
७ असार, पोखरा । नेपाली गीत, संगीत र विभिन्न राजनीतिक कार्यक्रम भइरहने पोखराको सभागृहमा बिहीबार फरक दृश्य देखियो । सभागृहको प्रवेशद्वारमा अरु बेलाजस्तो नेपालीहरु स्वागतमा उभिएका थिएनन्, त्यहाँ चिनियाँ नागरिक थिए ।
उनीहरु सभागृहमा आउने नेपाली पाहुनाहरुलाई झुकेर ‘नमस्ते’ टक्य्राउँथे भने आफ्नो स्वदेशी नागरिकलाई खुसी साथ स्वागत गर्दै भन्थे, ‘निहाओ !’
सन्दर्भ थियो– चीनको लिन्जी सहरले पोखरामा आयोजना गरेको सांगीतिक कार्यक्रम । करिब १५ वर्षदेखि पोखरासँग भगिनी सम्बन्ध रहेको चीनको लिन्जी शहरका १० भन्दा बढी कलाकारले पोखरामा आयोजना गरिएको संयुक्त सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति राखे ।
भनिन्छ, संगीतको न आफ्नो भाषा हुन्छ न सीमाना । करिब २ घण्टासम्म चलेको सांगीतिक प्रस्तुतिमा २ देशको गीत संगीतमा पोखरेली र चिनियाँ नागरिक मज्जाले झुमे, हुटिङ गरे । उनीहरुले फरक देश र फरक भाषिक संगीतको अनुभव लिए ।
कार्यक्रममा दुवै देशका कलाकारले आआफ्नो देशको संस्कृति झल्किने प्रस्तुति राखे । कार्यक्रम लिन्जी सहरमा वसन्त ऋतुमा गाइने गीत र नृत्य प्रस्तुत गरिएको थियो । चिनियाँ लोक संस्कृति ‘कोङ्बु’ गीत प्रस्तुत गरियो ।
त्यसपछि तिब्बतीहरुले आफ्नो शुभ कार्यमा गाउने ओपेरा संगीत, स्वागत गीत गाए । त्यसबाहेक तिब्बती कलाकारले क्लासिकल गीत गायन र नृत्य र अन्तिममा ‘टासी देलेक’ भन्दै धन्यवाद गीत प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट विभिन्न क्षेत्रको मौलिक संस्कृति झल्किने कौडा, धिमाल, मारुनी नृत्य प्रस्तुत गरिएको थियो ।
लिन्जी सहरका मेयर बाटाले पोखरा र लिन्जी सहर भौगोलिक रुपमा एकै भएको बताए । उनले आफ्नो क्षेत्रमा पनि हिमाल, पहाड र तालतलैया भएकाले पोखरा आउँदा आफूलाई आफ्नै सहरमा आएकोजस्तो लागेको सुनाए ।
‘पोखरासँगको हाम्रो भगिनी सम्बन्धको इतिहास लामो छ । यहाँको हिमाल, पहाड, तालहरु हाम्रो ठाउँमा पनि छ । त्यसैले म चाहन्छु पोखरासँगको सम्बन्ध अझै प्रगाढ होस्,’ मेयर बाटाले भने, ‘जतिधेरै आउजाउ हुन्छ, त्यतिधेरै सम्बन्ध बलियो हुँदै जान्छ, पोखरासँगको सम्बन्ध त्यस्तै होस् ।’
पोखराका मेयर धनराज आचार्यले लिन्जी सहरसँग संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम गर्न पाउँदा खुुसी लागेको बताए । उनले लिन्जी सहरले फेवाताललाई झकिझकाउ बनाउनदेखि कोभिड महामारीका बेला गरेको सहयोग सम्झिए ।
शुक्रबारदेखि सुरु हुने २ दिने ‘ड्रागन बोट रेस फेस्टिभल’का भाग लिन लिन्जी, सिचुवानका मेयर, उपमेयरसहित कलाकार पोखरा आएका हुन् । उनीहरु बुधबार पोखरा विमानस्थलमा पहिलो पटक चीनबाट आएको चार्टड विमानस्थलबाट पोखरा अवतरण गरेका थिए ।
प्रतिक्रिया 4