+
+

बालेनको नीति कार्यक्रममा नारैनारा, संघको सिको गर्दै गौरवका योजना घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते २१:०३

७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक २०८०/८१ को नीति तथा कार्यक्रम मूलतः लोकप्रिय नारा दिनमै केन्द्रित छ । साथै, संघीय सरकारसँग अधिकार माग्ने विषय र अधुरा काम पूरा गर्ने विषयलाई पनि नीति कार्यक्रममा समेटिएको छ ।

बालेनको नीति तथा कार्यक्रमलाई नारै नाराको संकलन भन्न मिल्छ । शिक्षादेखि शहरी सौन्दर्यसम्म गरेर महानगरपालिकाले २० भन्दा धेरै लोकप्रिय नाराहरु रहेका छन् ।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय, एक नर्स’, ‘एक विद्यालय, एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौं’, ‘सुन्दर महानगर’, ‘उज्यालो शहर, मेरो महानगर’ यस वर्षको कार्यनीतिमा समेटिएका छन् । यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित शहर’, ‘मिसन २१००’ लगायतको नारासहित नीति तथा कार्यक्रम आएको छ ।

महानगर गौरवका योजना

नीति तथा कार्यक्रममा महानगरका मेयर बालेन शाहले १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरेका छन् । संघीय सरकारले राष्ट्रिय गौरवका योजना भनेर ठूला आयोजनाहरु कार्यान्वयन गरिरहेको छ । त्यही नक्कल महानगरले पनि गरेको हो ।

महानगरको गौरव बढाउन अधिकतम् जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ । गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक शहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका छन् ।

त्यस्तै महानगरवासीको दैनन्दिनका समस्या समााधन गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको छ । महानगरका वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यान्वयन गर्ने मेयर शाहले बताए ।

अधिकार माग्ने नीति कार्यक्रम

काठमाडौं महानगरपालिकाले आफने नीति तथा कार्यक्रम मार्फत आफ्नो अधिकारसमेत मागेको देखिन्छ । महानगरको नीति कार्यक्रम अन्तर्गत संस्थागत विकास तथा सुशासन सम्बन्धी कार्यनीतिमा भनिएको छ ‘स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका अधिकारहरुको प्रचलनमा विशेष पहल गरिनेछ, मालपोत र नापी सम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन नीतिगत प्रबन्ध गरिनेछ ।’

यस्तै संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणलाई क्रियाशील गराउने नीति तथा कार्यक्रम आएको छ । यस्तै महानगरभित्रका संसदीय निर्वाचन क्षेत्रमा सांसदहरुले महानगरको पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बताएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रको योजना छनौट गर्दा महानगरपालिकाको सहमति नलिए कार्यान्वयन नगर्ने बताएका हुन् ।

नयाँ लोकप्रिय, अधुरा दोहोरिए

काठमाडौं महानगरपालिकाले ल्याएका केही नयाँ योजना लोकप्रिय छन् । महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । यस्तै युवा जनशक्तिलाई श्रम बैंकमा आवद्ध गराई सीप विकास तालिम तथा रोजगारी दिने नीति कार्यक्रममा घोषणा भएको छ । यस्तै नयाँ योजनाको रुपमा काठमाडौंले अत्यावश्यक सेवालाई परिभाषित गरी दैनिक १६ घण्टासम्म प्रवाह गर्ने महानगरले नीति लिएको छ ।

उज्यालो सहरको कार्यक्रमको लागि महानगरका विभिन्न १०० स्थानमा हाइ मास्ट लाइट जडान गरिने लोकप्रिय घोषणा भएको छ । बालेनले बस स्टपमा फ्रि वाइफाई, एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन लगायत लोकप्रिय विषय छन् ।

अर्गानिक खाद्य तथा तरकारीका आत्मनिर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन् । यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा अघिल्लो नीति कार्यक्रममा पुरा गर्न नसकेका योजनाहरु पनि दोहोरिएर आएका छन् । पूर्वाधार एम्बुलेन्स, परम्परागत पेय पदार्थको निर्यात गर्ने, काठमाडौंको सहरको अन्तर्राष्ट्रिय चलचित्रहरुमा प्रवर्द्धन, बस स्टेशनमा फाल्चा निर्माण गर्ने जस्ता विषय यो वर्षको नीति तथा कार्यक्रममा पनि दोहोरिएका हुन् ।

यस्तै होमस्टे सञ्चालन, मेलाहरुको प्रबद्र्धन गर्ने विषय मेयर बालेनले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न नसकेका योजनाहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?