
७ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको अवस्था हेरि चालु आर्थिक वर्ष (आव) मा सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयले चालु आव २०७९/८० को बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आव २०८०/८१ को बजेट कार्यान्वयनका लागि बिहीबार विषयगत मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ ।
सो क्रममा अर्थमन्त्री डा. महतले स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन निर्देशन दिएका हुन् ।
अर्थमन्त्री डा. महतले आगामी आवका लागि अहिलेदेखि नै ठोस कार्ययोजना बनाएर अगाडि बढ्न समेत निर्देशन दिए । उनले बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमको कार्यान्वयनमा दृढ भई तयारीमा जुट्न समेत निर्देशन दिए ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र मुख्य सचिव बैकुण्ठ अर्यालले बजेट कार्यान्वयनको तयारीमा लाग्न सचिवहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया 4