+
+

पालिकाले २ वर्षदेखि अधुरै छाडिदियो घर, वर्षायाममा डोम परिवारको बिजोग

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असार ६ गते २०:४३

६ असार, जनकपुरधाम । बटेश्वर गाउँपालिका–४ पुजारी टोलका मकेश्वर मल्लिक फुसको घरमा सुखदुखले बसिरहेका थिए । पाँच छोरा, एक छोरी, दुई बुहारी, दुई नाति र पत्नीसहित १२ जनाको परिवार एउटै घरमा बसोबास थियो ।

तर २०७८ साल असारमा गाउँपालिकाले विपन्न डोम समुदायका लागि पक्की घर बनाइदिने भन्दै मकेश्वरलाई फुसको घर भत्काउन लगायो । पक्की घरमा बस्न पाउने आशमा उनले फुसको घर भत्काए ।

गाउँपालिकाले मकेश्वर, उनका जेठा छोरा जितकुमार र छिमेकी रामाशिष डोमका लागि अलग अलग घर बनाउन सुरु ग¥यो । प्रत्येक घरमा दुईवटा बस्ने कोठा, एउटा भान्छाकोठा र एउटा शौचालय बनाउने तयारी थियो, तर दुई वर्षसम्म घर अधुरै छ ।

घरको गारो मात्र ठडिएको छ, छानो र झ्यालढोका हाल्नै बाँकी छ । गाउँपालिकाले बजेट छैन भनेर घर अलपत्र छाडिदिएको छ । यता मल्लिक परिवारको भने दुई वर्षदेखि बसोबास धेरै सकसपूर्ण बनेको छ ।

‘नयाँ पक्की घर तुरन्तै बनाइदिने भन्यो । वर्षायाममै घर भत्काउन लगायो । अहिलेसम्म अधुरै छाडे छन् । त्यही बेलादेखि दशा लागेको छ हाम्रो परिवारलाई’ मकेश्वरले भने ।

गाउँपालिकाले ९ घर विपन्न डोम समुदायको घर बनाइदिने योजना बनाएको थियो । ती ९ जनामध्ये सबैभन्दा कमजोर अवस्थाका भनेर मकेश्वर र उनका छोराको घर सुरुमा बनाउन थालेको थियो । उनीहरु विपन्न सकुम्बासी हुन् । दिनभर बाँसको सामग्री बनाएर गुजारा चलाउँछन् ।

गाउँपालिकाले घर अलपत्र छाडिदिएपछि मल्लिक परिवारले सिमेन्टको खम्बा गाडेर घरायसी कपडा, कम्बलको घेराबारा र प्लास्टिकको छानो हालेर अस्थायी आवास बनाएका छन् । तर वर्षायाममा हावाहुरी र पानी पर्दा घरमा बस्न सक्ने स्थिति हुँदैन ।

हावाहुरी आउँदा कहिलेकाहीँ छानाको प्लास्टिक उडाउँछ, पानी परेपछि घरभित्रका अन्नपात भिजाइदिन्छ । त्यसैले आकाशमा बादल देखेपछि मल्लिक परिवार डराउन थाल्छ ।

वर्षायाम सुरु भएसँगै मकेश्वरका दुई छोरा परिवारसहित ससुराली गइसकेका छन् । जेठो  जितकुमार ७० किलोमिटर टाढा रहेको सिरहाको कटारी ससुरालीमा जान्छन् भने माइलो छोरा दिलिप भने त्यो भन्दा पनि टाढा सिरहाकै डोलाबारी जान्छन् ।

‘बालबच्चासहित कसरी यस्तो घरमा बसोस् । त्यसैले दुबै छोरा आ–आफ्नो परिवार लिएर ससुराली गइहाल्छन् । बाँकी हामीहरु भिजेरै भएपनि यही घरमा रहन्छौं । बस्नै नसक्ने भए नजिकैको मन्दिरमा गएर बस्छौं’ मकेश्वरकी श्रीमती समुन्द्रीले भनिन् ।

यस वर्षपनि वर्षात् छल्न गत जेठमै दुबै छोराबुहारी बच्चासहित ससुराली तिर लागे । जीतकुमारको चार वर्षीय छोरा आर्यन र माइलो दिलिपका चार महिने छोरा जीवछ छन् ।

एकै ठाउँमा बस्ने इच्छा हुँदाहुँदै पनि दुईछोरा बुहारी नातीसहित टाढिँदा कामेश्वर र समुन्द्रीको मन खिन्न हुन्छ । ‘घर परिवारबाट छुट्टिएर जाने इच्छा कसलाई हुन्छ र ? बालबचासहित छोराबुहारी ससुराली तिरै चार महिना बस्छन्’ मकेश्वर भन्छन् । जेठो र माइलो छोराको परिवार ससुराली गएपछि घरमा मकेश्वरका श्रीमान श्रीमती, साइलो छोरा रविन, काइँलो करण र कान्छो जीवन र छोरी मधु छन् ।

केही दिनअघि हावाहुरी र वर्षा हुँदा मल्लिक परिवार छिमेकको घरमा ओत लाग्न पुगेका थिए । छिमेकीको घरमा जानुपर्दा समुद्रीलाई अप्ठेरो लागेको छ ।

बटेश्वर गाउँपालिकाको कार्यालय मकेश्वरको घरदेखि १०० मिटर मात्र अगाडि छ । जनप्रतिनिधिले उनीहरुको निर्माणाधीन घर पूरा गर्न चासो दिएका छैनन् । गाउँपालिका कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा डोमसहित अति विपन्न दलित केही परिवारको घर बनाउन दलित आवास योजना अन्तर्गत संघीय सरकारबाट ६० लाख रुपैयाँ सशर्त अनुदानको बजेट आएको थियो ।

अन्यत्र केही घर बनाएर बाँकी बसेको झण्डै १० लाख रुपैयाँबाट तत्काल पुजारी टोलका मकेश्वरसहित तीन परिवारका लागि तीनवटा घर निर्माण थालियो । तर बजेट सकिएको भन्दै ती घर गाउँपालिकाले अधुरै छाड्यो ।

निर्माणधीन घरलाई पूर्णता दिन गाउँपालिकाले दुई आर्थिक वर्षमा बजेट नै छुट्याएन । दलित आवासको लागि आएको बजेट गत वर्ष पनि अन्यत्र केही अति विपन्न परिवारको घर बनायो । तर यी तीन घरलाई अलपत्र छाड्यो ।

पटक पटक पालिका कार्यालयमा धर्ना दिएपछि निर्माणधीन तीनवटै घरमा छानो हाल्न ७ लाख ५० हजार रुपैयाँ गत हिउँदे नगरसभाबाट विनियोजन गरेको छ । दुई दिनअघि पालिकाले छाना हाल्न फलामको डण्डी ल्याएको छ ।

गाउँपालिका अध्यक्ष रामअशिष महतो मकेश्वरको घरमा छिटै छाना हाल्ने बताउँछन् । गाउँपालिकाका इन्जिनियर जितेन्द्र यादव भित्ताको प्लास्टर र झ्यालढोकाका लागि भने आगामी आर्थिक वर्षमा बजेट छुट्याउने बताउँछन् ।

यहाँ विपन्न डोम समुदायको ९ घर छ । पालिकाले पछि अनुकुल मिलाएर बाँकी अन्य अतिविपन्न डोम परिवारको घर बनाउने बनाउने जनाएको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?