+
+

६ स्रष्टालाई संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते ११:३६

काठमाडौं । नेपाली संगीत, नृत्य तथा नाट्य विधामा योगदान पुर्‍याउने ६ जना स्रष्टालाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ बाट पुरस्कृत गरिएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा कलाकारहरुलाई पुरस्कृत गरेका हुन् । उक्त पुरस्कार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औं वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरेको थियो ।

पुरस्कृत हुनेमा लोकगायक नवीनकिशोर राई, गायक तथा संगीतकार गणेश रसिक, संगीतज्ञ विजयकुमार श्रेष्ठ, रंगकर्मी भैरवबहादुर क्षेत्री, नृत्य निर्देशक कुलमान नेपाली र नाट्य अनुसन्धाता प्रा. डा. रामचन्द्र पोखरेल छन् । पुरस्कृत ६ जना कलाकारलाई जनही एक लाख रुपैयाँसहित ताम्रपत्रले सम्मान गरियो ।

उपराष्ट्रपति यादव र प्रतिष्ठानकी कुलपति निशा शर्माले पुरस्कार प्रदान गरे । समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले प्रतिष्ठानले विगतदेखि यो क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्थाअनुसार आफूलाई थप परिमार्जित, परिष्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नुपर्छ,’ उपराष्ट्रपति यादवले भने ।

प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवं लोक संगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टालाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण बनाइराख्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

उपकुलपति शर्माले कला स्थिर तत्व भएको बताउँदै त्यस्तो स्थिर तत्व स्रष्टा कलाकारको माध्यमबाट मात्रै चलायमान हुने बताइन् । संगीत विधाबाट सम्मानित गणेश रसिकले आफू विगतमा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गरे । स्रष्टा तथा कलाकारलाई आजीवन सदस्य बनाउन उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?