
३ असार, काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञसभाले प्राध्यापक सूर्य सुवेदीलाई मानार्थ फेलो चयन गरेको छ ।
विभिन्न विधामा उत्कृष्ट योगदान दिएका विद्वानहरुलाई दिने यो फेलोसिप अक्सफोर्डका कलेजहरुले दिने सबैभन्दा ठूलो सम्मान हो ।
कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यापक सुवेदीलाई अक्सफोर्डमा उच्च सम्मानको रूपमा हेरिएको बताए । विश्वविद्यालयले कला र साहित्यका साथै विज्ञानप्रविधि, चिकित्साशास्त्र, समाजशास्त्र, कानून जस्ता विधामा उत्कृष्ट योगदान दिनेहरुलाई यस्तो उपाधि प्रदान गर्छ ।
विश्वप्रसिद्ध लेखिका जे के रोलिङ, वेलायती लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान, स्पेनकी महारानी सोफिया, घानाका पूर्व रास्ट्रपति डा. जोन कुपÞmोउर, जीवबिज्ञान शास्त्री सर जोन आसवोर्थ, नेलसन मण्डेला लगायतहरुलाई अक्सफोर्डको उक्त कलेजले मानार्थ फेलो प्रदान गरेको छ ।
प्राध्यापक सुवेदीले आफूलाई पनि उपाधीश प्रदान गरेकामा हर्षित र गौरवान्वित भएको प्रतिक्रिया दिए ।
अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि सुवेदीको नाममा तीन वर्षअघि विश्वविद्यालयले वार्षिक पुरस्कार स्थापना गरी सम्मान गरेको थियो ।
उनले अन्तर्राष्ट्रिय कानूनका १२ वटा भन्दा बढी पुस्तक र ६० भन्दा बढी अनुसन्धात्मक लेखहरु प्रकाशित गरेका छन् ।
प्रतिक्रिया 4