+
+

इलिप्स स्कुल प्रकरण : प्रिन्सिपल छुटे, वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १५:४९

६ असार, काठमाडौं। काठमाडौं-१६, लैनचौरस्थित इन्टरनल बोर्डिङ स्कुल (इलिप्स) को छात्रवासमा भएको विद्यार्थी मृत्यु प्रकरणमा पक्राउ परेका प्रिन्सिपल दीर्घहरि दाहाल र शिक्षक पुरुषोत्तम अधिकारी छुटेका छन् ।

प्रहरी वृत्त, लैनचौरले विद्यालयका बार्डेन रायन भन्ने रामप्रसाद सापकोटालाई मात्रै प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार सरकारी वकिलसँग समन्वय गरेर एक जनामाथि मात्र मुद्दा चलाउनुपर्ने देखिएपछि त्यही अनुसार निर्णय भएको हो ।

छात्रवाशको पहिलो तलामा १७ जेठमा मध्यराति १२:४० बजे १२ वर्षीय विद्यार्थी अभिषेक तामाङ मृत अवस्थामा फेला परेका थिए । घटनापछि परिवारले बार्डेन, प्रिन्सिपल र अर्का शिक्षक पुरुषोत्तम अधिकारीले ट्वाइलेट सफा गर्न लगाउने नगरे कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्य गरेकाले बच्चाले आत्महत्या गरेको दाबीसहित प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए।

तीन जनाविरुद्ध जाहेरी परेपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, दाहालबाहेकको घटनामा भूमिका नदेखिएको भन्दै प्रहरीले एक जनालाई मात्र प्रतिवादी बनाएको हो ।

 इन्कारी बयान-‘कसैलाई कुटेको छैन

सरकारी वकिलको रोहबरमा वार्डेन सापकोटाले दिएको बयानमा आफूले तामाङलाई कुटपिट नगरेको दाबी गरेका छन् ।

‘विद्यार्थीहरुलाई अनुशासनमा राख्नका लागि म केही मात्रामा सशक्त हुने भएपनि मैले उनीहरुकै भलाइका लागि सो काम गर्थें’, उनले भनेका छन्, ‘उनीहरुलाई शारीरिक तथा मानसिक यातना हुने गरी मैले कहिल्यै कसैलाई कुटपिट गरेको छैन।’

घटना हुनुअघि मृतक तामाङका साथी रेमन घिमिरेलाई केही गाली गरेर ‘विस्तारै’ झापड लगाएपनि तामाङलाई आफूले नछोएको उनले दाबी गरेका छन्।

‘व्यक्तिगत रुपमा रेमनबाहेक अन्य कसैलाई हात लगाएको थिइनँ,’ उनले भनेका छन्, ‘होस्टल इनचार्ज तथा एक शिक्षकको नाताले मैले अनुशासन कायम गर्नका लागि सक्त हुनुबाहेक अरु केही मनसाय थिएन।’

उनले जाहेरीमा उल्लेख भए जस्तो कसैलाई मानसिक वा शारीरिक यातना नदिएको पनि दाबी गरेका छन् । उनले विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको विषय चाहिँ स्वीकारेका छन् ।

‘घटना पूर्व मृतक, निशान खत्री र प्रशान्त तामाङलाई उनीहरु बस्ने होस्टल कोठाको शौचालय सरसफाइ गर्न लगाएको थिएँ’, उनले भनेका छन्, ‘यसरी विद्यार्थीलाई अनुशासित गराउन मात्र उक्त कार्य गराएको हो। कहिले काहीँ गाली गर्ने सामान्य सजाय दिने, सरसफाइको काममा लगाउने गर्थेँ । तर, यातना दिने कुनै काम गरेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?