+
+

‘अब एक्लाएक्लै बसेर नेपाल बदल्न सम्भव छैन’

एकता र ध्रुवीकरणको अध्याय आएको छ । नेपालको सिंगै कम्युनिस्ट आन्दोलन यो प्रक्रियाभित्र सहभागी हुन्छ । ठूलठूला बहस, ठूलठूला ध्रुवीकरण, ठूलठूला एकता र रुपान्तरमा सहभागी हुन्छ । यो नगरी सुखै छैन । हामी त्यो चाहना, आकांक्षा र दृष्टिकोणसहित अगाडि बढ्दै छौँ ।

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते २१:३२

८ असार, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव शान्ति प्रक्रियामा आएदेखि नै आफ्ना नेता प्रचण्डसँग असन्तुष्ट थिए । उनले प्रचण्डसँग विद्रोह गर्दै एकीकृत जनक्रान्तिको हिंसामुखी बाटो पनि लिए । आफ्नो समूहभित्र समेत अनेक टुटफुट बेहोर्दै आएका उनी यतिबेला प्रचण्ड नेतृत्वको माओवादी सहित अरु गैरकम्युनिस्टसँग समेत सहकार्य गर्ने ठाउँमा छन् ।

माओवादी केन्द्रको सम्भावित महासचिवका रुपमा चर्चा गरिएका विप्लवले अन्तर्वार्ता थाल्नुअघि जिस्किँदै भने, ‘के को महासचिव मात्रै ? म अध्यक्ष नै बन्दिन पनि सक्छु नि ।’ यद्यपि त्यो उनको औपचारिक जवाफ थिएन । औपचारिक जवाफ चाहिँ यसै अन्तर्वार्तामा छ ।

विप्लवसँग दिपेश शाही र बसन्त बस्नेतले बिहीबार अपराह्न गरेको कुराकानी :

भर्खरै समाजवादी मोर्चा बनेको परिवेशमा आज (बिहीबार) बिहान तपाईंले प्रधानमन्त्री प्रचण्डसँग भेट्नुभयो । के कुरा भएको थियो ?

मूलतः समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भयो । मोर्चाको दीर्घकालीन महत्व धेरै छ । पार्टी र दृष्टिकोणका हिसाबले एउटा होला, तर देशको राजनीतिक परिस्थिति जस्तो निर्माण भएको छ त्यसले हामीले गर्नुपर्ने कामको धेरै महत्व छ । अहिले जुन राजनीतिक अस्थिरता, आर्थिक संकट, विभिन्न विदेशी शक्तिको हस्तक्षेप र चलखेललगायत विषयलाई कसरी सल्टाउने भन्ने विषयमा छलफल भइरहेको छ  पछिल्लो समयमा एकदमै बढेर गएको अमेरिकी हस्तक्षेप हो । त्यसपछि भारतले हालै जारी गरेको नक्सा पनि एकदमै संवेदनशील विषय हो । अहिले विभिन्न क्षेत्रबाट जुन खालको हस्तक्षेप भइरहेको छ, यी सबै विषयमा छलफल त भइहाल्छ ।

तपाईं माओवादी केन्द्रको महासचिव भएर जाँदै हुनुहुन्छ भन्ने खुब चर्चा छ । त्यसैले भावी अध्यक्षलाई तारन्तार भेटिरहनुभएको ?

होइन, यो गलत कुरा हो । राजनीतिक महत्वलाई न्यूनीकरण गर्ने कुरा हो । त्यसलाई संगठनमा लगेर अल्झाउने खालको प्रचारबाजी हो । यस विषयमा अहिले हाम्रो छलफल नै भएको छैन ।

अहिले छलफल भएको कुरा पछिल्लो १५ वर्षको प्रयोगमा संसदीय व्यवस्था सफल हुन सकेन, जनताको जीवनमा संकट आइपुगेको छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएको छ भन्ने हो । यसलाई कसरी समाधान दिने, आर्थिक समृद्धि कसरी हासिल गर्ने, विदेशी हस्तक्षेप कसरी रोक्ने भन्ने कुरा मुख्य हो ।

पार्टी र संगठनका कुरा त्यसपछि आउने विषय हुन् । अहिले सहायकलाई मुख्य र मुख्यलाई सहायक बनाउने जस्तो भइरहेको छ ।

तपाईंहरू फुट्दैफुट्दै सहायकलाई मुख्य जस्तो बनाइरहनु भएको छ । प्रचण्डबाट वैद्य, वैद्यबाट तपाईं, तपाईंबाट धर्मेन्द्र बास्तोला फुट्दै जानु भएको छ । तपाईंहरूको हकमा त सहायक नै मुख्य प्रश्न भइदियो होइन र ?

संक्रमणको अवधि मोटामोटी राजनीतिक र संगठनात्मक ढंगले नथिग्रिएसम्म यो प्रक्रिया चलिरहन्छ । यो हाम्रो देशको मात्रै होइन, संसारभरीको चलन हो । ध्रुवीकरण, विभाजन, एकताको प्रक्रिया नेपालको राजनीतिक प्रक्रिया नसंग्लिएसम्म यो रहिरहन्छ । आफ्ना कुराहरू राख्ने, निस्किने भइरहन्छ । देशको परिवेशबारे सोच्ने कुरा चाहिँ मुख्य हो ।

अहिले टुटफुटबाट तपाईंहरू जुट्नेतिर लाग्नु भएको हो ?

हो । हामीले केन्द्रीय समिति बैठकबाट यो निर्णय गरेका छौँ । कञ्जनजीसम्म पुग्दा एकप्रकारले विभाजन हुने चक्र पूरा भयो । भर्खरै सानै भए पनि हामीले दुई–तीनवटा पार्टीबीचमा एकता गरेका छौँ । नयाँ अध्याय सुरु भयो भन्ने हाम्रो निष्कर्ष छ ।

एकता र ध्रुवीकरणको अध्याय आएको छ । नेपालको सिंगै कम्युनिस्ट आन्दोलन यो प्रक्रियाभित्र सहभागी हुन्छ । ठूलठूला बहस, ठूलठूला ध्रुवीकरण, ठूलठूला एकता र रुपान्तरमा सहभागी हुन्छ । यो नगरी सुखै छैन । हामी त्यो चाहना, आकांक्षा र दृष्टिकोणसहित अगाडि बढ्दै छौँ ।

विगतमा तपाईंले विगतमा प्रचण्ड महापतन भएको भनेर संश्लेषण गर्नुभयो । अहिले प्रचण्डसँग निकै खुसामद चलिरहेको छ । खासमा महापतन कसको भएको हो ?

परिस्थिति बदलिन्छ । वस्तुको उपज चेतना बदलिन्छ । अहिले नेपालको राजनीतिक परिस्थिति बदलिएको छ । सिंगो नेपालको राजनीति कहाँ पुग्यो भन्ने विषयमा एकरुपता पैदा हुँदैछ ।

बाह्र वर्षअघि हामीले यो अवस्था चल्दैन भन्दाखेरी हामीलाई उग्रवादी भनियो, अतिवादी भनियो । हुँदाहुँदा आतंकवादी भनियो । तर, अहिले त्यो हल भइसक्यो । यो व्यवस्था चलेन भन्नेमा अब सुकुम्वासी नागरिकदेखि बुद्धिजीविसम्म स्पष्ट भइसकेका छन् । राजनीतिक शक्तिदेखि व्यापारी र उद्योग व्यावसायीहरू पनि स्पष्ट भएका छन् कि नेपालमा अब यो व्यवस्था चल्दैन भन्नेमा पुग्नु भएको छ ।

यसको समाधान योभन्दा स्थिर राजनीतिक प्रणालीमा जानुपर्छ, निकास दिनुपर्छ भन्नेमा आयो भनेपछि मोटामोटी हामीले भनेको ठाउँमा पुगेको छ ।

प्रचण्ड पनि यो ट्र्याकमा जान सहमत हुनु भएको हो ?

समाजवादी मोर्चा घोषणाको क्रममा हामी सबैले एउटै मञ्चबाट एउटै स्वरमा भन्यौँ, ‘अबको समाधान भनेको समाजवाद हो ।’ हाम्रो मोर्चाको आवश्यक्ता पनि राष्ट्रिय परिस्थिति, बदलिएको राजनीतिक आवश्यक्ता र हाम्रो सचेत राजनीतिक प्रयत्नका कारणले बनेको हो ।

यसको सार तत्व भनेकै अहिलेको दलाल पुँजीवादी सत्तालाई समाजवादतिर रुपान्तरण गरेर लैजाने भन्ने हो ।

तपाईंले अहिलेको संसदीय परिपाटी स्वीकार गर्नु भएको छैन । मोर्चाका बाँकी दललाई चाहिँ ०८४ को चुनावको चिन्ता भएकाले समाजवादी मोर्चा बनेको भन्ने लागेको छ । त्यही हो ?

हामीले मोर्चाको सात बुँदे सहमतिमा स्पष्ट पारेका छौँ, यसको औचित्य र आवश्यक्ता भनेको नेपालमा समाजवादमा रुपान्तरण गर्ने भन्ने मुख्य छ । त्यसमा हामी सबै सहमत भइसकेपछि देशै सहमत हुन्छ । त्यस क्रममा सबै चिज हल हुन्छ । त्यसैले ०८४ को चुनावभन्दा पनि रुपान्तरणको आवश्यक्तासँग मोर्चा निर्माणको सम्बन्ध छ ।

यत्रो आवश्यक्ताले बनेको मोर्चामा बाबुराम भट्टराई कसरी छुट्नु भयो ?

बाबुरामजी धारणा र सोचका हिसाबले छुटेको होइन सँगै हो जस्तो लाग्छ । छलफल पनि चलिरहेको छ । ठ्याक्कै संगठनमा आउने कुरामा छुट्नु भयो, केही मिलेन । तर त्यो छिट्टै हल हुन्छ ।

तपाईं र बाबुरामबीच समाजवादी केन्द्र बनाउने विषयमा निकै छलफल भइरहेको थियो । तर ‘जसको बिहे, उसैलाई देख्न नदिए’ भनेजस्तो भयो । किन ?

समाजवादी मोर्चाका विभिन्न कोणहरू थिए । चुनावभन्दा अगाडि नै प्रचण्ड र बाबुरामबीच छलफल भएको थियो । तर त्यसको सम्बन्ध बढी चुनावी मोर्चासँग थियो । अहिले हामीसहित छलफल हुँदा यसलाई राजनीतिक रुपान्तरणका निम्ति, देश विकासको लागि जोड्नु पर्छ भनेर छलफल भएपछि हामी जोडिएका हौं ।

अघि भनेजस्तो हामीलाई पर्खेको भन्दा पनि छलफलले नै समय लिएको हो । बाबुराम र प्रचण्ड दुवैसँग काफि छलफल भएको थियो । उहाँ छुट्ने कुरालाई हामीले एउटा परिस्थितिको उपज भनेका छौँ ।

विप्लव मोर्चा हुँदै पार्टीमा आउने र बाबुराम पार्टी हुँदै मोर्चामा आउने कुरा भइरहेको भनेर पनि चर्चा भइरहेको छ । यो सत्य हो ?

नेपालमा विश्लेषणात्मक पाटो सशक्त छ । त्यसले कुनै छेउ टुप्पो छाड्दैन । त्यसर्थ यतिसम्म भन्ने कुरालाई स्वाभाविक नै ठान्नु पर्छ । तर यो सत्य कुरा होइन । यी सबै अनुमानित विश्लेषण हुन् ।

साँचो कुरा के हो भने, अहिले हामी पुगेको भनेको मोर्चामा नै हो । यसैबाट देशलाई रुपान्तरण गर्ने भन्ने कुरामा हामी एकमत हो ।

पार्टी एकता हुँदै हुँदैन भन्ने पनि होइन । एमालेसँग पनि बहस भइरहेको छ । हामीलाई सजिलो पनि छ ।

तपाईंको एमालेसँग राम्रै चलिरहेको थियो, फेरि अचानक माओवादी केन्द्रसँग निकटता बढेको छ । यसको रहस्य के हो ?

अचानक होइन । हामी जसरी नेपाललाई रुपान्तरण र परिवर्तन गर्ने चाहना राखिरहेका छौँ, एक्लै बसेर यो सम्भव छैन । र, कुनै पनि विचारहरू असम्बन्धित छैनन्, अन्तरसम्बन्धित छन् । कांग्रेससँग पनि हाम्रो छलफल चलिरहन्छ ।

तपाईंको केपी शर्मा ओलीसँग राम्रै सम्बन्ध देखिन्छ । यो मोर्चामा एमालेलाई ल्याउने कुरा छैन ?

हाम्रो कुरा भइरहेको छ । आ–आफ्नो पार्टीको स्वार्थबाट बहस गर्ने होइन कि सिंगै नेपालको अर्थ–राजनीतिक सम्बन्धका आधारमा दृष्टिकोण र संगठनात्मक आधारलाई अगाडि बढाउनु पर्छ भन्ने हाम्रो प्रस्ताव छ ।

हाम्रो पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पनि छ, कम्युनिस्टहरूको साझा राष्ट्रिय बहस जरुरी देखिएको छ । एक वर्ष अगाडिका सांगठनिक घेराभित्र कैद भएर होइन, त्यसभन्दा बाहिर निस्केर अघि बढ्नु पर्छ भन्ने हाम्रो प्रस्ताव हो । यसमा एमालेसँग पनि छलफल चलिरहेको छ ।

तपाईंको प्रस्तावमा प्रचण्ड र ओलीमध्ये कसलाई बढी खुलस्त पाउनु हुन्छ ?

मलाई त दुवै नेता सजिलो लाग्नुहुन्छ । हाम्रो खुलेरै कुराकानी भयो । प्रचण्डसँग झन् सजिलो हुने नै भइहाल्यो । ओलीजीसँग त हाम्रो पुस्ताले अन्तरक्रिया नै गर्न पाएको थिएन । त्यस हिसाबले बालुवाटारमा हाम्रो तीन बुँदे सहमति हुँदा भएको भेटमा निकै सहज महसुस् भएको थियो । जनयुद्धकालमा एकपटक भेट भएको थियो, त्यसपछि नेतृत्व तहमा छलफल भएको तीन बुँदे वरिपरि नै हो । सजिलो हुनुहुन्छ ।

तपाईं एकीकृत जनक्रान्ति गर्ने भनेर हिँडिराख्नु भएको थियो । अहिले समाजवादी मोर्चासमेत बनेको परिस्थितिमा त्यो एकीकृत जनक्रान्ति कहाँ पुग्यो ?

पुँजीवाद रहेसम्म क्रान्ति अनिवार्य सर्त हो । यो कसैले रोक्छु भनेर रोकिँदैन । पुँजीवाद भनेको आफैँमा अन्तरविरोधबाट गाँजिएको व्यवस्था हो । त्यसले आफैँले आफैँलाई खाने खालका अन्तरविरोध र वर्गहरू पैदा गर्छ । त्यसैले त्यहाँभित्र क्रान्ति अनिवार्य सर्त हो । अहिले नेपालमा क्रान्ति जरुरी छ । नेपालमा समाजवाद हुँदै अगाडि नबढेसम्म क्रान्तिलाई कसैले रोक्न सक्दैन ।

हुन्छ र हुन्न भन्ने तर्क गर्नु भनेको मान्छेले आफ्नो चाहना लाद्ने कुरा मात्रै हो । त्यो सत्य होइन । पुँजीवाद रहेसम्म क्रान्ति हुन्छ । एकीकृत जनक्रान्ति हुन्छ ।

अहिलेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग तपाईंहरू अघि बढिसकेपछि यसमा बाबुराम र ओली आउने सम्भावना व्यवहारिक हिसाबले त कम देखियो, होइन ?

हिजोको आँखाबाट हेर्दा त्यस्तो हो । तर हामीले साथीहरूलाई परिस्थितिलाई बुझ्नु पर्यो भन्न खोजेको हो । एउटै स्वरमा सारंगी रेटेको जस्तो गर्नु हुँदैन । मार्क्सवाद भनेको एकदमै गतिशील छ । परिस्थिति कहाँ पुगिसक्यो, हामी बिसौँ र उन्नाइसौँ शताब्दीको कुरा गरेर बसिरहेका छौँ । त्यो सम्भव नै छैन ।

कम्युनिस्टहरूमा समस्या विश्वभर नै देखिएको छ । त्यसैले कम्युनिस्ट आन्दोलनलाई पहिला एक्काइसौँ शताब्दीमा उकाल्नु पर्छ । त्यसका लागि मनोबल भएका नेताहरू चाहिन्छ । रक्षात्मक तवरले आफूलाई सुरक्षित गर्ने कोणबाट मात्रै कम्युनिस्ट आन्दोलनलाई हेरेर वा समातेर पुग्दैन । यसलाई आक्रामक बनाउनु पर्यो । केपीजी र बाबुरामजी सबैसँग यस विषयमा छलफल भइरहेको छ ।

माओवादीमा हुँदा तपाईं युवा पुस्तासँग असाध्यै अन्तरक्रिया गर्ने नेताका रूपमा चिनिनुहुन्थ्यो । पछिल्लो समय तपाईंको ध्यान अलिकति बढी पुराना पुस्तालाई फकाउनेमा रहेछ है ?

हामीले दुवै गर्नुपर्छ । नयाँ पुस्तासँग त मेरो जीवन नै छ । दुई वर्षसम्म प्रतिबन्धको समयमा म युवाहरूसँगै थिएँ, अहिले पनि युवाहरूसँग नै छु । हाम्रो जीवनलाई नै नयाँ ढंगले अगाडि बढाउन खोजेका छौँ ।

पुराना पुस्ताका नेतासँग काफि अन्तरक्रिया गर्नुपर्छ । किनकी, उहाँहरू हिँजोको बन्धनबाट मुक्त नभएसम्म नयाँ पुस्तालाई मुक्त हुन दिनुहुन्न । त्यसैले लामो छलफल जरुरी छ ।

नेपालमा ल्याइएको जुन दलाल पुँजीवादी संघीयता, यसभित्र संघीयताको सारतत्व नै भेटिदैन । यसले केलाई पकड्न खोजेको हो भन्ने कुरा नै छैन । केलाई आधार बनाएर यो संघीयता ल्याइएको भन्ने नै स्पष्ट छैन ।

यो मोर्चामा मोहन वैद्य आउन जरुरी छ कि छैन ?

जरुरी छ । मैले त उहाँसँगै मोहनविक्रम सिंह पनि आउनुपर्छ भनेको हो । नेपालमा एक्काइसौँ शताब्दीको कम्युनिस्ट बहस, मार्क्सवादले कसरी काम गर्छ, पुँजीवादको समाधान कसरी हुन्छ यस्ता विषयमा सबैले भाग लिन जरुरी छ । तयार हुनुपर्छ । यो हाम्रो प्रस्ताव हो ।

तपाईंको प्रस्ताव कति अप्ठेरो छ भने, विगतमा कम्युनिस्ट आन्दोलन कयौँपटक विभाजन भएको छ । एकले अर्कालाई कुनै शब्द बाँकी नराखेर गाली गरेका छन् । ती सबैलाई कसरी मिलाएर लिनुहुन्छ ?

मैले एकदमै सम्भव देखेको छु । किनकी, परिस्थिति बदलिएको छ । नयाँ पुस्ता पुरानो घेराबाट बाहिर आउन तयार देखेको छु । एमालेका युवा साथीसँग भेटेको छु । माओवादीका युवा साथीसँग भेटेको छु । अरू थुप्रै साथीसँग छलफल गर्दा परिस्थिति एकदमै नयाँ बनेको छ । म एकदमै आशावादी छु ।

समाजवादी मोर्चाको १५ बुँदे डकुमेन्टमा अन्य सबै प्रदेशको नाम राखे पनि सुदूरपश्चिमको सट्टा ‘सेती महाकाली’ लेखिनु चाहिँ तपाईंको भूमिका हो ?

होइन । धेरै कुरामा हामीले छलफल गरेर मिलाएर राखेका छौँ ।

त्यो भनेको तपाईंले संघीयतालाई कताकता नस्वीकारेको भन्ने हो ?

नेपालमा ल्याइएको जुन दलाल पुँजीवादी संघीयता, यसभित्र संघीयताको सारतत्व नै भेटिदैन । यसले केलाई पकड्न खोजेको हो भन्ने कुरा नै छैन । केलाई आधार बनाएर यो संघीयता ल्याइएको भन्ने नै स्पष्ट छैन ।

हामी माओवादीले जनयुद्धमा नै स्वायत्त प्रदेशको अवधारणा लागू र प्रयोग गरेर आएका हौँ । त्यो प्रयोग गर्दा विखण्डीत हुन्छ, देश टुक्रिन्छ भन्ने व्याख्या गरियो । त्यसो होइन । त्यहाँ समाजवादी केन्द्रिकृत पनि हुनुपर्छ ।

साथै, नेपाललाई बलियो र केन्द्रिकृत सत्ता पनि चाहिन्छ । तर त्यसमा सम्पूर्ण जाति र वर्गले अभ्यास गर्ने लचकदार संरचना चाहिन्छ । त्यसलाई हामीले समाजवादी संघीयता भनेका छौँ । स्वायत्तता सहितको संघीयता नै आजको आवश्यक्ता हो ।

संघीयताका लागि लडेको जसपा फर्किने देखिन्न । प्रचण्ड र एकीकृत समाजवादी पनि यसबाट दायाँबायाँ हुने देखिन्न । त्यसमा अहिले को फर्किन तयार हुन्छ ?

मिल्छ । हामीले सार र रूप दुवैमा मिलाउनु पर्यो भनेका हौँ । त्यसको गुण र मात्रा दुवै मिलाउनु पर्छ । त्यो जातिवाद र क्षेत्रियतावादतर्फ जानु हुँदैन । सामन्तवाद र पुँजीवाद तर्फ पनि जानु हुँदैन । त्यो समाजवादतर्फ जानुपर्छ ।

सरकारका काम कारवाहीलाई कसरी मूल्यांकन गर्नु भएको छ ?

राम्रो काममा समर्थन, कमजोरी गरे संघर्ष ।

त्यो त जहिले पनि हो नि !

होइन, अहिले अलिकति फरक छ । प्रचण्डले अहिले सरकारको नेतृत्व गरेर केही सकारात्मक काम गर्नु भएको छ । राम्रो गरेको कुरामा हामीले साथ दिन्छौँ भनेका छौँ । गणतन्त्र दिवस, शहीद दिवस, बहिर्गमित भनिएका जनमुक्ति सेनाका योद्धा र किसानको हकमा गर्न खोजेका काम राम्रा छन् ।

माओवादीका मुद्दा भन्दा पनि युद्धकालका भावनात्मक कुराले तपाईंलाई छोएछ है ?

भावनात्मक कुरा मात्रै हौइन । त्यो दृष्टिकोणको कुरा हो । धेरै ठूलो क्रान्तिसँग जोडिएको कुरा हो । त्यसलाई सबैले बुझुन् भन्ने लाग्छ ।

मुद्दागत रूपमा प्रधानमन्त्रीको भारत भ्रमणमा जमिन साट्ने भनेको कुरा, ऊर्जाको कुरामा तपाईं कलिकति सुधारमुखी ठाउँमा आइपुग्नु भएको हो ?

होइन । यसपटक प्रचण्ड कमरेडले गेरु बस्त्र लगाएका कुरा त आफ्नो ठाउँमा छन् । बाँकी जो सहमति भएका छन् तिनमा अपर कर्णाली, महाकालीमा जस्तो राष्ट्रघात भएको छैन ।

गेरु बस्त्र लगाउने कुरामा चाहिँ के समस्या भयो त ?

त्यसमा धेरै नजाउँ । मैले धेरै अघि लेखिसकेका विषय हुन् ।

मेरो दृष्टिकोणमा धर्मनिरपेक्ष पनि एकदमै सन्तुलनकारी मान्छेलाई चित्त बुझाउने कुरा हो । नेपालमा विज्ञानमा विश्वास गर्ने र अध्यात्ममा कुरा गर्ने दुवै थरी नागरिक छन् भनेर संविधानमा उल्लेख गर्नुपर्छ । किनभने, सबै मान्छे धर्म निरपेक्ष छैनन् । त्यसैले दुवैको सम्मान गर्नुपर्छ ।

अहिले नयाँ नयाँ शक्तिहरू जसरी उदाइरहेका छन्, यसले नेपालमा के फेरि वाम आन्दोलन उठ्छ भन्ने लाग्छ ?

यो परिस्थितिलाई सबै कम्युनिस्टले बुझ्न जरुरी छ । अहिलेसम्म हामी आत्तिनुपर्ने केही छैन । नेपालको ६५ प्रतिशत जनसंख्या कम्युनिस्ट छ । त्यो पुँजीवादलाई फेरेर कम्युनिस्ट व्यवस्था हेर्न चाहने जनमत हो । त्यसको रक्षा गर्नुपर्छ । त्यो सम्भव छ ।

हामीले मात्रै त अहिलेको समाजवादी मोर्चालाई पनि एकीकृत जनक्रान्तिकै एउटा अंगका रूपमा हेरेका छौँ । यसो नहुँदा क्रान्ति नै हुँदैन भनेर हामीले सोच्ने भयौँ । गणतन्त्रलाई बचाउने हो भने पनि हामीसँग सहकार्य गर्नुपर्ने देखिन्छ ।

अहिले साथीहरू कोसिस गरिरहनु भएको कुरा ठीक छ । त्यो त पाइन्छ नि ! अधिकार छ, प्रतिस्पर्धा गर्न पाइन्छ । तर उहाँहरूसँग कुनै दृष्टिकोण छैन । विचार छैन ।

पन्ध्र वर्षसम्म संसदीय व्यवस्थामा देखिएको संकटको प्रतिक्रिया हो । तर कम्युनिस्ट समर्थक जनमत तितरबितर भइसकेको छैन । त्यसलाई हामीले ठीक ढंगले निकास दिन खोज्दा अग्रगमनतिर जान खोजेको हो । विकल्प बाँकी नै छ ।

संविधान र शान्ति प्रक्रियासँग तपाईंको सुरुदेखि नै असहमति रहँदै आएको देखिन्छ । तर, अहिले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरूसँग एकै ठाउँमा उभिनु भएको छ । अहिले तपाईंले यो संविधान मानेको हो कि उहाँहरूले संविधान फेर्ने गरी तयार हुनु भएको हो ?

त्यो हामीले प्रस्तावमा स्पष्ट लेखेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै, पुनर्लेखन, विकास गर्ने भन्ने छ । हाम्रो जोड त परिवर्तन गर्ने भन्नेसम्म छ ।

त्यससँगै मोर्चाको मुख्य लक्ष्य समाजवाद भनेपछि त्यो च्याप्टर पूरा भएको मान्नुपर्छ ।

मोर्चामा रहेका अन्य दलका नेताहरू सहर केन्द्रित र तपाईं गाउँ केन्द्रित जस्तो देखिनुहुन्छ । समाजवादी मोर्चामा जिम्मेवारी पनि त्यसै गरी तोक्ने हो ?

अब समाज यसरी अन्तरघुलित भएको छ त्यसलाई गाउँ र सहर भनेर त्यसलाई जटिल ढंगले व्याख्या गरिरहनु पर्दैन । समाजका कैयौँ विशेषता चरित्र एकीकृत ढंगले आएका छन् । हामीले समाधान पनि त्यही ढंगले खोज्नु पर्छ ।

सूचना प्रविधि, शिक्षा, आर्थिक सम्बन्ध आदि कुराले गाउँ र सहरलाई सँगै गाँजीसकेको छ । गाउँको मान्छे सहरको मान्छेभन्दा फरक छैन । कोही पनि अलग ढंगले बस्न सक्दैन । अबको परिवर्तनलाई त्यसरी नै सोच्नुपर्छ र हाम्रो सहकार्यलाई पनि त्यसरी नै सोच्नुपर्छ ।

पार्टी गठनको सुरुवाती समयमा तपाईंहरू एकीकृत जनक्रान्ति नबुझेको भए पढेर आउनू तर प्रश्न नगर्नू भन्नुहुन्थ्यो । तर तपाईंले विश्वास गरेकै नेताहरू तपाईंसँग रहनु भएन । त्यसमा कहाँ समस्या भयो ? कि एकीकृत जनक्रान्ति भन्ने चिजमै समस्या थियो ?

हामीसँग छुटेका साथीहरूका विषयमा धेरै जान चाहन्न । उहाँहरू फर्किनुपर्छ, फर्काउनु पर्छ । बहानामा गर्ने त्रुटीलाई सच्याउनु पर्छ, यथार्थमा आउनु पर्छ ।

बाँकी हामीले समाजवाद र क्रान्तिको विषयमा एकदमै नयाँ तरिकाले सोच्नुपर्छ भन्ने हो । अहिले आएका नयाँ विशेषताहरू सामाजिक, राजनीतिक, सूचना प्रविधि यस्तो ठाउँमा आइपुगेको छ कि जसले उन्नाइसौँ र बिसौँ शताब्दीले समात्न सक्दैन । त्यसैले समात्ने खालको दृष्टिकोण, कार्यक्रम, रणनीति, कार्यनीति तयार गर्नुपर्छ भन्ने थियो । त्यो एकदमै सही छ । त्यो हामीले बुझाउँदै गएका छौँ । छलफल भएको तहमा कसैले पनि यसलाई गलत भन्ने स्थिति छैन ।

हामीले मात्रै त अहिलेको समाजवादी मोर्चालाई पनि एकीकृत जनक्रान्तिकै एउटा अंगका रूपमा हेरेका छौँ । यसो नहुँदा क्रान्ति नै हुँदैन भनेर हामीले सोच्ने भयौँ । गणतन्त्रलाई बचाउने हो भने पनि हामीसँग सहकार्य गर्नुपर्ने देखिन्छ । यही व्यवस्थालाई रुपान्तरण गर्ने भने पनि हामीसँग सहकार्य गर्नुपर्छ भनेर आवश्यक ठान्नुभयो । हामीले पनि उहाँहरूसँग यो तरिकाले सहकार्य नगरेर क्रान्ति सम्पन्न हुँदैन भन्ने हामीलाई पनि छ । यही संश्लेषणभित्र यो सबै भइरहेको हो ।

तपाईंहरू जनतासँग जोडिने भनेर तपाईंहरू हिँड्नु भयो । तर समाजमा अनेकौँ संकटहरू देखा परे । तपाईंहरूको पार्टीले निर्णायक ढंगले केही गर्न सकेको देखिएन । कहीँ चुकियो भन्ने लाग्दैन ?

हाम्रो पार्टीका कारण हजारौँ नागरिकको जीवन सुरक्षित भएको छ । बाहिर सडकमा आएर नाराबाजी गर्ने कुरा र जनताको रक्षा गर्ने कुरा फरक छ । जस्तो कि अहिले मिटरब्याज र लघुवित्तले आत्महत्या गर्ने ठाउँमा नागरिकलाई पुर्यायो । त्यसलाई यथार्थमा हाम्रै पार्टीले रक्षा गरिरहेको छ । त्यो जनतालाई गएर सोध्दा थाहा हुन्छ ।

बाहिर सार्वजनिक हुने कुरामा केही अपुग भएको छ । जस्तो कि मिडियासँग सहकार्य गर्ने विषयमा कतै कमी भएको छ ।

देशका विभिन्न स्थानमा अस्पताल बनाउने, विद्यालय बनाउने, सार्वजनिक भवन बनाउने काममा हाम्रो पार्टीले काम गरेको छ । धरानमा हर्क साम्पाङजीले पानी ल्याउने कुरा राम्रो गर्नु भएको छ । तर त्यस्तो पानी ल्याउने काम हामीले देशभर कयौँ ठाउँमा गरेका छौँ ।

हाम्रो सूचना र सञ्चार क्षेत्रसँग घनिष्ठ हुनुपर्ने पाटोमा कही चुकेको हो । आधुनिक सूचना प्रविधिमा हाम्रो तालमेलको अभाव भएको हो कि भन्ने पनि महसुस् भएको छ । तर आन्दोलन वा जनतासँग कम जोडिएको होइन ।

तपाईंले भनेको एकीकृत जनक्रान्तिको समयमा भएका दुर्घटनाका मृतक र घाइतेका परिवार पनि असन्तुष्ट देखिन्छन् । जेलमा रहेका केही नेता कार्यकर्ता पनि अझै छुटेका छैनन् । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

पहिलो कुरा, राजनीतिक आन्दोलनमा द्वन्द्वात्मक भौतिकवाद पनि पछि परिसकेको छ । यही नियमले मात्रै चल्ने देखिँदैन । अब अनिश्चय र सम्भावनालाई पनि समाज विज्ञानमा जोड्न जरुरी छ । कुनै पनि मान्छे सबै ठीक र सबै गलत कोही पनि हुँदैन । चाहे नेता होस् चाहे कार्यकर्ता । सबैको रुपान्तरणको सम्भावना पनि हुन्छ, विघटनको सम्भावना पनि हुन्छ । त्यसरी हेर्दा यो स्वेच्छिक आन्दोलन हो ।

दोस्रो, हामी सबै घेराबन्दीका बीचमा लडेर आएका हौँ । कोही मान्छेले भन्ने बित्तिकै सबै ठीक भन्ने हुँदैन । राम्रो कुरा भनेपछि सबैको मान्ने । अरूले उचालेको भरमा भनेपछि मानिँदैन । हामी आफैं क्रान्तिमा होमिएका हौं । के मलाई कसैले घिच्याएर ल्याएको हो ? मैले बलिदान दिएँ भने आफ्नो इच्छाले हुने हो । त्यसको अपव्याख्या गर्दैमा ठूलो मान्ने हुँदैन ।

हाम्रो पार्टी नै हो, प्रतिबन्धकै बेलामा पनि शहीद र घाइतेका परिवारलाई भेट्न घरमा जाने । सक्दो आर्थिक सहयोग गर्ने पनि हामी हौँ । बच्चाबच्चीको रेखदेख गर्ने पनि हामी हौँ । त्यसैले कसैले बुझेन भने बुझाउनु पर्छ ।

तपाईं मुलुकमा अन्तर्राष्ट्रिय चुनौती थपिएको कुरा गरिरहनु हुन्छ । कोबाट कस्ता चुनौती देख्नु भएको छ ?

आजको विश्व तीव्र रूपमा ध्रुवीकृत भइरहेको छ । नेपालले सबै कुरामा हेक्का राख्नुपर्छ । हाम्रो जस्तो देशले सजिलै प्रतिक्रिया जनाउने वा मिसिने गरी सोच्नु हुन्न । युक्रेन युद्धमा नेपालले बोल्न जरुरी थिएन । भारत र चीन तटस्थ बसेका बेला आफूलाई खानै नपुगेर बस्नु परेको देशले हतारमा रसियाको विपक्षमा भोट हाल्न जरुरी थिएन ।

यत्रो भूमण्डलीकृत विश्वमा हामी आफू स्वाधिन हुने र पञ्चशिलको सिद्धान्तमा अडिग हुनुपर्छ । एकदमै गम्भीर परिस्थिति के छ भने नचाहेर पनि नेपालमा युक्रेनको जस्तै परिस्थिति सिर्जना हुनसक्छ ।

अहिले जुन चीनले बीआरआईका विषयमा बोल्यो भनेर आइरहेको छ, त्यसलाई पनि सही दृष्टिकोणले बुझ्नुपर्छ । अरू मुलुकले पहिले बोलेपछि ऊ पनि बोल्न बाध्य भएको हो । त्यो नेपालको कुरा होइन, उसले आफ्नो कुरा गरिरहेको छ । यो कुरालाई नेपालले बुझ्नुपर्छ ।

यसको समाधान भनेको हामीले राजनीतिलाई छिटो भन्दा छिटो स्थिरता हुँदै समाजवादतर्फ लैजानुपर्छ ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?