+
+

पुन समुदायले भने : गुमेको पहिचान फिर्ता पायौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १९:२३

९ असार, पोखरा । राष्ट्रिय जनगणनाको तथ्यांकमा पुन समुदायलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेकामा पुन समाज नेपालले खुशी व्यक्त गरेको छ ।

शनिबार पोखरामा भएको १७ औं राष्ट्रिय सम्मेलनमा पुन समाजका पदाधिकारीले लामो संघर्षपछि आफ्नो पहिचान फिर्ता पाउन सफल भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले ०७८ को जनगणनामा पुन समुदायलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेको छ । यसअघिका जनगणनामा मगर जातिकै एक थरका रुपमा पुन समुदायलाई गणना गरिएको थियो । कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पुन जातिको संख्या ९ हजार ८२७ जना छ ।

यद्यपि पुनलाई छुट्टै जातिको मान्यता दिएकामा मगर संघले विरोध गर्दै मगरभित्र फुट ल्याउन खोजेको आरोप लगाएको छ ।

नेपाल पुन समाजका अध्यक्ष भीमबहादुर फगामीले राष्ट्रिय तथ्यांक कार्यालयको निर्णयबाट आफूहरु पहिचानको एक खुड्किलो चढेको बताए । ‘हामी पुन छुट्टै जाति हो भनेर प्रमाणित गर्न लामो संघर्ष गर्नुपर्‍यो । यसलाई पुष्टि गर्न हाम्रा ऐतिहासिक तथ्य, वर्तमान अवस्था र भावी योजनाका बलिया प्रमाण पेश गर्नुपर्‍यो’, उनले भने, ‘तथ्यांकमा समेटिएसँगै एक खुड्किलो अगाडि बढ्न सफल भयौं ।’

पुन जातिलाई फेरि पनि खारेज गर्ने खेल भए प्रतिकार गर्ने अध्यक्ष फगामीले बताए । ‘पुन समाजको खारेज गर्ने अरे ! हामीले पनि देशको संविधान, राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन पढेका छौं, बुझेका छौं’ उनले भने, ‘अरुले खोसेर लगिदिएको हाम्रो अधिकार पाएका छौं, अब अरुले खोस्न सक्दैनन् । यसको प्रतिकार गर्छौं ।’

समाजका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुनले मल्लकालीन आफ्नो इतिहासलाई मेटेर मगर जातिभित्र मिसाइएको दाबी गरे । ‘मल्लकालदेखिकै पालादेखि पाखापानी (म्याग्दी)का राजालाई मारेर हाम्रा ज्ञान, इतिहास, हाम्रा अभिलेख, शिलालेख, वंशावली सबै गुमेको थियो’, उनले भने, ‘हाम्रो इतिहास मेटेर हामीलाई जहिल्यै हेलाहोंचो गरियो । दुख दिइयो । अब बल्ल गुमेको हाम्रो पहिचान पायौं ।’

निवर्तमान अध्यक्ष प्रताप पूर्जा पुनले लामो संघर्षपछि राष्ट्रिय तथ्यांक कार्यालयले छुट्टै जातिको रुपमा सूचीकृत गरेको बताए । ‘हिजो हामी जातिको खोजीमा भन्दा पनि जनणनामा सूचीकृत हुन खोजिरहेका थियौं । अहिले छुट्टै जाति हो भनेर विभागले भनिसकेको छ’ उनले भने, ‘यसमा सफल हुन सफल भयौं ।’

पुन थरलाई छुट्टै जातिभित्र समेटेपछि नेपाल मगर संघले विरोध प्रदर्शन गर्दै आइरहेको छ । असार १ गते काठमाडौं टुँडिखेलमा आयोजित भूमेपर्वको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्यांक सच्चिने आश्वासन मगर समुदायलाई दिएका थिए ।

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकप्रति प्रधानमन्त्रीको अभिव्यक्तिले आफूहरुको संविधानप्रद्धत्त हक हनन भएको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा पुनले बताए । उनले प्रधानमन्त्री प्रचण्डले जातजातिबीचनै विभेद गरेको समेत आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?