
काठमाडौं । हलिउडको सर्वकालीन चर्चित फिल्म ‘टाइटानिक’ जुलाई १ बाट नेटफ्लिक्समा स्ट्रिमिङ हुँदैछ । फिल्म स्ट्रिमिङ सामान्य नै भयो तर पुनः रिलिज गर्ने नेटफ्लिक्सको समयलाई लिएर यतिबेला विश्वव्यापी चासो छ । यो यस्तो समयमा स्ट्रिमिङ हुँदैछ जतिबेला डुबेको टाइटानिक जहाजलाई हेर्न पाँच धनाढ्य चढेको ओसनगेट कम्पनीको पनडुब्बी गत साता डुबेर बेपत्ता भयो ।
यो पनडुब्बी डुबेर त्यसमा सवार पाँचैजनाको मृत्यु भएपछि टाइटानिक प्रकरण पुनः एकपटक चर्चामा आएको छ । सातायता अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन पनि यही बनिरहेको छ । ठीक यही समयमा जेम्स क्यामरुन निर्देशित ‘टाइटानिक’ ओटीटी प्लेटफर्ममा आउन लागेको हो ।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले क्यामरुनको ‘टाइटानिक’लाई पनडुब्बी दुर्घटनापछि तुरुन्तै स्ट्रिमिङ प्लेटफर्ममा ल्याएकोमा नेटफ्लिक्सको आलोचना गरेका छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘नेटफ्लिक्सले यस समयमा शिष्टताको सीमा पार गर्दैछ ।’ धेरै मानिसले नेटफिल्क्सलाई यसको अभिलेखालयमा ‘टाइटानिक’ थपेर टाइटानको मृत्युलाई पुँजीकरण गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
‘टाइटानिक साइटमा भएको एक दु:खद दुर्घटनामा मानिसहरूको मृत्यु भयो । अब दर्शकलाई जुटाउन यो क्षणलाई प्रयोग गर्नु अपमानजनक छ,’ अर्का ट्वीटर प्रयोगकर्ताले लेखेका छन् । भेराइटी म्यागजिन लेख्छ, ‘जुलाई १ मा टाइटानिक स्ट्रिमिङको समय खराब विकल्प हुन सक्छ । नेटफ्लिक्सले त्रासदीलाई पुँजीकरण गर्ने प्रयास गरिरहेको छ । तर यसबारे जानकार स्रोतहरु भन्छन् कि नेटफ्लिक्समा टाइटानिकको आगमनको समय एक संयोग हो किनभने स्ट्रिमिङको इजाजतपत्र सम्झौता धेरै पहिले नै तयार गरिएको थियो ।
उक्त पनडुब्बीका सदस्यहरुको मृत्यु जून २२ मा भएको घोषणा गरिएको थियो । नेटफिल्क्सले केही महिना पहिले नै निर्मातासँग सम्झौता गरेको बताइएको छ ।
प्रतिक्रिया 4