१० असार, काठमाडौं । असोजमा चीनको होङझोउमा हुने एसियाली खेलकुदको तयारी बजेट नभएका कारण लामो समय सञ्चालन गर्न नसकेको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन् ।
आउने आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत बजेटमाथि प्रतिनिधिसभा संसदमा चलिरहेको दफावार छलफलमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा मन्त्री लिम्बुले बजेट नपाएका कारण असारदेखि तीन महिनामात्र राष्ट्रिय टिमको विशेष तयारी गर्नुपरेको जानकारी दिए ।
प्रश्नोत्तर कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले एसियाली खेलकुद आउन तीन महिनामात्र बाँकी रहँदा बन्द प्रशिक्षणमा किन ढिलाइ गरेको भनेर प्रश्न राखेका थिए ।
‘लामो तयारी गर्दा खर्च धेरै लाग्ने भयो । बन्द प्रशिक्षणमा राखेपछि सबै सेवा र सुविधा दिनुपर्यो । खर्च बढ्ने भयो । धेरै रकम लाग्ने भएकाले तयारी छोटो गर्नुपरेको हो’, मन्त्री लिम्बुले जवाफ दिए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) र मन्त्रालयले एसियाली खेलकुदको तयारी र सहभागिताका लागि ३० करोड बजेट अनुमान गरी विनियोजनका लागि प्रस्ताव लगेका थिए ।
तर, बजेट वक्तव्यमा एसियाडका लागि ६ करोड ४० लाखमात्र छुट्याइएको छ ।
बजेट बढाउन माग गरी राखेप सदस्यसचिव र आफू केहि दिनअघि अर्थ मन्त्रीसँग भेटवार्ता पनि गरेको र मन्त्रालयका कर्मचारीबाट पैसा दिन सक्दैनौं बरु खेल र खेलाडीको संख्या कटौती गर भन्ने जवाफ पाएको मन्त्री लिम्बुले गुनासो गरे ।
‘कटौती गर्ने हो भने खेलाडीहरुलाई कहाँ खेलाउने त ?,’ मन्त्री लिम्बुले संसदबाटै प्रश्न गरे, ‘यहाँ खेलाडीहरु सरकारले उत्पादन गरेको त देख्दिनँ । सबै अभिभावकले कोहि लण्डनमा, कोही कतारमा, कोही दुवईमा त कोही भारतमा लगेर आफ्नै खर्चमा राष्ट्रका लागि खेलाडी उत्पादन गरिदिएका छन् ।’
एसियाली खेलकुद आउने असोज ६ देखि २१ गतेसम्म आयोजना हुनेछ । नेपालले एसियाली खेलकुदमा २९ खेलका २३३ जना खेलाडी सहभागी गराउनेछ ।
असार १ गतेदेखि एसियाडलक्षित विशेष तयारी सुरु गरिएको छ । सबै खेलको बन्द प्रशिक्षण अझै सञ्चालन गरिएको छैन ।
१ असारदेखि काठमाडौं उपत्यकाका खेलाडीले दैनिक ९ सय र काठमाडौंबाहिरका खेलाडीले १६ सय भत्ता पाउनेछन् ।
प्रतिक्रिया 4