+
+

टाइटानिक हेर्न गएको टाइटन पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १०:३५
विस्फोट भएको पनडुब्बीको फाइल तस्वीर

७ असार, काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाहरु सवार पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु भएको छ ।

उनीहरु सवार टाइटन पनडुब्बी विस्फोट भएको र सबै ५ जनाको समुन्द्र भित्रै मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । जबकी पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो ।

टाइटन बेपत्ता भएपछि खोजी तिब्र पारिएको थियो । त्यसैक्रममा खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए ।

त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।अमेरिकी जल सेनाले विस्फोटको आवाज सुनिएको बताएका बीबीसीले दाबी गरेको छ ।

टुर कम्पनी ओसियनगेटको त्यो पनडुब्बीमा पाकिस्तानी अरबपति ४८ वर्षका शहजादा दाउद र उनका छोरा १९ वर्षका सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्ग, फ्रेञ्च अन्वेशक पल अनर नार्जेलेट र ओसियनगेटका प्रमुख कार्यकारी स्टाकटन रस सवार थिए ।

टाइटानिकको भग्नावशेष समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा  छ । त्यसकै १६०० फिट मुनि पनडुब्बी टाइटनका ५ वटा टुक्राहरु भेटिएको हो ।

सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो ।

२ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो ।

टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ ।

टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन क्यानडाको न्यूफाउन्डल्याण्ड ७०० किलोमिटर टाढा छ ।

– एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?