+

दोस्रो जितपछि कुवेत साफ च्याम्पियनसिपको सेमिफाइनल नजिक

२०८० असार  ९ गते १८:०५ २०८० असार ९ गते १८:०५
दोस्रो जितपछि कुवेत साफ च्याम्पियनसिपको सेमिफाइनल नजिक

९ असार, बेंगलुरु । आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ च्याम्पियनसिप खेलिरहेको कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले पराजित गरेको छ ।

भारतको बेंगलुरुस्थित कन्टिरवा स्टेडियममा भइरहेको १४ औं संस्करणको साफ च्याम्पियनसिपमा कुवेतको यो लगातार दोस्रो जित हो र यस जितले कुवेत सेमिफाइनल नजिक पुगेको छ ।

शनिबारको खेलमा पहिलो हाफमै तीन गोल गरेको कुवेतले दोस्रो हाफमा एक गोल थप्यो ।

कुवेतका लागि मोबारक अल फानेनीले दुई तथा हसन अलानेजी र इद अलराशिदीले एक-एक गोल गरे । सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको कुवेतका लागि हसन अलानेजीले दशौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

मोबारक अल फानेनीले १७औं मिनेटमा गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । फानेनीले नै पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि कुवेतले ३-० को अग्रता बनायो ।

कुवेतका लागि चौथो गोल ६९औं मिनेटमा अलराशिदीले गरे ।

लगातार दोस्रो हार बेहोरेको पाकिस्तान समूह चरणबाटै बाहिरिने संघारमा छ ।

पाकिस्तानले २४ वर्षपछि साफ च्याम्पियनसिपमा सुरुवाती दुवै खेल गुमाएको हो । १९९९ मा भारतमा भएको साफ च्याम्पियनसिपमा तीन टिममात्र रहेको समूहमा पाकिस्तान बंगलादेश र भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो ।

लगातार सात हार

२९ जुन २०२२ मा फिफा निलम्बन फुकुवा भएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा लगातार सात खेलमा हार बेहोरेको हो ।

यस बीचमा भएको खेलमा पकिस्तानले एक खेल पनि जित्न सकेको छैन भने जम्मा एक गोल मात्र गरेको छ ।

निलम्बन फुकुवापछि पाकिस्तानले २०२२ नोभेम्बरमा काठमाडौंमा नेपालसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा १-० ले पराजित भएको थियो भने २०२३ मार्चमा माल्दिभ्सँग खेलेको मैत्रीपूर्ण खेलमा पनि उही नतिजामा हार बेहोरेको थियो ।

बेंगलुरुमा साफ च्याम्पियनसिप खेल्न आउनुअघि पाकिस्तानले अफ्रिकन राष्ट्र मरिसमा फोर नेसन्स कप खेलेको थियो । जहाँ पाकिस्तान मरिससँग ३-० ले केन्यासँग १-० ले र जिबाउटीसँग ३-१ ले पराजित भएको थियो ।

पाकिस्तान जारी साफ च्याम्पियनसिपमा भने भारत र कुवेतसँग समान ४-० ले पराजित भएको हो ।

कुवेतले प्रतियोगिताको पहिलो खेलमै नेपाललाई ३-१ ले हराएर विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा पनि सोही लय कायम राख्दै कुवेतले पाकिस्तानविरुद्ध सहज जित निकाल्यो । लगातार दोस्रो जितपछि कुवेत दुई खेलमा ६ अंक जोडेर समूह ए को शीर्ष स्थानमा छ । घरेलु टोली भारतको एक खेलबाट ३ अंक छ । शनिबारै राति भारत र नेपालबीच खेल हुनेछ । उक्त खेलमा भारत विजयी भएमा भने कुवेत र भारत अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले भारतलाई पराजित गरेमा वा यो खेल बराबरी भएमा भने सेमिफाइनल पुग्ने टोलीको टुङ्गो अन्तिम खेलपछि नै हुनेछ ।

कुवेत साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय