+
+

कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने

हरि अधिकारी हरि अधिकारी
२०८० असार १३ गते १९:३५

१३ असार, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।

१७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । उक्त बैठकमा विश्वासको मत माग्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘पास भएपनि फेल भएपनि विश्वासको मत माग्ने निर्णय भएको छ’, उनले भने, ‘प्रतिपक्षी दलहरुसँग विश्वासको मत माग्छौं ।’ प्रदेशको स्थिरता र विकासका लागि सहमतिको सरकार बनाउन नेपाली  कांग्रेस र माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुसँग विश्वासको मत माग्ने निर्णय भएको उनले बताए ।

विश्वासको मत पाउने वा नपाउने भन्ने प्रदेशसभाले निर्णय गर्ने बताउँदै उनले अगाडि नै मुख्यमन्त्रीले राजीनामा नदिने बताए । ‘विश्वासको मत माग्दा आफ्नो कुरा राख्न पाइन्छ, कन्भिन्स गर्ने अवसर हुन्छ’, उनले भने, ‘अगाडि राजीनामा आउदैन ।’

नेकपा एमाले संसदीय दलको बैठकले आफ्ना सांसदलाई बिहीबार दिउँसो १ बजे भन्दा अगाडि नै  प्रदेशसभा भवन अगाडि उपस्थित हुन निर्देशन पनि जारी गरेको उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा ४६ मत छ । बिहीबार उनलाई बहुमत जुटाउन सकस छ । प्रतिपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको छ ।

कोशी प्रदेशमा ४० सिट रहेको एमाले र ६ सिटको राप्रपा हाल सरकारमा छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?