
कोशी प्रदेशको पहाड र तराईको सेतु र संगमको रूपमा रहेको, विविध सांस्कृतिक विविधता भएको, महाभारतकालीन इतिहास बोकेको शहरको नाम हो, धरान । धरान पहाडेहरू तल ओर्लन थालेपछि बसेको शहर हो । यिनीहरू धराने कहलाउँछन्, तर पूर्वब्रिटिश सैनिकको बाहुल्य रहेकोले धरानलाई लाहुरेको शहर पनि भनिन्छ ।
देशमा वि.सं. १९५० तिर जङ्गल फँडानी गरेर बस्ती बसाउन सुरु भएसँगै धरानको पनि कायाकल्प हुन थालेको हो । वि.सं. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.सं. १९९० तिर श्री ३ जुद्धशमशेरले जुद्धनगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।
वि.सं. २०१० मा पूर्वाञ्चलका लागि ब्रिटिश गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भएपछि यहाँ बसोबास तथा चहल-पहल बढेको हो । २०१७ सालमा धरान नगरपालिका घोषणा भयो । धरान ऐतिहासिक रूपमा विजयपुर राज्यको क्षेत्र थियो ।
नेपाल एकीकरणअघि पश्चिममा पाल्पा तथा पूर्वमा मकवानपुरदेखिको तराई सेन शासकहरूको अधीन थियो । पन्ध्रौं शताब्दीतिर मकवानपुरका राजा हरिहर सेनले आफ्ना दुई रानीबीचको राजनीतिक संघर्षका सामु घुँडा टेक्दै उनीहरूका राजकुमारहरूलाई राज्य भूभाग बण्डा गर्नुपर्यो । कोशीदेखि पश्चिमको भूभाग कान्छा छोरा शुभसेनको र कोशीदेखि पूर्व मोरङसम्मको इलाका जेठा छोरा छत्रपति सेनको भागमा पर्यो । कोशी पूर्वको इलाकाको नाम विजयपुर पर्यो । यही विजयपुरको एक डाँडामा पौराणिक दन्तकाली शक्तिपीठ अवस्थित छ । वर्तमान समयमा यो डाँडा धरान उपमहानगरपालिका वडा नंं. १४ मा पर्दछ । विजयपुर डाँडाको केन्द्रमा अवस्थित दन्तकाली सेन शासकको इष्टदेवी थिइन् ।
विजयपुरको दन्तकालीबाट धरान बजारको रमणीय दृश्य देख्न सकिन्छ । समुद्र सतहदेखि ११ सय ४५ फिट उचाइमा अवस्थित दन्तकाली शक्तिपीठमा उभिएर मोरङ, उदयपुर, सुनसरी, सप्तरी जिल्लाका भूभाग पनि हेर्न सकिन्छ ।
यहाँबाट प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्ष तथा सप्तकोशी नदीकोे मनोरम दृश्यको आनन्द लिन सकिन्छ । दन्तकाली शक्तिपीठ एक तीर्थस्थल मात्र होइन, प्रकृतिको सुन्दरतम भूभाग पनि हो । यस पीठमा देवी सतीको दाँतको पूजा हुँदै आएको छ । यहाँ देवी सतीको दाँतको प्रतीक स्वरूप कालो प्रस्तर स्थापित छ ।
पौराणिक आख्यान अनुसार देवी सती भगवान शिवको एक सय सातौं पटकमा अवतरित भएकी पत्नी थिइन् । सृष्टिको रचना गर्ने क्रममा शिव र सती स्वयंबाट अलग हुन पुगेका थिए । तर सृष्टिको पूर्णताका लागि उनीहरूको पुनर्योग अपरिहार्य थियो ।
शिवका साथ एकाकार हुन देवी सती बारम्बार अवतरित भइन् तर हरेक पटक कुनै न कुनै प्रतिकूलताका कारण योग सम्भव हुन सकेन । एक सय सातौं पटकमा सती ब्रहृमाका मानसपुत्र दक्ष प्रजापतिकी पुत्रीको रूपमा अवतरित भएकी थिइन् । दक्ष प्रजापति शिवसँग सतीको परिणय गराउन वचनबद्ध थिए तर शिवले ब्रहृमाको पाँचौं शिरको छेदन गरिदिएका कारण दक्ष प्रजापति शिवलाई तिरस्कार गर्न पुगेका थिए ।
दक्ष प्रजापतिको अनिच्छाका बावजूद शिव र सती परिणय सूत्रमा बाँधिए । तर प्रतिकूल कालचक्रका कारण सती शिवदेखि यस पटक पनि अलग हुन पुगिन् । कारण के उत्पन्न भयो भने दक्ष प्रजापतिले आयोजना गरेको एक यज्ञमा शिवलाई आमन्त्रित गरेनन् । निमन्त्रित नहुँदानहुँदै र भगवान शिवले त्यहाँ जानु उचित छैन भनी भन्दाभन्दै पनि सती पिताद्वारा आयोजित यज्ञमा सरिक हुन पुगिन् । तर दक्ष प्रजापतिले सतीको उपस्थितिलाई रुचाएनन् र क्रोधमा शिवको निन्दा पनि गरे ।
आफ्नै अगाडि पिताले आफ्नो पतिको निन्दा गरेकोमा सतीले दक्ष प्रजापतिको यज्ञलाई ध्वंस पारिदिइन् र अब शिवलाई आफ्नो मुख देखाउन सक्दिनँ भन्दै आफू पनि क्रोधाग्निमा जलेर भष्म भइन् । उक्त घटनाबाट शिव क्रुद्ध र विक्षिप्त भए । क्रोधवश उनले भैरव वीरभद्रलाई पठाई दक्ष प्रजापतिको शिरच्छेदन गराए । र, आफू विक्षिप्तताकै अवस्थामा सतीको भष्मीभूत शरीर बोकेर जताततै विचरण गर्न थाले ।
सतीको वियोगमा उनको शव लिएर शिव विक्षिप्ततामा विचरण गरेको कल्पौं बितिसक्यो तर शिव विक्षिप्तताबाट मुक्त नहुँदा सृष्टिको सन्तुलन नै प्रभावित भइरहेको अवस्था भगवान विष्णुले शिवले सतीको शव बोकी रहँदासम्म उनको विक्षिप्तता समाप्त हुन नसक्ने विचार गर्दै शिवलाई सतीबाट भौतिक रूपमा मुक्त गर्न आफ्नो सुदर्शन चक्र चलाए ।
शिव जता जता जान्थे चक्र उतै उतै गएर सतीको अंगमा प्रहार गर्ने गथ्र्यो, र सतीको कुनै न कुनै भाग शरीरबाट अलग भएर धरतीमा पतन हुन्थ्यो । यस प्रकारले सुदर्शन चक्रको पटक-पटकको प्रहारबाट सतीको एक-एक अंग काटिंदै धरतीमा पतन हुँदै गई आफ्नो हात रित्तो भएको आभास भएपछि शिव झस्केर उनले समस्त घटनाक्रम स्मरण गर्दै गए र क्रमशः उनको विक्षिप्तता पनि हट्दै गयो ।
शिवपुराणका अनुसार यसरी सतीका अंग-प्रत्यंग अलल हुँदै धरतीको ५१ स्थानमा जहाँ-जहाँ झरेको थियो ती-ती स्थानमा पुगेर भगवान शिवले सतीको ती अंगहरूलाई विधिवत् प्रतिष्ठापित गरी शक्तिपीठ स्थापना गरेअनुसार लोक संसारले ती-ती स्थानलाई तीर्थको रूपमा देवी सतीको आराधना गर्न थाले । देवी सतीको तिनै ५१ शक्तिपीठमध्येको एक दन्तकालीलाई मानिएको छ । दन्तकालीमा सतीको दाँत झरेको मान्यता छ । यस आख्यानको चर्चा स्वस्थानी व्रत कथामा पनि गरिएको पाइन्छ ।
विजयपुर डाँडाको दन्तकाली शक्तिपीठको चर्चा रुऽाक्षारण्य माहात्म्यमा पनि गरिएको पाइन्छ । दन्तकाली मन्दिरमा आराध्य विग्रह दन्तशिला हो, जो सती देवीको दाँत हो । त्यसै कारणले यस पीठलाई दन्तकाली भनिएको हो । काली स्वयं देवीकै सहस्र रूपमध्येको एक रूप हो ।
देवी सती नै १०८औं अवतरणको रूपमा पार्वती भइन् । देवी सती नै देवी पार्वतीको रूपमा अवतार लिएर शिव र शक्तिको पुनर्योगको यात्रालाई पूर्णता प्रदान गरिन् । पार्वती, उमा वा गौरी मातृत्व, शक्ति, प्रेम, सौन्दर्य, सद्भाव, विवाह, सन्तानकी देवी हुन् । देवी पार्वती अनेक नामले जानिन्छिन् ।
यिनी सर्वोच्च सनातन देवी परमेश्वरी आदि पराशक्ति -शिवशक्ति) की साकार रूप हुन् र शाक्त सम्प्रदाय वा हिन्दु धर्ममा एक उच्चकोटि वा प्रमुख देवी हुन् र उनको अनेक गुण, रूप र लीला छन् । उनको प्रत्येक लीलालाई एक अलग नामका साथ व्यक्त गरिन्छ, जसलाई सहस्र नाम स्तोत्रको रूपमा पाठ गरिन्छ । लक्ष्मी र सरस्वतीका साथ, उनी त्रिदेवीको स्वरूपलाई प्रत्यक्ष गर्दछिन् ।
माता पार्वतीले पर्वतराज हिमालय -हिमाचल) र महारानी मैनाको एक मात्र पुत्रीको रूपमा जन्म लिएकी हुन् । माता पार्वती कार्तिकेय, गणेश, अशोकसुन्दरी, ज्योति र मनसा देवीकी सहोदर आमा र अय्यप्पाको सौतेली माता हुन् । शिव पुराणमा उनलाई भगवान श्री विष्णुको बहिनी मानिएको छ ।
देवी पार्वती नै ब्रहृमाण्डको मूल प्रकृति र कारण रूप हुन् । शिवलाई चेतना र पार्वतीलाई ऊर्जा -शक्ति) मानिएको छ । पार्वती माता जगतजननी तथा परब्रहृमस्वरुपिणी हुन् । उनी नै रक्तबीज असुरको अन्त्य गर्न निमित्त कालीको रूपमा अवतरित भइन् ।
ललिता सहस्रनाममा देवी पार्वतीलाई ललिता नामले चित्रित गरिएको छ । स्कन्दपुराणका अनुसार, देवी पार्वतीद्वारा दुर्गमसुरको बध गरिएकाले देवी पार्वतीको नाम दुर्गा हुनगयो । रामायणमा देवी पार्वतीलाई उमा नामले पनि सम्बोधित गरिएको छ ।
देवी पार्वतीलाई अपर्णाको रूपमा पनि सम्बोधन गरिएको छ, जो सबैको भरणपोषण गर्दछिन् । देवी पार्वती अम्बिका (प्रिय आमा), शक्ति (शक्ति), महेश्वरी (महान देवी), दुर्गा (अजेय), भैरवी (क्रूर), भवानी (उर्वरता) आदि नामले जानिन्छिन् । पार्वती प्रेम र भक्तिकी देवी हुन् वा कामाक्षी ! प्रजनन, बहुतायत र भोजन/पोषणकी देवी अन्नपूर्णा भनिएको छ ।
देवी पार्वती एक क्रूर काली र महाकाली पनि हुन् जो खड्ग धारण गर्दछिन्, गम्भीर मुण्डमाला धारण गर्दछिन् । कालीको रूपमा उनी आफ्ना भक्तहरूको रक्षा गर्दछिन् र दुनियाँ एवं चराचरलाई दुर्दशा गर्ने सबै नकारात्मकतालाई नष्ट गर्दछिन् । देवी पार्वतीलाई स्वर्ण, गौरी, काली वा श्यामाको रूपमा सम्बोधित गरिन्छ, यिनको एक शान्त रूप गौरी हो भने अर्को भयंकर रूप काली हो ।
महाकाली पार्वतीको सर्वाधिक उग्र रूप हो, यसले समय र परिवर्तनकी देवीको रूपमा, साहस र सांसारिक प्रलयको प्रतिनिधित्व गर्दछ । काली, दश महाविद्यामध्ये पहिलो विद्याको रूपमा प्रतिष्ठित छ । कालीलाई दक्षिणमा भऽकाली र उत्तरमा दक्षिणकालीको रूपमा पूजा गरिन्छ । सम्पूर्ण भारतवर्षमा उनलाई महाकालीको रूपमा पूजा गरिन्छ ।
उनी त्रिदेवीको एक देवी र त्रिदेवीको स्रोत पनि हुन् । उनी परब्रहृमकी पूर्ण शक्ति हुन्, किनभने उनी सबै प्राण ऊर्जाकी जननी हुन् । उनी आदिशक्तिको सक्रिय रूप हुन् । उनले तीन गुण (सत, रज, तम) मध्ये तमस गुणको प्रतिनिधित्व गर्दछिन् । उनी तीनवटै गुणदेखि पर पनि छिन् । महाकाली शून्य अन्धकार (ब्ल्याक हल) को भौतिक रूप हो, जसमा ब्रहृमाण्ड स्थित छ, र अन्त्यमा महाकाली सबै कुरा आफैंभित्र समाहित गरी लिन्छिन् । उनी त्रिशक्तिको क्रिया शक्ति र अन्य शक्तिका स्रोत पनि हुन् । उनी कुण्डलिनी शक्ति हुन्, जो प्रत्येक जीवनको मूलमा अन्तर्निहित रहन्छ ।
विशेष रूपमा उल्लेख गर्ने हो भने तन्त्र सिद्धिको देवी यिनै काली देवी हुन् । सनातन धर्मको साक्त सम्प्रदायका अतिरिक्त तान्त्रिक बौद्ध र अन्य सम्प्रदायमा पनि कालीको पूजा-आराधना गरिन्छ । तान्त्रिक बौद्ध धर्ममा भयानक रूपवाली योगिनी, डाकिनी जस्तो कि बज्रयोगिनी र क्रोधकालीको आराधना गरिन्छ । विजयपुर डाँडा निश्चय पनि प्राचीन कालको तन्त्रसिद्धि स्थल रहेको हुनुपर्छ त्यसैले यहाँको शक्तिपीठलाई देवी कालीको स्वरूपमा आराध्य र साधेय बनाएको छ अर्थात् दन्तकालीको रूपमा ।
दन्तकालीमा सधैं नै भक्तजनको घुइँचो हुन्छ तर शनिबारका दिन भने मन्दिर परिसर दर्शनार्थी र भक्तजनले भरिएको हुन्छ । शनिबार नियमित सार्वजनिक बिदाको दिन भएकोले भक्तजन तथा पर्यटकका लागि अनुकूल पर्ने भएकोले धरानवासीको उल्लेखनीय उपस्थिति हुन्छ । टाढा-टाढाका भक्तजन देवीको दर्शनका लागि यहाँ आउँछन् ।
यहाँ हरेक वर्ष बडा दशैं (नवरात्रि) को नौरथामा मेला लाग्दछ । त्यस्तै तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । वर्षको चार नवरात्रिमध्ये दोस्रो नवरात्रि माघको शुक्लपक्ष (जसको पञ्चमी तिथिमा श्रीपञ्चमीको रूपमा देवी सरस्वतीको आराधना गरिन्छ) मा पनि भक्तजनको विशेष उपस्थिति रहने गर्दछ ।
दन्तकाली मन्दिरको भौतिक अवस्था वि.सं. २०३५-३६ सम्म साधारण नै थियो तर पछि भव्य तले शैलीको मन्दिर बनाइएको छ । तीनतले नेपाली शैलीमा निर्मित यस मन्दिरको छानामाथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्तकालीमा बोका, राँगा पशु बलि दिने प्रचलन छ । यहाँ आसपासका क्षेत्रमा दन्तकालीका साथै बुढासुब्बा, पिण्डेश्वर महादेव, पञ्चकन्या देवस्थल पनि छन् । साथै विजयपुर डाँडाको रमणीय प्रकृतिले पर्यटकलाई सहजै आकषिर्त गरिरहेको हुन्छ । वस्तुतः सम्पूर्ण विजयपुर नै पर्यटकीय दृष्टिले महत्वपूर्ण छ ।
दन्तकाली भेगबाट रमणीय धरान बजारको सम्पूर्ण भू-भाग, माथि महाभारतका हरियाली फाँट र तल तराईका फाँट तथा चारकोसे झाडीको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पर्यटन विकासका दृष्टिले यस भेगको विशेष महत्व छ ।
धरान पहाड र तराईको संगमस्थल मात्र होइन, पहाडी जिल्लाहरूको प्रवेशद्वार पनि हो । यहाँको हावापानी मनोरम छ । न बढी गर्मी, न धेरै ठण्डा हुने ठाउँ भएकोले धरानमा पहाड र तराई दुवैतिरका स्वदेशी र विदेशी पर्यटकको आवागमन भइरहेको हुन्छ । खासगरी धरान मन्दिर नै मन्दिरको शहर भएकोले धार्मिक पर्यटकको संख्या पनि राम्रै रहन्छ । धरानका धार्मिक तथा ऐतिहासिक स्थलहरू तथा आसपासका धार्मिक तथा पर्यटकीय स्थलहरूले यहाँको पर्यटकीय सम्भावनालाई बढाएको छ ।
धरानको सिरान मानिने विजयपुर डाँडा र डाँडामा रहेका मठमन्दिरहरूमा समय-समयमा लाग्ने मेला, बाह्रै मास चिसो हावापानी पाइने भेडेटार, बेलायतका राजा चाल्र्स युवराज रहेका बेला चढेको पहाड ‘चाल्र्स प्वाइन्ट -भेडेटार भ्यूटावर)’, भत्ताभुंगे दरबार आदि धरानको सौन्दर्य झल्काउने गहना हुन् । धरान आसपासका वराहक्षेत्र, विष्णुपादुका, रामधुनी, पञ्चायनधाम आदिले पनि धरानको विशिष्टता झल्काउँछन् । कोशी टप्पु वन्यजन्तु आरक्ष र धरानबीच पनि पर्यटकीय सम्बन्ध छ ।
विजयपुरमा मात्रै पचासौं मन्दिर छन् । यो स्थान पुरातात्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ । इतिहासकार इमान सिंह चेम्जोङका अनुसार विजयपुरका राजा विजय नारायण राय खेवाङको पालामा लिम्बुवान -पल्लो किरात) राज्यको राजधानी थियो । राजा विजय नारायणको नामबाट नै विजयपुर नाम रहन गएको मानिन्छ । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चायन धरानका प्रसिद्ध धर्मस्थल हुन् ।
गादी गणेश मन्दिर, चन्द्रेश्वर शिव मन्दिर, बालम्बा भगवती मन्दिर, भीमसेन मन्दिर, विन्ध्यवासिनी मन्दिर, साहिली बाहिनी मन्दिर, गुप्तवासिनी देवी, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, श्रीराम मन्दिर, लक्ष्मीनारायण मन्दिर, बलभऽेश्वर शिवालय, सिंहदेवी भगवती आदि मन्दिर पनि चर्चित छन् ।
बुढासुब्बा मन्दिर दन्तकाली मन्दिरदेखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको छ । बुढासुब्बा किराती र गैरकिराती दुवैका लागि महत्वपूर्ण छ । मन्दिरभित्र दुईवटा माटाका ढिस्का छन्, त्यस ढिस्कालाई नै बुढासुब्बाको प्रतीक मानेर पुज्ने गरिन्छ । बुढासुब्बालाई हिन्दुहरूले किराँतेश्वर महादेवको रूपमा पनि पुज्ने गरेका छन् । बुढासुब्बामा शनिबारका दिन ठूलो भीड रहन्छ र यस दिन बुढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ ।
बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् ।
त्यसका कारण बुढासुब्बाले शिकार खेल्न छोडे र आˆनो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढासुब्बाले त्यहीं ध्यान गरे । ध्यानस्थल पछि उनको समाधिस्थल बन्यो । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउमै छ । तर इतिहासकार इमानसिंह चेम्जोङका अनुसार बुढासुब्बा मोरङका अन्तिम लिम्बू राजा बुद्धिकर्ण राय खेवाङकोे समाधिस्थल हो ।
टुप्पो नभएको बाँस बुढासुब्बाको अर्को विशेषता हो । यहाँ टुप्पा नभएका बाँस उमि्रन्छन् । बूढासुब्बाले गुलेलीले मट्यांग्रा हानेर टुप्पा भाँची दिएदेखि टुप्पारहित बाँस उमि्रन थालेको भनिन्छ । बाँसमा नाम लेख्दा माया-प्रेम सफल हुने किंवदन्ती रहेकाले युवक-युवतीले बाँसमा नाम लेख्ने गरेका थिए । तर नाम लेख्ने क्रम बढेसँगै मर्न थालेपछि बाँसको संरक्षणका लागि नाम लेख्न रोक लगाइएको छ । प्रेमीहरू अहिले बाँसमा नाम लेख्नुको विकल्पमा धागो बाँध्ने चलन छ ।
पिण्डेश्वर मन्दिर विजयपुरको अर्को चर्चित मन्दिर हो । स्कन्दपुराणमा पिण्डेश्वरको चर्चा छ । पिण्डेश्वरलाई रुद्राक्षको वनका रूपमा रुद्राक्षारण्य भनिएको छ । देव-दानव समूद्र मन्थन घटनामा निस्किएको अमृत कलश देवताहरूले दानवबाट जोगाई यस स्थानमा ल्याई शिवलिङ्गको रूपमा स्थापना गरेको भनिन्छ । त्यसैले अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा गरिन्छ । यहाँ साउन महिनाभरि सप्तकोशीको चतराघाटबाट जल ल्याई शिवलिङ्गको अभिषेक यस मन्दिरको विशिष्ट चलन हो । चतराघाट यहाँबाट १३ किमि पश्चिममा पर्दछ ।
पिण्डेश्वरमा बालाचतुर्दशी, शिवरात्रि र तीजमा मेला लाग्ने गर्छ । कात्तिक मेलाका अवसरमा वराहक्षेत्र आउने साधुसन्तका लागि पिण्डेश्वरमा हण्डीको व्यवस्था गरिने हुँदा यसको सम्बन्ध वराहक्षेत्रसँग समेत रहेको मानिन्छ । पिण्डेश्वरको एक विशेष सम्बन्ध रामधुनी वनको श्रीराम मन्दिरसँग पनि रहेको छ । यी दुवै स्थानमा अखण्ड दिप बालिएको छ । यी दुई अखण्ड दिपमध्ये कुनै दिप यदाकदा कहिले कुनै नकारात्मकताका कारणले निभ्न गयो भने अर्कोको दिपबाट ज्योति ल्याएर आफ्नो मन्दिरको दिप बाल्ने परम्परा छ ।
पञ्चायन धरानको विशिष्ट धर्मस्थल हो । यो मन्दिर विजयपुर डाँडाको दुर्गम वन क्षेत्रमा अवस्थित छ । यस क्षेत्रमा पञ्चदेवता र पाथीभरा देवीको दुईवटा मन्दिर छन् । मन्दिरमा राम्रा नक्काशीका मूर्तिहरू छन् । जङ्गलमा बाँदरहरू झम्टिइरहन्छन् । भक्तजनले दिने प्रसाद खान तत्पर रहन्छन् । विजयपुरका चार प्रमुख मन्दिरमध्ये पञ्चायन पनि एक हो । पञ्चायन भनेको पञ्चदेवता, अर्थात् प्रथम पुज्य गणेश, देवी तथा ब्रहृमा, विष्णु, महेश । सनातन पूजा पद्धतिमा पञ्चदेवताको पूजा अनिवार्य अंगको रूपमा रहन्छ । पञ्च महाभूत, पञ्चदेवता, पञ्च कर्मेन्द्रीय, पञ्चाङ्ग, पञ्चामृत, पञ्चोपचार पूजा आदि सनातन परम्परामा महत्व धेरै छ ।
धरान विभिन्न जाति, जनजातिहरूको सांस्कृतिक सम्मिश्रण हो । परम्परागत रहनसहन तथा रीतिरिवाजले पनि पर्यटकलाई आकषिर्त गर्दछ । राई जातिको साकेला नाच (उँधौली उँभौली पूजा), लिम्बू जातिको धाननाच, नेवार जातिको लाखेनाच र गाईजात्रा, तामाङ जातिको शेलो, गुरुङ जातिको रोदीधर तथा क्षेत्री-बाहुन जातिको बालन नाच तथा संगिनी आदिको लागि पनि धरान अनुपम शहर बनेको छ । समय-समयमा लाग्ने धार्मिक मेलाहरूले पर्यटकलाई थप रोमाञ्चित बनाउँछन् ।
प्रतिक्रिया 4