+
+

के बिमार हो राष्ट्रपतिको ? अहिले कस्तो छ ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० असार ३ गते २०:२२

३ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।

मंगलबार मात्र उनको मुटुको दाहिनेतर्फको एउटा नसा ७० प्रतिशत बन्द भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एनजिओप्लास्टी गरिएको थियो । त्यसको भोलिपल्ट डिस्चार्ज भएका उनी दुई दिनपछि मनमोहन अस्पतालमा भर्ना भएका हुन् ।

शनिबार बिहान चक्कर लागेपछि अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि थप जटिलता देखिएकाले  पुनः अस्पताल भर्ना भएका हुन् ।

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार पौडेलको स्वास्थ्य स्थिर र, मुटुको चालको निगरानी भइरहेको छ ।

राष्ट्रपति कार्यालयका अधिकारीहरू, धेरै कमजोरी पनि भएकाले अस्पताल भर्ना गर्नु परेको बताउँछन् । ‘भिटामिन, स्लाइन चलाइएको छ । खानपिन गर्ने, गफ गर्ने गरिराख्नुभएको छ’ अहिले पौडेलको स्वास्थ्य ठीक रहेको भन्दै एक उच्च अधिकारीले भने, ‘राष्ट्रपति कार्यालयमा बढी भीडभाड हुने भएकाले अस्पताल राखेका हौं । केही दिनमै अस्पतालबाट डिस्चार्ज हुनुहुन्छ ।’

राष्ट्रपति पौडेललाई रोगले गलाएकै हो ?

२५ फागुनमा राष्ट्रपति निर्वाचित भएका ७९ वर्षीय पौडेल अढाइ महिनामा पाँचौं पटक अस्पताल भर्ना भएका हुन् । पेटमा समस्या देखिएपछि १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । पाँच दिन अस्पताल बसेर डिस्चार्ज भएका उनी फलोअपका लागि ४ वैशाखमा पुनः अस्पताल पुगेका थिए ।

अल्ट्रासाउण्डको सहायताले छातीको तल्लो भागको पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । तत्कालीन समयमा छातीको समस्या एन्टिबायोटिक औषधिले पूरै निको नभएको भन्दै राष्ट्रपति पौडेललाई दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको थियो ।

स्रोतका अनुसार एम्समा राष्ट्रपति पौडेलको प्रोस्टेट, छाती र मुटुको विभिन्न परीक्षण गर्ने योजना थियो । तर हतारमा मुटुसम्बन्धी परीक्षण हुन पाएन ।

‘राष्ट्रपति धेरै समय बाहिर बस्दा राम्रो भएन भन्ने चर्चा पनि चल्यो’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘त्यसबेला छातीको संक्रमण ठीक भएपछि अन्य जाँच नेपालमै गर्ने निष्कर्षसहित फर्किएका थियौं ।’

एम्सको १० दिनको बसाइपछि राष्ट्रपति पौडेल १७ वैशाखमा नेपाल फर्किए । अस्वस्थताकै कारण वैशाख तेस्रो साता बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन गएनन् ।

५ जेठमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्न संघीय संसदमा जाँदा समेत उनलाई सहयोगीको साथ चाहिएको थियो ।

अहिले छातीको संक्रमण पूरै निको हुन पाउँदा नपाउँदै मुटुमा समस्या देखिएको छ ।

नियमित औषधि सेवन गर्छन् पौडेल

राष्ट्रपति पौडेलले एक दशकदेखि केही औषधि नियमित सेवन गर्ने गरेको पाइएको छ । उच्च स्रोतका अनुसार पौडेललाई कोलेस्ट्रोल, ग्याष्ट्रिक र दमको समस्या छ र, एम्सका चिकित्सकको सल्लाह अनुसार नियमित औषधि खाइरहेका छन् ।

‘पहिलादेखि नै उहाँमा दम रोग थियो । त्यसको लागि तान्ने औषधि तथा कहिलेकाहीं गाह्रो हुँदा बाफ लिंदै आउनुभएको छ’ एक अधिकारी भन्छन्, ‘हिंडडुल गर्दा श्वास–प्रश्वासमा समस्या हुने भएकाले दमको तान्ने औषधि प्रयोग गरिराख्नुभएको छ ।’

चिकित्सकहरूका अनुसार ६० वर्ष कटेका धेरै मानिसलाई दम रोग देखा पर्छ । धेरै धुवाँ–धुलो, प्रदूषणमा बस्ने तथा धुम्रपान गर्ने मानिसमा बढी समस्या देखिन्छ । उमेर बढ्दै जाँदा दमको समस्या पनि बढ्दै जान्छ ।

मुटुको समस्या हुने व्यक्तिमा कोलेस्ट्रोल पनि सँगसँगै देखा पर्छ । मुटुको समस्या बढाउनुमा कोलेस्ट्रोलको ठूलो भूमिका हुने चिकित्सकहरू बताउँछन् ।

व्यस्तताका बाबजुद राष्ट्रपतिले सकेको व्यायाम गर्ने, खानपिनमा ध्यान दिने गरेको भन्दै एक अधिकारी भन्छन्, ‘उहाँ स्वास्थ्यप्रति बढी सचेत नै हुनुहुन्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?