+

पखाला लाग्दा जीवनजलले कसरी काम गर्छ ?

२०८० असार  ७ गते १४:०२ २०८० असार ७ गते १४:०२
पखाला लाग्दा जीवनजलले कसरी काम गर्छ ?

सामान्यतया  झाडापखाला लागेपछि चिकित्सकको सल्लाह बिना ढुक्क भएर खान सकिने औषधि जीवनजल हो । जीवनजलले झाडापखाला रोक्ने मात्र होइन, यसले शरीरलाई ऊर्जा दिने पनि काम गर्छ । त्यसैले गर्मीयाममा शरीरलाई निर्जलीकरण हुन नदिन सामान्य व्यक्तिले पनि यसलाई ‘इनर्जी ड्रिंक’को रुपमा प्रयोग गर्न सक्छन् । जीवनजलका फाइदा के–के छन् ? शरीरमा यसले कसरी काम गर्छ ?  यसबारे चर्चा गरौं ।

जीवनजल विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त ओरल रिहाइड्रेसन साल्ट हो । अर्थात्  नुन र चिनीको मिश्रण । जब पानीमा मिसाएर यसलाई तयार पारिन्छ त्यसलाई डिहाइड्रेसन साल्ट भनिन्छ । यसमा सोडियम क्लोराइड, पोटासियम क्लोराइड, सोडियम साइटेटजस्ता पदार्थ हुन्छन् । जुन शरीरलाई चाहिने मुख्य इलेक्ट्रोलाइट हुन् । जीवनजलले शरीरमा उर्जा दिने हुँदा यसलाई जीवनरक्षक औषधि पनि भन्ने गरिन्छ ।

जीवनजल झाडापखालाको महामारी रोक्न बनाइएको औषधि हो । पछि यसले झाडापखालासँगै धेरै रोगमा पनि फाइदा गर्ने देखिएकाले बिस्तारै अन्य स्वास्थ्य समस्या भएको बेलामा पनि दिन थालियो । किनभने यसमा शरीरमा पानी र खनिजहरू सन्तुलन गर्ने गुण छ । यद्यपि  यसलाई प्रयोग गर्नुअघि डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

यसको कार्य

-यसमा भएको सोडियम क्लोराइड जुन शरीरमा तरल पदार्थ र इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्छ ।

-निर्जलीकरणको कारणले क्षति भएको इलेक्ट्रोलाइट्स र तरलपदार्थ परिपूर्ति गर्छ।

-पानीको सन्तुलन राख्ने र सम्पूर्ण अंगमा पठाउन मद्दत गर्ने, हृदय कार्य, साथै मांसपेशी र स्नायु कोषिकाको  कार्यमा सहयोग गर्छ ।

-पोटासियमले मिर्गौला र एड्रेनलको कार्यलाई कायम राख्न मद्दत गर्छ ।

-ग्लुकोजले ऊर्जा स्तर बढाउँछ ।

-पानी–इलेक्ट्रोलाइट सन्तुलन कायम गरेर पखाला र बान्ताको उपचारमा मद्दत गर्छ ।

-रगत र पिसाबमा जाने अत्याधिक एसिडको असरलाई कम गर्छ । यसरी मेटाबोलिक एसिडोसिसको उपचारमा मद्दत गर्छ ।

-गर्मीको समयमा सामान्य हुने गर्मी स्ट्रोकका लक्षणसँग लड्न र सुधार गर्न उपयोगी छ ।

-व्यायामपछि जाने अत्यधिक पसिनाले गडबड भएको तरल स्तर सुधार गर्न मद्दत गर्छ ।

कस्तो अवस्थामा प्रयोग गर्ने ?

गर्मीको समयमा डिहाइड्रेसन हुँदा लाग्ने झाडापखाला, हैजाबाट बच्न जीवनजल उपयोगी हुन्छ । यसले पखाला र बान्ताजस्ता अवस्थामा शरीरमा हुने नुनको क्षतिको भरपाई गर्छ । र, जति शरीरबाट तरल पदार्थ बग्छ, त्यति जीवनजल पिएमा शरीरमा स्फूर्ति कायमै रहन्छ । अन्य थप जटिलतासमेत हुन पाउँदैन । अझ समयमा नै जीवनजल प्रयोग गर्न सके बेहोस हुने अवस्था पुग्न पाउँदैन । यद्यपि डाइरिया भएको उच्च रक्तचाप र मधुमेहका औषधि खानेहरुले भने चिकित्सकको परामर्श बिना जीवनजल खानु हुँदैन ।

झाडापखालाले सबैभन्दा बढी बालबालिकालाई सताउँछ । डब्ल्यूएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाको मृत्युको दोस्रो प्रमुख कारण झाडापखाला हो । दूषित हावापानी र प्रदूषित वातावरणले पखाला  लाग्छ । यसले विशेषगरी शिशु, बालबालिका र वृद्धवृद्धालाई असर गर्छ । पखाला सुरु भएपछि शरीरमा पानीको कमी हुन्छ । कहिलेकाहीं यो यति गम्भीर हुन्छ कि मानिसको मृत्युसमेत हुन्छ । यस्तो अवस्थामा शरीरमा पानीको कमीबाट बच्न जीवनजल पिउन सल्लाह दिइन्छ । शिशु तथा बालबालिकालाई पखाला लाग्दा निकै संवेदनशील हुने भएकाले घरमै जीवनजल राख्नुपर्छ ।

त्यस्तै, रक्तचाप कम भएको अवस्थामा जीवनजल दिन सकिन्छ । यसले रक्तचाप सन्तुलनमा ल्याउने काम गर्छ ।

सामान्य अवस्थामा पनि खान सकिन्छ जीवनजल ?

जीवनजल खेलाडी र खेल प्रशिक्षकका लागि निकै लाभदायक हुन्छ । चाहे त्यो जिम होस् वा कुनै खेलकुद ।  त्यस्ता क्रियाकलापमा अत्यधिक पसिना बग्ने भएकाले डिहाइड्रेसन हुने सम्भावना बढी हुन्छ । यदि अत्यधिक पसिना बग्ने कसरत छ मधुमेह र उच्च रक्तचाप छैन भने  जीवनजल खान सकिन्छ। यसले  अभ्यासपछि पनि सक्रिय रहन मद्दत गर्छ ।

कति मात्रामा खाने ?

सामान्यतया एक प्याकेट जीवनजल एक लिटर पानीमा बनाइन्छ । यदि जीवनजलले नै बान्ता भइरहेको छ भने दुई लिटर पानीमा बनाएर १५ मिनेटपछि खान सकिन्छ । त्यसपछि पनि बान्ता भएमा सुईबाट डिहाइड्रेसनबाट जोगिन तरल दिनुपर्छ ।

तर एक प्याकेट हालेर आधा लिटर बनाएर खान भने हुँदैन । यसले शरीरले ग्रहण गर्न सक्दैन । जीवनजल उपलब्ध नभए डायरिया भएमा वा रक्तचाप कम भएको अवस्थामा नुन पानी र चिनीको मिश्रण पनि खान सकिन्छ ।

नवजात शिशुलाई ठूलो चम्चाको एक चम्चा दुई मिनेटको अन्तरालमा दिइरहनुपर्छ । त्यसबाहेकका बालबालिकालाई ४०० एमएलको कपमा प्रत्येकपटक दिसा भएपछि एक कप दिनुपर्छ ।

त्यस्तै  डाइरिया भएका वयस्क उमेर समूहले एकपटक दिसा गरेपछि एक गिलास खानुपर्छ । सामान्य व्यक्ति जसलाई मधुमेह, मुटुको समस्या, उच्च रक्तचाप छैन भने इनर्जी ड्रिंकको रुपमा लिन सक्छन् ।

मुटु फेल भएमा, हेमोडायलाइसिस गराइरहेको, अनियन्त्रित मधुमेह, रक्तचाप उच्च भएमा चिकित्सकको सल्लाहमा जीवनजल खान सकिन्छ । त्यस्तै दीर्घरोग भएमा चिकित्सकको परामर्शपछि मात्र खानु उचित हुन्छ ।

(जनरल फिजिसियन डा. पौडेल काठमाडौं मेडिकल कलेज शिक्षण असपतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

जीवनजल डा. निमेष पौडेल
लेखक
डा. निमेष पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?