
काठमाडौं । ओस्कार अवार्डले सर्वश्रेष्ठ फिल्म विधाका लागि प्रतिस्पर्धाको मापदण्डलाई थप कसिलो बनाएको छ । सन् २०२५ देखि लागू गरिने जनाइएको नयाँ नियमअनुसार उक्त विधामा प्रतिस्पर्धा गर्न चाहने फिल्म दुई साता हलमा प्रदर्शन भएको हुनुपर्छ । अहिलेको नियमानुसार हलमा एक साता चलेको भए हुनुपर्नेछ ।
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड्स साइन्सेजले महामारीका कारण समायोजन गरिएको रिलिज मापदण्डमा केही हेरफेर गर्दै गत साता यस्तो नियम ल्याएको हो । यसबाहेक अमेरिकी सहरहरु न्युयोर्क, लस एन्जलस, शिकागो, एटलान्टा, सान फ्रान्सिस्को वा मियामीसहित अमेरिकाका ठूला ५० बजारमा उत्कृष्ट फिल्मका दाबेदार थप एक साता प्रदर्शन भएको हुनुपर्नेछ ।
यसबाहेक फिल्म हलमा चल्नुपर्छ भन्ने नियममा थप केही नयाँ नियम पनि ल्याइएका छन् । ‘हल प्रदर्शनको यो विस्तारित समयले विश्वभर फिल्मको दृश्यतालाई मात्र बढाउने छैन, साथै दर्शकलाई नाटकीय परिवेशमा हाम्रो कलाको अनुभव गर्न प्रोत्साहित गर्नेछ भन्ने हाम्रो आशा छ,’ एकेडेमीका सीईओ बिल क्रेमर र एकेडेमी अध्यक्ष जेनेट याङले एक विज्ञप्तिमा भने ।
ओस्कारको यो नियमले महामारीको असरबाट अझै मुक्त हुन संघर्ष गरिरहेका हललाई फाइदा हुने विश्वास गरिएको छ । हलमा रिलिज नभईकन ओटीटी प्लेटफर्ममा स्ट्रिमिङ भएर अवार्डमा प्रतिस्पर्धा गर्ने फिल्मले हलको पहुँच पाउने आशा पनि ओस्कारले राखेको छ ।
फिल्म एकेडेमीका अगुवाले पनि यो निर्णय फिल्म उद्योगका साझेदारसँग छलफलपछि मात्र ल्याइएको छ । यो निर्णयले फिल्मका कलाकार र फिल्मप्रेमीलाई समान रुपमा फाइदा पुग्ने आशा ओस्कारले लिएको छ । तर यो निर्णयले कसलाई फाइदा पुग्छ भनेर अन्य कोणबाट आलोचना भने भइरहेको छ ।
ओस्कार अवार्डको यो निर्णयलाई अमेरिकी हलहरुको छाता संस्थाका अध्यक्ष तथा सीईओ माइकल ओलेरीले ‘महत्वपूर्ण पहल’ भन्दै प्रशंसा गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले यो पहलले प्रदर्शन पक्ष फिल्मको महत्वपूर्ण कोसेढुंगा हो भन्ने पुष्टि गर्छ भनेर उल्लेख गरेका छन् । यो निर्णयले हलिउडका ठूला स्टुडियोहरु वार्नर ब्रदर्स, युनिभर्सल र डिज्नीजस्ता ठूला स्टुडियोलाई कम असर गर्न सक्ने जनाइएको छ ।
नेपालबाट समेत ओस्कारमा सिफारिस हुने फिल्मले अब एक साताभन्दा बढी समय हलमा चलेको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया 4