश मुस्किलले देखिन्थ्यो ।

तर, आजभोलि भने अधिकांश समय हिमाली क्षेत्रमा बादल देखिंदैन । धेरैजसो समय छ्याङ्गै खुलेको आकाश र हिमाल देखिन्छन् । जमिनमा भएको आर्द्रता, चिस्यान सबै समाप्त भएपछि यस्तो हुन्छ । जमिनमा हुने चिस्यान र आद्र्रताले हिमाली क्षेत्रमा बादल बनाउने काम गर्छ । तर, मौसमी चक्रमा देखिएको परिवर्तनले हिमाली क्षेत्रको आद्र्रता, चिस्यान हराउँदै गएको छ ।

जमिनको आद्र्रता र चिस्यान बढिरहेको तापक्रमका कारण उडेर गयो । अर्कोतिर बोटबिरुवाले पनि जमिनबाट पर्याप्त आद्र्रता पाएनन् । यसकारण माथिल्लो भेगमा बोटबिरुवा नसप्रिने, मर्ने र जमिन सुख्खा भइरहेको  छ ।

तापक्रम बढ्नु मात्र समस्या होइन, तापक्रम बढेसँगै त्यसलाई चिस्याउन हिउँ र पानी पनि कम पर्न थाल्यो । प्रचण्ड गर्मीमा परेको पानी र हिउँले तातेको जमिनमा चिस्यान बनाउन सक्दैन । जसका कारण हिमाली क्षेत्रका बोटबिरुवाको विकास हुने, फुल्ने, फल्ने चक्र बिथोलिएको छ ।

हाम्रो हिमालय क्षेत्रका लागि मार्च, अप्रिल, मे महिना निकै महत्वपूर्ण र संवेदनशील हुन् । यो माघे झरी सुरु भएर हिउँ पर्ने समय हो । पहिला झरी परेर जमिन चिसिन्छ । त्यसमाथि बाक्लो हिउँ पर्छ । यसरी परेको हिउँले जमिनको चिस्यान जोगाइराख्ने ज्याकेटको काम गर्छ । त्यसपछि विस्तारै हिउँ पग्लिन सुरु हुन्छ र जमिनमा फेरि चिस्यान कायम हुन्छ ।

तर, आजभोलि भने मे महिनाको अन्तिमतिर पानी पर्छ । त्यसपछि गर्मी बढ्छ र हिउँ पर्न थाल्छ । गर्मी बढेसँगै हिमाली जमिनको चिस्यान उडेर जान्छ, तातेको जमिनमा परेको हिउँले आद्र्रता जोगाउन सक्दैन ।

जेठमा समेत हिउँ परिरहेको छ । यो समयमा परेको हिउँ, पानी हिमाली पर्यावरणका लागि उपयोगहीन हो । समयमा पानी, हिउँ पर्यो भने हिमाली क्षेत्रको बालीनाली, पशु चौपायालाई जोगाउन सहज हुन्छ । तर, समय भन्दा पहिला वा पछि हिउँ, पानी पर्यो भने त्यस क्षेत्रको बालीनाली, पशुचौपायालाई जोगाउन मुस्किल हुन्छ ।

हिउँको सट्टा पानी मात्रै पनि पर्न थालेको छ । हिमाली क्षेत्रमा अत्यधिक पानी पर्नु निको होइन । भिरालो जमिन हुने र ठूला बोटबिरुवा नहुने हुँदा हिमाली क्षेत्रमा धेरै पानी पर्यो भने पानीसँगै माटो पनि बगेर जान्छ । कतिपय ठाउँमा त पहिरो र बाढीको समेत जोखिम हुन्छ ।

यसरी तापक्रम बढेको बढ्यै गर्ने, समय अघि वा पछि हिउँ र पानी पर्ने अनि उच्च हिमाली भेगको वातावरणीय चक्रमा परिवर्तन आउने भइरहेकोले यहाँको जनजीवनलाई असर पारिरहेको छ ।

यार्सागुम्बाको अवस्था झन् जटिल छ । किनभने यो वनस्पति मात्रै होइन, यो कीरा र ढुसीको मिश्रण हो । यसका लािग त कीरा र ढुसी दुवैलाई उपयुक्त हुने तापक्रम, आद्र्रता र चिस्यान चाहिन्छ । मौसममा आएको परिवर्तनले यार्सागुम्बाका लागि उपयोगी माहोल हराएको छ । दुई फरक प्रजातिको संयोजनको रूप भएको हुँदा यार्सागुम्बालाई वातावरणमा देखिएको परिवर्तनले धेरै असर पारेको छ ।

समग्रमा हिमाली वातावरणमा देखिएको परिवर्तनले जडीबुटी, बालीनाली र पशुचौपायाका भरमा गुजारा गर्ने मानिसहरूलाई मार परेको छ । पाटनमा घाँस पाइन छाडेको छ । हिउँ र पानी पर्ने समयमा देखिएको परिवर्तनले बालीनाली, जडीबुटीको उत्पादनमा कमी भएको छ ।

यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको आर्थिक अवस्थामा परेको छ । भूगोल र मौसमले नै कष्टसाध्य हुने हिमाली जीवन मौसममा आएको अप्रत्यासित परिवर्तनले झन् दुरुह बनेको छ ।

(त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका लेक्चरर तिवारीसँग अनलाइनखबरका लागि सागर चन्दले गरको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?