
काठमाडौं । सनराइज बैंकले विभिन्न विद्यालयमा प्याड एटीएम उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत छात्रा एवम् महिला कर्मचारीलाई लक्षित गरी प्याड एटीएम वितरण गरिएको बैंकले जनाएको छ ।
विद्यालयहरुमा व्यवस्थित शौचालय र सेनेटरी प्याडको व्यवस्था नहुँदा विद्यालयमा अध्ययनरत छात्राहरु विद्यालय जान हिचकिचाउने गरेको पाइएकोले उक्त समस्या समाधानका लागि प्याड एटीएम वितरण गरिएको बैंकले जनाएको छ ।
विद्यालयमा अध्ययनरत छात्रा एवम् महिला कर्मचारीहरुको स्वास्थ्य एवम् शसक्तिकरणलाई मध्यनजर राखेर विभिन्न विद्यालयहरुलाई अटोमेटेड प्याड भेन्डिङ मेसिन प्रदान गरिएको बैंकको भनाइ छ ।
एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनबाट महिलाकर्मचारी एवम् छात्राहरुलाई आवश्यक परेको समयमा सहजै प्याड लिन सकिने वातावरणको सिर्जना गरिएको बैंकले जनाएको छ ।
काठमाडौंको लैनचौरमा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालयमा एक थान प्याड एटीएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्यले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।
यसैगरी ललितपुरको एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगर लयागतका स्थानहरुमा पनि उक्त मेसिनहरु हस्तान्तरण गरिसकिएको छ ।
प्रतिक्रिया 4